१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

श्रीमान्–श्रीमानजी

अन्ततः श्रीमान् गोपालप्रसाद पराजुली प्रधानन्यायाधीशको पदबाट मुक्त हुनुभयो । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष उहाँले बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि उहाँ पदबाट मुक्त हुनुभएको थियो । तथापि उहाँको पदमुक्तिबारे पनि विवाद नभएको होइन । उहाँले पदमुक्त भएपछि राजीनामा दिनुभएको हो कि राजीनामा दिए पनि पदमुक्त हुनुभएको हो ?

यसमा अहिले विवाद सुरु भएको छ । कोही भन्छन्, ‘उहाँ पहिले पदमुक्त हुनुभयो । त्यसपछि राजीनामा दिनुभयो ।’ कोही भन्छन्, ‘पहिले राजीनामा दिनुभयो । त्यसपछि पदमुक्त हुनुभयो ।’ सायद यही कारण होला, अहिले उहाँ सेवाबाट अवकाश भएको मिति पनि दुइटा आएको छ । एउटा, पदमुक्त भएपछि अवकाश पाएको मिति । अर्को, राजीनामा दिएपछि अवकाश पाएको मिति । अवकाश मिति नै दुइटा ! एउटै मान्छेले एउटै जागिर दुईचोटि त्याग गर्न पनि मिल्ने रहेछ ।
यसअघि उहाँको जन्ममितिबारे विवाद आएको थियो । अहिले अवकाश मितिबारे विवाद आएको छ।

जन्ममिति उहाँको चारवटा रहेछ, अवकाश मितिचाहिँ दुइटा । अवकाश मिति दुइटा, जन्ममिति चारवटा ! एउटै मान्छेको चार–चारवटा जन्ममिति कसरी हुन सक्छ ? त्यसो त उहाँका श्रीमतीहरू पनि चारवटै रहेको तथ्यांक पनि बाहिर आएको छ । अतः विवाह मिति पनि चारवटै हुनुपर्छ । चारवटा जन्ममिति, चारवटा विवाह मिति ।त्यसो त उहाँको श्रीमतीबारे यहाँ चर्चा नगरौँ । किनभने, पेसाले न्यायाधीश भएका कारण उहाँलाई अदालतभित्र वा अदालतबाहिर ‘श्रीमान्’ भनेर सम्बोधन गरिन्छ ।

अब जजसले उहाँलाई ‘श्रीमान्’ भनेर बोलाउँछन्, ती सबै उहाँकी श्रीमती त हुन सक्दैनन् । अदालतमा उहाँ सबैको श्रीमान् भए पनि घरमा चाहिँ एउटैको मात्र श्रीमान् हुनुपर्छ । सायद उहाँ श्रीमान् हुनुभएकाले महिलावादीहरूले श्रीमतीको कुरा पनि निकालेको हुनुपर्छ । होइन भने यो न्यायिक मामिलामा श्रीमतीको कुरा ल्याउन मिल्दैन ।जहाँसम्म न्यायको कुरा छ, न्यायप्रति उहाँको ठूलो लगाव छ । उहाँले उमेर ढाँटेर बढी जागिर खानुभयो भन्ने आरोप छ । तर त्यो पनि न्यायप्रति लगाव भएकै कारण भएको हो।

उहाँ उमेर ढलिसक्दा पनि न्यायको सेवा गर्न चाहनुहुन्थ्यो । त्यसैले उमेर ढाँटेरै भए पनि उहाँले दुई–चार महिना बढी सेवा गर्नुभयो । मौका मिले त उहाँ अझै सेवा गर्न चाहनुहुन्थ्यो । तर के गर्नु, सेवाको मौकै दिइएन । वास्तवमा यो नेपाल भनेको काम गर्ने मान्छेलाई काम गर्न दिने देशै होइन । काम गर्ने मान्छेलाई काम दिनुप¥यो नि, अनि पो विकास हुन्छ । देशमा राष्ट्रपति दोहोरियो, उपराष्ट्रपति दोहोरियो । प्रधानमन्त्री नै पनि दोहोरियो । अब यस्तो दोहोरो परिस्थितिमा प्रधानन्यायाधीश दोहोरिएर के फरक हुन्थ्यो?

