१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

म्याग्दी– राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोम– कोरला सडकको स्तरोन्नती कार्यलाई तीब्रता दिन दैनिक ८ घण्टा बन्द गरिने भएको छ।

म्याग्दी सदरमुकाम बेनीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवसायी, जनप्रतिनिधी, ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधी सम्मिलित बैठकले बिहान साढे ७ देखि साढे ११ बजेसम्म र दिउँसो साढे २ देखि साढे ६ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए। ‘चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ। यसले निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रुहरु पनि समयमै गन्तव्यमा पुग्न सकेका छैनन’, उनले भने।

आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङ देखि जोमसोमसम्म कोशी कन्ट्रक्शनले काम गरिरहेको छ। गजुरमुखीले दुईखण्ड गरि सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ। मुस्ताङ खण्डमा बर्षाको समयमा पनि कम पानी पर्ने भएकाले आयोजनाले म्याग्दी खण्डमा पर्ने करिब ४२ किलोमिटर सडकको निर्माण कार्यलाई तीव्रता दिईएको जनाएको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राष्ट्रिय प्राथामिकताको सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको बताए। ‘बिहान साढे ७ बजे भन्दा अघि र दिउँसो साढे ११ देखि साढे २ बजेसम्म यात्रुहरु घासासम्म पुग्नुपर्ने हुन्छ’ प्रजिअ अधिकारीले भने। साढे ६ बजेबाट निर्माण कार्य रोकिने र रातभर सडक खुल्ला रहने प्रशासनले जनाएको छ। यता ठेकेदार कम्पनीले समेत बन्द गरेर काम गर्न सहज हुने बताएका छन्। चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्र्तगत जोमसोम देखि कोरलासम्म ९३ किलोमिटर सडकमा पनि थप प्याकेज बनाएर काम गर्ने तयारी भइरहेको छ।

गलेश्वर–घाँसा खण्डमा डीबिएसडी र घाँसा देखी जोमसोम सम्म असपाल्ट प्रविधिको कालोपत्रे गरिने आयोजनाको बेनी –जोमसोम– कोरला सडक अन्र्तरगत १ सय ८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकका लागि भिर कटिङ, रिटेनिङ वाल, तारजाली सहित सडकलाई दिगो बनाउन इन्जिनियरिङ सहित सडक विस्तारमा गरिएको सम्झौता अनुसार काम भइरहेको छ।

प्रकाशित: १५ चैत्र २०७४ १५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App