१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमको चीन भ्रमण सकारात्मकः ट्रम्प

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन्। उनले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका हुन्।

उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन,‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ।’

उक्त भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि सूचना पाएको र सो भेटवार्ता राम्रो भएको थाहा भएको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

त्यसैगरी बुधबार पनि एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी दिएका थिए।

चीनले भन्योः उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा सहमत
चीनले उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएको बताएको छ । हालै मात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाइ आएको छ।

तर उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई पनि दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो। नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताएका हुन्।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ। उत्तर कोरियाली नेताका रुपमा सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुगेका हुन्।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएका छन्। यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ। सोही बैठकअघि उहाँको यो भ्रमण भएको हो।

दक्षिण कोरियाको समर्थन
उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले किमको चीन भ्रमणको स्वागत गरेको विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो। उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस विषयमा सार्वजनिक गरेका छन्।

चीन उत्तर कोरियाको निकटको देश मात्र नभएर प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो। त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको बताइएको थियो।

प्रकाशित: १५ चैत्र २०७४ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App