१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सिंहदरबारको बिरामी

सरकारले सिंहदरबार भित्रै एउटा छुट्टै स्वास्थ्य क्लिनिक पनि सञ्चालन गरेछ । यसलाई एक किसिमले स्वास्थ्य सुविधा दिएको भन्दा पनि हुन्छ । तसर्थ सिंहदरबारसँग अब आफ्नै स्वास्थ्य क्लिनिक पनि भएको छ । स्वास्थ्यका लागि सिंहदरबार अब आत्मनिर्भर बनेको छ।

सिंहदरबारमा स्वास्थ्य क्लिनिक आफैँ एउटा नयाँ काम हो । कस्तो रहेछ त यो स्वास्थ्य क्लिनिक ? मलाई एकपटक सिंहदरबारवाला स्वास्थ्य क्लिनिक अवलोकन गर्न मन लाग्यो । अतः हिजो म सिंहदरबार गएँ । कुनै काम गर्न वा गराउन होइन, मात्र स्वास्थ्य क्लिनिक अवलोकन गर्न।

सिंहदरबारको स्वास्थ्य क्लिनिक । अरु क्लिनिकभन्दा नराम्रो हुने कुरै भएन । डाक्टर नहुने कुरै भएन । तर म जाँदा डाक्टर भए पनि बिरामीचाहिँ कोही नभएको पालो परेछ । रिसेप्सनमै एकजना नर्स बहिनी बसिरहेकी थिइन् । बिरामी नभए पनि उनी फुर्सदमा भने थिइनन् । व्यस्त नै थिइन्, मोबाइलमा । मैले ढोकामा टक्टक् गरेपछि मात्रै उनले मतिर ध्यान दिइन् । ध्यान दिइन् मतलब मतिर यसो आँखा लगाइन् र आँखैले किन आएको भन्ने भाका निकालिन्।

मैले थोरै हडबडाउँदै भनेँ, ‘सिंहदरबारको क्लिनिक भन्या यही हो ?’उनले भनिन्, ‘हजुर, के गर्नुपर्‍यो ? जँचाउनु थियो कि ?’मैले भनेँ, ‘जँचाउने त होइन । खासमा म यो क्लिनिक अवलोकन गरुँ भनेर आएको ।’‘ए, हुन्छ नि गर्नुस्,’ उनले हल्का ढंगले भनिन्।

अगाडिको बेन्च तान्दै मैले सोधेँ, ‘बिरामी त छैन नि । सिंहदरबारमा कोही पनि बिरामी हुँदैनन् कि क्या हो ?’‘किन नहुनु नि, हिँ हिँ हिँ,’ मेरो कुराले उनलाई हँसाएछ । भनिन्, ‘छन् नि, किन नहुनु । झन् बढी
छन् । यहाँ त झन् अनौठाअनौठा खालका बिरामी आउँछन् ।’

‘हो र ?’ मेरो कुतूहलता बढ्यो, ‘कस्तो अनौठो बिरामी सिस्टर ?’उनले भनिन्, ‘अरुतिर भन्दा अनौठो । यहाँ आउने धेरैजसो बिरामी यहीँकै कर्मचारी हुन्छन् । यहाँका कर्मचारीलाई लाग्ने रोग अरुलाई लाग्ने रोगभन्दा फरक छ ।’‘कस्तो फरक ?’ मेरो कुतूहलता वृद्धि हुँदै थियो।

उनी मेरो कुतूहलता मेट्दै थिइन्, ‘यहाँका कर्मचारीलाई लागेको सबैभन्दा ठूलो रोग भनेको भोक लाग्नु हो । किन हो कुन्नि कर्मचारीलाई सधैँ भोक मात्रै लाग्ने रहेछ । अनि भोक लागेपछि जे पनि खाइदिने । अगाडि जे भेटियो, त्यही खाइदिने । अस्ति एकजना हाकिम साब आउनुभएको थियो । उहाँलाई भोक पनि लागिरहने, पेट पनि दुखिरहने व्यथा रहेछ । किन यस्तो व्यथा भयो भनेर एक्स–रे गरेर हेर्दा त पेटमा हजार हजारकै नोटको एक मुठा नै टाँसिएको देखियो ।’

‘हो र ? यो त अनौठै बिमारी भएछ !’ अब भने मेरो आश्चर्यको ठेगान रहेन ।‘त्यसरी एक्स–रे गरी हेर्दा कसैको पेटमा फलामको टुक्रा देखिने, कसैको पेटमा सुनको ढिक्का देखिने । एक्स–रे मेसिन नै बिग्रिएलाजस्तो भइसक्यो,’ उनले आश्चर्यको अर्को पोको खोलिन् ।‘बाफ रे बाफ !’ म बेन्चबाट जुरुक्कै उठेँछु । फेरि के सम्झेँ, थुचुक्क बसेँ।

