१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अध्यक्षकै मिलेमतोमा वन फँडानी

अम्बिका वन समूहमा फँडानी भएका रुखका ठुटा। तस्बिरः नागरिक

उदयपुर – उदयपुरका २ सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा केहीदिनयता ब्यापक काँचो रुख काटिएको फेला परेको छ। स्थानीय उपभोक्ताले भने सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष स्वयंको मिलेमतोमा वन फँडानी र चोरी तस्करी भएको आरोप लगाएका छन्।

त्रियुगा नगरपालिका ५ दमौटीक्षेत्रमा पर्ने अम्विका सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रका दर्जनौं ठूलठूला हरिया सालका रुख ढालेर काठ बेपत्ता पारिएको स्थानीयले फेला पारेका छन्। लगभग दुई सातायता सो समूहको अम्बि खोला र झोक्राई खोलाआसपासको वनमा जताततै बग्रेल्ती रुख काटेको फेला परेपछि उपभोक्ताले इलाका वन कार्यालय र जिल्ला वन कार्यालयमा उजुरी दिएको बताएका छन्।

सो समूहका पूर्व अध्यक्ष देवकुमार राईले घाँसदाउरा गर्न जंगल पस्दा दर्जनौं ठूलठूला रुख ढालेर टुन बेपत्ता पारिएको, त्यही चिरान गरेर फाला लान ठिक्क पारिएको फेला परेको बताए। उनका अनुसार एकैठाउँमा आधादर्जन बढी रुख ढालेको ठुटा भेटिएको र बीचको टुन चिरेको प्रष्ट देखिएको छ भने टुप्पा र हाँगाबिगा मात्र राखेर बाँकी सबै लगिसकेको भेटिएको छ।

प्रत्यक्षदर्शी उपभोक्ताका अनुसार रुखका ठुटा हेर्दा १ हजार क्यूबिक फिटभन्दा माथि काठ चोरी निकासी भएको अनुमान छ। जताततै रुख ढालेको ठुटा हेर्दा हजार किविभन्दा बढी काठ तस्करी भएको अनुमान लगाउन गाह्रो नहुने राईले बताए। ठुटा देखिए पनि काठका टुन भने जंगलमा कतै नभेटिनुले चोरी तस्करी गरेर रातारात काठ बेचिसकेको हुनसक्ने अर्का उपभोक्ता कमल कार्कीले बताए। वन फँडानी भएको थाहा पारएर इलाका वन देउरीमा खबर गर्दा गस्ती नपठाएको गुनासो कार्कीले गरे। ‘हामीले ब्यापक रुख ढालेको देखेर इलाका वनलाई गस्ती पठाउन अनुरोध गर्याैं’ कार्कीले भने ‘तर, फुर्सद छैन के के बहाना बनाएर गस्ती पठाएन।’

समूहका अध्यक्षसँग सम्पर्क गर्दा पनि बेवास्ता गरेको तथा इवकाले पनि चासो नदिनुमा वन फँडानी हुनुमा मिलेमतो भएको अर्का उपभोक्ता दुर्गबहादुर राईले बताए। उनका अनुसार त्यत्तिका धेरै काँचा रुख ढालेको देखिए पनि हाँगाविगा र पातबाहेक एउटा टुन पनि नभेटिनु, समूह अध्यक्षको लापरबाही र वन कर्मचारीले बेवास्ता गर्नुमा मिलेमतो हुनसक्ने आशंका व्यक्त गरे।

घट्नास्थल पुगेर फर्केका अर्का उपभोक्ता विष्णुप्रसाद आचार्यले अम्बि खोला र झोक्राई खोला आसपासको रुख काटेको देख्दा उराठलाग्दो देखिएको बताए। वर्षौंदेखि स्याहार्दै राखेको जंगलका यतिधेरै रुख उपभोक्तालाई थाहै नदिइ यसरी काटिँदा जंगलै उराठलाग्दो भएको उनको भनाई छ। इवका र समूह अध्यक्षले चासो नदेखाएपछि उपभोक्ता टोलीले मंगलबार जिल्ला वन कार्यालयमा उजुरी दिएको छ। ‘रुखका ठुटाको फोटोसहित वन कार्यालयमा निवेदन दिएका छौं’ पूर्व अध्यक्ष राईले भने ‘जिल्ला र इलाका वनमा निवेदन दिएका छौं, कारबाही नगरे नगरपालिका र सिडिओलाई पनि गुहार्छौं।’

उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर ग्रान्जामगरले आरोप लगाएजत्ति रुख ढालेको साँचो नभए पनि वन फँडानी भएको स्वीकारे। वन फँडानीबारे जानकारी नभएको भन्दै उनले उपभोक्ताले वन कार्यालयमा उजुरी दिएपछि कर्मचारीसँगै घट्नास्थल पुगेर अनुगमन गर्दै गरेको बताए। ‘रुख ढालेको कुरा मलाई नि थाहा थिएन, वन कर्मचारीले बोलाएपछि अनुगमन भइरहको छ’ बुधबार बिहान घट्नास्थलमै रहेका मगरले भने ‘के कति रुख ढालिएको छ हेर्दै छौं, अहिले यकिन संख्या र परिमाण थाहा भएको छैन।’

उनले वन फँडानी आप्mनो समूहको मात्र नभएर छिमेकी समूह र राष्ट्रिय वनको पनि भएको बताए। उपभोक्ताले आरोप लगाएजस्तो धेरै रुख ढालिएको कुरा भने गलत भएको उनको भनाई छ। इवका देउरीका निमित्त प्रमुख सुनिल भण्डारीले वन फँडानीको उजुरी आएपछि अनुगमन पनि गरेको बताए। उपभोक्ताले गस्ती पठाउन आग्रह गर्दा कर्मचारी सबै फिल्डमा भएकाले तत्काल पठाउन नसकेको स्वीकार्दै भण्डारीले वन फँडानीजस्तो जघन्य अपराधमा कसैको मिलेमतो हुन नसक्ने बताए।

प्रकाशित: २१ चैत्र २०७४ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App