७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?

म २२ वर्षीय अविवाहित पुरुष हुँ । सम्भोगको आनन्द पनि लिइसकेको छु । अविवाहित भएका कारण चाहेका बेला यौन पार्टनर पाउन सम्भव हुने कुरै भएन । यौन चाहना हस्तमैथुन गरेर पूरा गर्छु । हस्तमैथुन गर्दा मैले यौनसम्पर्क राखेका पार्टनरका यौनांग सम्झन्छु र पत्रपत्रिकामा छापिने ग्ल्यामरस तस्बिर तथा कहिलेकाहीँ ब्लू फिल्म पनि हेर्छु । तर, मलाई अहिले आफ्नो हस्तमैथुन गर्ने बानीदेखि डर लाग्न थालेको छ । कतै मैले गल्ती त गरेको छैन ? विवाहपछि पनि  हस्तमैथुनमै बढी लागुँला कि भन्ने पिर छ । दुब्लो पनि छु । हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?
सी

हस्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि त्यसको भावार्थ व्यापक छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनांगलाई चरम सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी सँगसँगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई गरिदिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।

हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो । यो यौन व्यवहार आधुनिक युगको सभ्यताको मात्र उपज होइन । हस्तमैथुनलाई प्राचीन र प्रागऐतिहासिक कालका आदिमानवदेखि हालसम्म प्रत्येक युगका स्त्री पुरुषले, समलिंगी र उभयलिंगीले प्रयोग गर्ने गरेका छन् । यसको प्रयोग प्रक्रिया र साधनमा व्यापकता आएको भने अवश्य हो । सामान्यतया हस्तमैथुनसँग मनोवैज्ञानिक सहयोगीका रूपमा फ्यान्टासी पनि प्रयोग हुने गर्छ ।

तर, शतप्रतिशत अवस्थामा यसो हुनैपर्छ भन्ने जरुरी छैन । यसका साथै यौन सामग्रीहरूको अध्ययन वा अवलोकन अथवा एकान्तमा तिनको सम्झनामात्र पनि हस्तमैथुनका लागि सहयोगी साधन बन्न सक्छन् ।

हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन (डिल्डो), भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् । जिब्रो र ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् । मुखमैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ । यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा छ ।

पछिल्ला दुई तरिकामा हातको प्रयोग नहुने भए पनि ती सबै व्यवहारलाई हस्तमैथुन भन्ने गरिन्छ । माथि उल्लेख गरिएझैँ जोडीहरूद्वारा एकअर्कासँगै यौनसन्तुष्टिका लागि गरिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । पारस्परिक हस्तमैथुन दुई किसिमका हुन्छन् । पहिलोमा एकअर्काका यौनांगलाई नछोइकन तर एकअर्कासँगै रहेर आ–आफ्ना यौनांग चलाएर गरिने हस्तमैथुन र द्रोस्रोमा एकले अर्काका यौनांगलाई सँगसँगै चलाइदिएर गरिने हस्तमैथुन पर्छन ।

वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई बाहिर नल्याएसम्म हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो । तर, अहिले हस्तमैथुनसम्बन्धी विभिन्न भ्रम निवारण भइसकेका छन् ।

हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु भोक लागेको मानिसलाई खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो । मैले आफ्नो चिकित्सा पेशाको अनुभव तथा सञ्चारमाध्यममा यौनसम्बन्धी समस्याबारे बोल्ने वा जवाफ दिने क्रममा धेरै किशोरकिशोरी र युवायुवतीका यससम्बन्धी द्विविधा र जिज्ञासा पाएको छु ।

उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन । हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ । असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम  पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।

हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन । कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो । हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् । अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन । तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।

झट्ट हेर्दा अत्यधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरूको मात्र पेवा यौनव्यवहारजस्तो देखिन्छ । तर, हस्तमैथुन गर्ने महिलाको संख्या पनि कम छैन । हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ । हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले महिनावारीको बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App