अहिले हेर्नुस्, सरकारले स्वेच्छिक अवकाशको कार्यक्रम ल्यायो । अवकाश लिन हजारौँको दर्खास्त लाग्यो । अन्ततः सरकार यति कायल भयो कि अन्तिममा यस्तो अवकाश त हामी दिन सक्दैनौँ भनेर दर्खास्तै खारेज गरिदियो । यस्तो अवस्थामा पनि पराजुली श्रीमान्लाई हेर्नुस्, उहाँले कहिल्यै पनि अवकाश पाउँ भनेर दर्खास्त हाल्नुभएन । उल्टो उमेरै घटाएर भए पनि अवकाशलाई बरु पछि धकेल्नुभयो । उहाँ त्यस्तो अवसर पाएँ भन्दैमा अवकाश लिएर भाग्ने मान्छे होइन।

एउटै मान्छेको चार–चारवटा जन्ममिति कसरी हुन सक्छ ? त्यसो त उहाँका श्रीमतीहरू पनि चारवटै रहेको तथ्यांक पनि बाहिर आएको छ । अतः विवाह मिति पनि चारवटै हुनुपर्छ । चारवटा जन्ममिति, चारवटा विवाह मिति।

यसैबीच केही पत्रिकाले लेखे, उहाँले गर्नुभएका केही फैसलाका कारण राष्ट्रलाई अर्बौं घाटा लागेको छ । उहाँको फैसलै गलत छ । यो त बडा वाहियात आरोप भयो । न्याय भनेको पनि नाफा–घाटा हेरेर गरिन्छ ? न्यायमा त्यस्तो हेर्ने गरिँदैन । त्यस्तो मात्र होइन, केही पनि हेरिँदैन । अझ साँच्चै भनुँ भने न्यायमा हेर्ने नामको कुनै कामै हुँदैन । किनभने न्यायमूर्तिको आँखामा त पट्टी लगाएको हुन्छ । पट्टी लगाएको मान्छेले कसरी हेर्छ ? श्रीमान् गोपाल पराजुलीको आँखामा पनि पट्टी लगाएको छ । त्यसैले उहाँ दायाँबायाँ कहीँ हेर्नुहुन्न । सायद त्यसरी कहीँ नहेरी लेख्ने गरेकाले पो उहाँको जन्ममिति पनि चारवटा भइदिएको हो कि ?

न्यायमा उहाँ कति पक्का हुनुहुन्थ्यो भन्दा देशमा भएका जम्मै मेडिकल कलेजहरू आफूलाई केही आपत् पर्दा सीधै उहाँको इजलासमा जाने गर्थे । उहाँ हुनुहुन्थ्यो, मेडिकल कलेजहरू त्यही अदालत पुग्ने गर्थे । उहाँको न्यायप्रति विश्वास भएर त पुग्यो होला नि । त्यसै पुग्थे ? विश्वास भनेको धेरै ठूलो कुरा हो । हामी आफ्नो घरलाई चाहिने एक बोरा चामल किन्नुपर्दा समेत विश्वास भएको पसलमा पुग्ने गर्छौं । जहाँ तहीँ जाँदैनौँ । एक बोरा चामलका लागि त हामी विश्वास भएको पसल खोज्छौँ भने न्याय जस्तो कुराका लागि विश्वास नभएको न्यायाधीशतिर कोही जान्छ ? उहाँको विश्वसनीयता यसबाट पनि प्रस्ट हुन्छ ।

वास्तवमा नेपालका मेडिकल कलेजहरूलाई डा. गोविन्द केसीजस्ता ‘सनकी’हरूबाट बचाउने एक मात्र न्यायाधीश उहाँ नै हुनुहुन्थ्यो । अब उहाँको बहिर्गमनपछि डा. केसीले विनाअनशनै मेडिकल कलेजहरूलाई दुःख दिने भए।

हो, उहाँका धेरै फैसलाले गर्दा सरकार हारेको छ । तर सरकार हारे पनि न्यायले त जित्यो नि । उहाँको फैसलाले गर्दा राष्ट्रलाई घाटा पनि लागेको छ, तर राष्ट्रलाई घाटा लागे पनि उहाँलाई त... क्षमा गर्नुहोला, न्यायलाई त लाभै भएको छ नि । एउटा न्यायाधीशका लागि न्यायभन्दा ठूलो अरु के होला र ? तर भनेर के गर्नु, अन्तिममा उहाँमाथि नै अन्याय भयो !                    

प्रकाशित: १० चैत्र २०७४ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App