१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

अन्तरकृया कार्यक्रममा पछिल्ला अपराधका घटना र न्यूनीकरणका उपायबारे छलफल। तस्बिरः नागरिक

ताप्लेजुङ – ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।

जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका पछिल्ला घटनाको समीक्षा गर्दै जिल्ला प्रहरी कार्यालयले यस्तो बताएको हो। ‘यस्ता घटनामा मुख्यत पीडित पक्षका आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी पाइएका छन्’सरोकारवालासँग मंगलबार भएको अन्तरकृया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले भने।

२०६५ देखि चालू अवधि सम्मको करिव १० वर्षे अवधिमा भएका जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका ७१ वटा घटना मध्ये ३० वटा घटना मध्यान्ह १२ बजे देखि साँझ ६ बजेको समय भित्र भएका छन्। त्यसपछि १९ वटा घटना रातको समयमा,१३ वटा घटना बिहान ६ बजे देखि मध्यान्ह १२ बजे भित्रमा र ९ वटा घटना उज्यालो छाउने बेलाको अवधिमा भएको प्रनाउ बस्नेतले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी घटना एकान्तस्थानमा,घरमा एक्लै रहेको बेला भएका छन्।

पछिल्लो अवधिका ३३ वटा घटना यस्तो अवस्थाको पाइएको समेत बस्नेतले जानकारी दिए। उनका अनुसार २३ वटा घटनाका पीडितहरुको जाहेरीमा ललाई फकाई करणी भएको उल्लेख छ। ३ वटा घटना मादक पर्दाथ सेवन पछिको उन्मादका कारण,५ वटा डर, त्रास र धम्की देखाएर र २–२ वटा घटना जागिर लगाइदिने प्रलोभन देखाएर तथा बाटो ढुकी एक्लै पारेर भएका छन्। प्रनाउ बस्नेतका अनुसार सामुहिक बलत्कारको १,घरको ढोका फोडेर १ र घरबाट अपहरण गरी शरिर बन्धक बनाएर एउटा जबरजस्ती करणी घटना भएका छन्।

यता सबैभन्दा बढी १६ वर्षमुनि उमेर समूहका बालिका जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटनाबाट प्रभावित भएका छन्। प्रनाउ बस्नेतका अनुसार ७१ वटा यस्ता घटनामध्ये १६ वर्ष भन्दा मुनि उमेर समूहका २८ जना पीडित देखिएका छन्। यी मध्ये १० वर्ष मुनि उमेर समूहका ७ र १० देखि १६ वर्ष मुनि उमेर समूहका २१ जना पीडित देखिएका छन्।

२० वर्ष माथि उमेर समूहका पीडितको संख्या २७ रहेको छ भने १६ देखि २० वर्ष भित्रको उमेर समूहका १६ जना पीडित देखिएका छन्। उनका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा जबरजस्ती करणीका ८ र जबरजस्ती करणी उद्योगका ५ गरी १३ वटा मुदा दर्ता भएका थिए। आव २०७३–०७४ मा जबरजस्ती करणीका ७ र जबरजस्ती करणी उद्योगका ३ गरी १० वटा मुद्दा दर्ता भएकोमा चालू आवको यो अवधि सम्ममै १० वटा मुद्या दर्ता भइसकेका छन्। यि मध्ये जबरजस्ती करणीका ५ र जबरजस्ती करणी उद्योगका ५ वटा मुद्दा रहेको प्रनाउ बस्नेतले जानकारी दिए।

जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगरपालिकाका कार्यवाहक प्रमुख बलबहादुर गुरुङ र संघीय प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पिताम्बर अधिकारी सहित स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र सरोकारवाला सहभागी कार्यक्रममा बस्नेतले उमेरगत रुपमा जबरजस्ती करणीका घटनाबाट पीडित हुनेहरूको पछिल्लो तथ्याङक समेत सुनाएका थिए। उनका अनुसार पछिल्ला वर्षहरूमा महिला तथा बालबालिका सम्बन्धी हुने गरेका अपराधका घटना समेत बढ्दै गएका छन्।

आव २०७२–०७३ मा कुल अपराधका घटना मध्ये महिला र बालबालिका सम्बन्धी अपराधका घटनाको प्रतिशत ११ रहेकोमा ०७३–०७४ मा बढेर १३ र चालू आवको यो अवधि सम्ममै १४ प्रतिशत पुगेको छ, जबकी आर्थिक वर्ष समाप्त हुन अझै ३ महिना पूरै छ। मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी फौज्दारी अपराध संहिता २०७४ र कार्यविधि महिला तथा बालबालिका सम्बन्धी अपराधको सजायमा झन् कठोर बनेको छ। कार्यक्रमको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले शान्ति सुरक्षा सम्झौताहिन विषय भएको भन्दै अपराध नियन्त्रणमा कसैसँग सम्झौता नगर्ने बताए।

प्रकाशित: २० चैत्र २०७४ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App