१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

सर्वोच्च अदालतको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका भारतीय दलित समुदायका मानिस । तस्बिर : एजेन्सी

नयाँ दिल्ली– दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

दलित तथा जनजाति समुदायविरूद्ध हुने ज्यादतीका घटनामा पक्राउ गर्दा थप जाँच गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले हालै गरेको निर्णयले आफूहरूमाथिको आक्रमणमा वृद्धि हुने भन्दै लाखौं संख्यामा रहेका दलित समुदायका सदस्यले भारतभर गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा मध्य प्रदेशमा चार जनाको र अन्य क्षेत्रमा तीन जनाको मृत्यु भएको हो।दलित समुदायको प्रदर्शनका कारण भारतको रेलसेवा प्रभावित भएको थियो भने देशका विभिन्न राज्यका केही मुख्य सडक पनि बन्द भएका थिए।

दलित समुदायको प्रदर्शन हिंसात्मक भएपछि भारतको संघीय सरकारले सर्वोच्च अदालतलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।सर्वोच्च अदालतले भारतमा रहेको सूचीकृत वर्ग वा सूचीकृत जातिका विरुद्ध हुने ज्यादती रोकथामसम्बन्धी ऐन विगतमा दुरुपयोग भएको फैसला गरेको थियो।

अदालतको यस्तो निर्णयबाट क्रुद्ध दलित संगठनहरूले सोमबार भारत बन्दको आह्वान गरेका थिए । दलित समुदायको विरोध प्रदर्शन विशेषगरी मध्य प्रदेश, उत्तर प्रदेश, हरियाणा, झारखण्ड जस्ता राज्यहरूमा बढी केन्द्रीत भएको बिबिसीले उल्लेख गरेको छ । दलित नेताहरुले अदालतको फैसलाले आफूहरु अत्यन्तै असुरक्षित महसुस भएको बताएका छन्।
‘सूचीकृत वर्ग वा सूचीकृत जातिका विरुद्ध हुने ज्यादती रोकथामसम्बन्धी ऐनमा भारतमा रहेका दलित समुदायमाथि हुने कुनै भेदभाव सजाययोग्य अपराध हुने भन्दै हाम्रो समुदायको संरक्षणको व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतको यस्तो निर्णयले अब यस्तो कानुनी दायित्वको अन्त्य भएको छ । हामी सबै दुःखी छौं र अचम्मित भएका छौं,’ अल इन्डिया एसोसियसन फर लोअर कास्ट नामक संस्थाका महासचिव केपी चौधरीलाई उधृत गर्दै बिबिसीले जनाएको छ।
प्रदर्शन कस्तो थियो ?
भारतको मध्य प्रदेश राज्यका वरिष्ठ प्रहरी अधिकारीहरुले दिएको जानकारीअनुसार दलित समुदायको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले रेल वे ट्रयाकमा अवरोध सिर्जना गरेपछि र सवारी साधनमाथि आगजनी गर्न थालेपछि सरकारले ठूलो संख्यामा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो।

मध्य प्रदेशका केही भागमा कर्फ्यू लगाइएको छ । यसैगरी दलित समुदायकै प्रदर्शनका क्रममा भारतको उत्तरी राज्य राजस्थानमा एक जनाको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतलाई उधृत गर्दै बिबिसीले जनाएको छ । उता, भारतको उत्तरी राज्य पञ्जाबमा दलित समुदायको प्रदर्शनका कारण जारी रहेको परीक्षा स्थगित गरिएका छने भने शैक्षिक संस्था, बैंक र कार्यालयहरु बन्द गरिएका छन्।

राज्य सरकारले सोमबार राति ११ बजेसम्मका लागि इन्टरनेट सेवासमेत बन्द गराएको छ। पञ्जाब राज्यको विभिन्न क्षेत्रमा पसल बन्द गराउन र सार्वजनिक यातायात ठप्प पार्नका लागि प्रदर्शनकारीले तरबार, ब्याट र झण्डा बोकेर हिँडेका थिए । भारतको उत्तरी राज्य उत्तर प्रदेश, झारखण्ड र बिहारमा पनि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न क्षेत्रमा झडप भएका समाचार आएका छन् ।

भारतमा जातीय हिंसा एउटा समस्याका रूपमा रहिरहेको छ । सन् २०१६ मा मात्रै दलित समुदायविरुद्ध ४० हजारभन्दा बढी अपराधका घटना दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ।
 

प्रकाशित: २० चैत्र २०७४ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App