७ वैशाख २०८१ शुक्रबार
खेल

सर्वाधिक राशिको विराट गोल्डकप

मोरङ– नेपालको ऐतिहासिक एवम् चर्चित तथा मोफसलकै सर्वाधिक राशि रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। 

विराटनगरको सहिद रंगशालामा चैत १७ गतेदेखि गोल्डकपको पाँचौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक डे नाइट फुटबल हुन लागेको हो। काठमाडौंमा ८ औं साफ फुटबलको फाइनल खेल डे नाइट भएको थियो। 

विराटनगरमा २०१८ सालबाट गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको छ। २०१८ मा तत्कालिन राजा महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो। ०५९ सालबाट राजनैतिक समस्या र ०६२÷६३ जनआन्दोलनपछि श्री ५ महेन्द्रको नामबाट गर्ने नगर्नेबीच विवाद हुँदा स्थागित भएको थियो। ०६७ मा ट्रष्टको साधारणसभाले नाम परिवर्तन गरी विराट गोल्डकप नामाकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो। पछिल्लो समय विराटनगरबासीको मात्र नभएर पूर्वकै प्रतिष्ठासँग जोडिएको यस गोल्डकपको पाँचौं संस्करण गत वर्ष हुन सकेन। 

विराटनगरको एकमात्र खेल मैदानको रुपमा रहेको सहिद रंगशाला निर्माणाधिन अवस्था रहेकाले मैदान उपलब्ध नगराउने भन्दै जिल्ला खेलकुद विकास समितिले गोल्डकप आयोजकलाई पत्रचारपछि प्रतियोगिता स्थगित भएको थियो। 

विराट गोल्डकप आयोजक समितिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गोल्डकप तयारीको जानकारी दिएको छ। आयोजक समितिका संयोजक नवीन रिजालले भने, ‘हामीले काठमाडौं बाहिर पहिलो पटक दिवारात्री (डे नाइट) फुटबल प्रतियोगिता गर्न लागेका हौं।’ हामीले मोफसलमै पहिलो पटक नमुना प्रतियोगिता गर्न लागेले सबै पक्षबाट सहयोग हुने आशा गरेको रिजालले बताए। ‘हामीले गर्न लागेको दिवारात्री खेल नौलो हुने नै भयो। त्यससँगै खेलाडीको सेवा सुविधालाई ध्यानमा दिँदै, मोफसलकै सर्वाधिक राशि रहेको प्रतियोगिता गर्न लागेका हौं,’ रिजालले भने। विराट गोल्डकपको विजेताले १२ लाख ७१ हजार रुपैयाँ र शिल्ड जित्ने छन् भने उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पाउने छन्। यसअघि, तेस्रो झापा गोल्डकपको विजेताले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको रिजालले बताए।   

चैत १७ देखि २६ गतेसम्म हुने प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ। जसमा नेपालबाट तीन विभागीय क्लब र ए डिभिजन क्लब गरी ७ क्लबको सहभागिता रहनेछ। त्यसैगरी भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब, भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्ये एउटा क्लबले प्रतियोगितामा सहभागी हुनेछ।

प्रतियोगिता दिवारात्री आयोजना गर्न रंगशालामा फ्लड लाइट जाडन भई रहेको र विद्युत्को आवश्यक प्रवर्द्धन गरेको आयोजकले जनाएको छ। खेल उद्घाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइनेछ। 

म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ पाउने छन्। त्यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्तालाई समान २५ हजार रुपैयाँ प्रदान गरिनेछ। 

आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। 

प्रकाशित: ४ चैत्र २०७४ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App