१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सगरमाथा आरोहणका लागि ४ समूहले लिए अनुमति

सगरमाथा आरोहीका लागि बस्न तयार पारिएको आधार शिबिरका टेण्डहरू। तस्बिरः नागरिक

सोलुखुम्बु – सगरमाथा आरोहणका लागी ४ समूहले अनुमति लिएका छन्। सगरमाथा अरोहणको उपयुक्त मौसम भएकाले सिजन सुरु भएसँगै पर्यटकहरू सगरमाथा आरोहणका लागि नाम्चेबाट उकालो लागेका छन्।

आरोहणको पूर्व तयारी गरेसँगै अहिले आरोहीहरू आधार शिबिर पुग्न थालेका छन्। अहिलेसम्म उक्त आधार शिबिर प्रयोग गरि आरोहण हुने तीन हिमालका लागि ५ समूहमा ५३ आरोहीले सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपिसिसि) नाम्चेबाट अनुमति लिइ उकालो लागेका छन्।

त्यसमध्ये ४ आरोहण दलका ४३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिइसकेको सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपिसिसि) का कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए। त्यस्तै, एक आरोहण दलमा १० जना ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिएर सगरमाथा आधार शिबिरतर्फ लागेका छन्। अहिलेसम्म नुप्त्से हिमाल आरोहणका लागि कोहि पनि सम्पर्कमा नआएको एसपिसिसिले जनाएको छ। एउटा आरोहण दलमा १ देखि १५ जनासम्मले अनुमति लिन पाउँछन्।   

सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहण गर्न आएका पर्यटकहरू ठुला हिमाल आरोहण गर्नुअघि तयारी स्वरुप साना हिमाल अर्थात पिकहरू आरोहण गर्ने गर्दछन्। पर्यटकहरू अल्टीच्युट लिन र अभ्यासका लागि साना पिकहरूको आरोहण गर्ने गर्दछन्। अहिले सगरमाथाको बाटो निर्माण कार्य पनि जारी रहेकाले उनीहरु अभ्यासमा केन्द्रीत हुने गर्दछन्।

अघिल्लो वर्ष ५७ वटा आरोहण दलले सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणको अनुमति लिएका थिए। जसमा ४२ वटा आरोहण दलले सगरमाथा, १२ वटा आरोहण दलले ल्होत्से र ३ वटा दलले नुप्त्से हिमाल आरोहणको अनुमति लिएका थिए। यो वर्ष पनि आरोहणको लागी अनुमति लिन आउनेक्रम जारी रहेको छ।  अहिले आमाडब्लमको लागी एउटा ग्रुपले अरोहणको लागि अनुमति लिएको छ। आरोहण दलमा ९ जना आरोहिहरू रहेका छन्।

विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित अन्य दुई हिमालका लागि समेत प्रयोग हुँदै आएको आधार शिबिर आरोहणको समयमा भरिभराउ हुने गर्दछ। हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाइ व्यवस्थित रुपमा राख्नका लागि क्याम्प खडा गर्न आरोहण कम्पनीहरूलाई भ्याइनभ्याइ छ। सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि पाँच हजार तीन सय ६४ मिटरको उचाइमा रहेको एउटै आधार शिबिर साझा रुपमा प्रयोग गर्ने गरिएको छ।

तीन वटै हिमालको आधार शिबिर एउटै भएकाले पनि आरोहणको मौसममा पाइला टेक्ने ठाउँ समेत नहुने गरेको आधार शिबिरमा सरकारका सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। पटक पटक सम्पर्क अधिकृतका रुपमा खटिसकेका उनले अनुभव सुनाउदै भने, ‘हिमाल आरोहण गर्ने करिव डेढ महिना त आधार शिबिरमा ठूलो मेला लाग्ने गर्दछ।’

प्रकाशित: १६ चैत्र २०७४ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App