‘किन हो कुन्नि कर्मचारीलाई सधैँ भोक मात्रै लाग्ने रहेछ । अनि भोक लागेपछि जे पनि खाइदिने । अगाडि जे भेटियो, त्यही खाइदिने । अस्ति एकजना हाकिम साब आउनुभएको थियो । उहाँलाई भोक पनि लागिरहने, पेट पनि दुखिरहने व्यथा रहेछ । किन यस्तो व्यथा भयो भनेर एक्स–रे गरेर हेर्दा त पेटमा हजार हजारकै नोटको एक मुठा नै टाँसिएको देखियो।’

‘अनि, अर्को एकथरी बिरामी पनि छन्,’ उनले पुनः भनिन्, ‘आफ्नो टेबुलमा फाइल देख्यो कि निद्रा लागिहाल्ने रे ! घरबाट फूर्तिसाथ निस्किन्छ, अफिस पुग्यो कि निद्रा लाग्छ । यस्तो रोग पनि धेरै कर्मचारीलाई लागेको रहेछ ।’‘यस्तो पनि रोग हुन्छ ?’‘खोइ, हुने रहेछ त । यस्तो रोग अरुतिर हामीले देखेको छैन ।’‘अनि मन्त्रीज्यूहरू आउनुहुन्न त जँचाउन ?’ मैले सोधेँ।

‘आउनुहुन्छ नि, मन्त्रीज्यूहरूको रोग पनि अनौठो नै छ,’ उनी अर्को आश्चर्य खोल्ने तयारीमा लागिन्, ‘मन्त्रीज्यूहरूलाई धेरैजसो बिर्सिने रोग लागेको देखिन्छ ।’‘बिर्सिने ! के बिर्सिने ?’ मैले बुझिनँ ।उनले भनिन्, ‘खासगरी चुनावमा गरेका प्रतिबद्धता बिर्सिने, चुनावका बेला दिएका वचन बिर्सिने रोग उहाँहरूलाई लागेको देखिन्छ।’

‘मन्त्रीज्यूहरूलाई अर्को रोग लागेको पनि देखिन्छ,’ उनैले पुनः भनिन्, ‘खोइ के भएर हो, उहाँहरूलाई अचेल कान नसुन्ने रोग पनि अचाक्ली नै लागेको देखिन्छ ।’‘कान नसुन्ने रोग ? कस्तो कान नसुन्ने ?’ म सोध्छु ।उनले भनिन्, ‘आफ्नो चुनाव क्षेत्रका मान्छेले भनेको केही नसुन्ने रोग लाग्या रहेछ । अरुले भनेको सुन्नुहुन्छ, आफ्नो मतदाताले भनेको सुन्नुहुन्न । अनौठो रोग छ ।’‘अहो !’ म चकित भएँ।

सिस्टरले केही भन्नै खोजेकी थिइन्, कसैले ढोका खोलेको आवाज आयो । हामी दुवैको आँखा ढोकानेर गयो । एकजना बिरामीलाई दुईजना कर्मचारीले काँध दिएर ल्याउँदै थिए । बिरामी असाध्यै रुग्ण देखिन्थ्यो । रंग उडेको । फुंग परेको । साथै अशक्त पनि ।सिस्टरले बिरामीलाई पलङमा सुताउने व्यवस्था गरिन् । कर्मचारीले पलङमा हाले ।‘को हो नि उहाँ ?’ सिस्टरले सोधिन्।

‘सिंहदरबार,’ कर्मचारीले भने ।‘सिंहदरबार ? को सिंहदरबार ?’ सिस्टरले सोधिन् ।‘को सिंहदरबार, हाम्रो यही सिंहदरबार नि,’ कर्मचारीले भने ।‘सिंहदरबार पनि बिरामी ?’ मेरो मुखबाट प्वाक्क आइहाल्यो ।‘त्यही त बिरामी भइहाल्यो ।’ कर्मचारीले जवाफ दिए ।‘के भएको नि उहाँलाई ?’ सिस्टरले सोधिन्।

‘खै के भएको हो । सुस्त हुनुभएको छ । कमजोर पनि हुनुहुन्छ । जाँगरै चल्दैन । एकपटक जाँचिदिनुपर्‍यो,’ कर्मचारीले अर्को बेन्चमा थुचुक्क बस्दै भने ।सिस्टरले सिंहदरबारको छातीमा स्टेथोस्कोप डामिन् । घडी हेरिन् । सिंहदरबारको स्वास्थ्य जाँच सुरु भएकाले मचाहिँ क्लिनिकबाट निस्केँ ।
 

प्रकाशित: २६ फाल्गुन २०७४ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App