१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मस्ट वान्टेड’ उमेश पासवान पक्राउ

जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएका अभियुक्त पासवान। तस्बिर : टंक क्षेत्री

सर्लाही- नेपालका विभिन्न जिल्ला सहित भारतमा समेत हत्या, लुटपाट लगायत अपराधिक घटना गराउने समूहका नाइके रहेको आरोपमा सर्लाही प्रहरीले एकजना अभियुक्तालाई पक्राउ गरेको छ।

मुलुक भित्रैका एक दर्जन बढी अपराधिक घटनामा संलग्न रही ‘मस्ट वान्टेड’को सूचीमा रहेका सर्लाही लालबन्दी नगरपालिका–२ निवासी ४५ वर्षीय उमेश पासवानलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलन मार्फत अभियुक्त सार्वजनिक गरेको छ।

पछिल्लो समय पासवानको नेतृत्वमा गत असोज २४ गते साँझ सर्लाही पिडारी स्थित जय माँ भगवती ज्वेलर्स बन्द गरेर छिमेकी पिपरिया गाउँ स्थित घर जाँदै गर्दा नागेन्द्र साहका छोरा २७ वर्षीय सुनिल साहको गोली हानी हत्या गरी साथमा रहेको ८ तोला सुन, ४ किलो चाँदीका गरगहना एवं ४० हजार नगद लुटपाट भएको प्रहरीको दाबी छ। हालसम्म प्राप्त जानकारी अनुसार सिराहा, रुपन्देही लगायत जिल्लामा समेत कर्तव्य ज्यान, हातहतियार, लुटपाट, खुनडाका तथा संगठित अपराध लगायत मुद्दामा पासवान फरार अभियुक्त रहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जानकारी दिए।

पासवानको नेतृत्वमा भारतमा समेत विभिन्न अपराधिक घटना भएको जानकारी आएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। ‘हालसम्मको अनुसन्धानले पासवान समूह नै बनाएर अपराधिक क्रियाकलाप गर्ने गिरोहको मुख्य नाईके रहेको पाईएको छ’, प्रनाउ थापाले भने, ‘उनकै समूहका ४ जनालाई भने गत कात्तिकमै पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाईएकामा पूर्पक्षका लागि कारागार चलान भएका छन्।’ अपराधिक गिरोहको मुख्य योजनाकार एवं ‘सार्प सुटर’ समेत ठानिएका पासवानलाई पक्राउ गर्नुलाई प्रहरीले ठूलो सफलता भनेको छ।

‘विभिन्न जिल्लामा पासवान विरुद्धका मुद्दा हेर्दा उनी ‘सिरियल किलर’ नै रहेको देखिन्छ’, प्रनाउ थापाले भने, ‘अझै पनि विभिन्न जिल्लामा सम्पर्क गरी उनी विरुद्धका मुद्दाहरु खोज्ने कार्य जारी राखेका छौं।’

पछिल्लो समय भारतमा लुकेर बसेका पासवान घर आएको मौका छोपेर जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय हरिपुर र ईलाका प्रहरी कार्यालय नवलपुरको टोलीले मंगलबार पक्राउ गरेको हो। सुरक्षाकर्मी देख्ने वित्तिकै भागेका पासवानलाई आधा किलोमिटर टाढासम्म लखेटेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App