१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जोन्सलाई दोस्रो स्वर्ण

रियो दी जेनेरियो–बेलायतकी जडे जोन्सले महिला तेक्वान्दो फेदरवेट (४९–५७ केजी) स्पर्धामा स्वर्ण पदक जितेकी छन् । ओलम्पिकमा उनको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले २०१२ लन्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् ।

‘फाइनल पुग्दा पनि मलाई गर्व महसुस भएको थियो । त्यसैले मैले दबाबमुक्त भएर खेलेँ र जिते पनि,’ दोस्रो स्वर्ण जितेपछि जोन्सले भनिन्, ‘म लिजेन्ट बन्न चाहन्थेँ । २३ वर्षको उमेरमा दुई ओलम्पिक स्वर्ण जितँे । मैले विश्वासै गर्न सकेको छैन ।’ जोन्सले स्पेनकी इभा काल्भो गोमेजलाई १६–७ अंकले पराजित गरेकी हुन् । इरानकी एलिजाडे जेनुरिन र इजिप्टकी हेडाया वाहवाले कांस्य पदक जिते ।

बेलायतका डेले थोम्पसनको उपाधि संख्यासँग बराबरी गरेको दिनलाई अमेरिकाका एस्टोन इटोनले विशेष दिन मानेका छन् । डेकाथलनमा लगातार दोस्रोपटक स्वर्ण जितेपछि इटोनले भने, ‘थोम्पसनले जस्तै ओलम्पिकमा लगातार दुई स्वर्ण जित्नु मेरा लागि विशेष हो । एक दिन

थोम्पसनले भेटेर हात मिलाउने छु । मलाई प्रेरित गरेकोमा धन्यवाद दिनेछु ।’ थोम्पसनले १९८० र १९८४ मा लगातार स्वर्ण जितेका थिए । उनले थपे, ‘पहिला मेरो थ्रो खराब गइरहेको थियो तर पछि राम्रो भयो । के मैले लगातार तेस्रो पनि जित्न सक्छु ? त्यसको थोम्पसनलाई सोध्नुपर्छ ।’
फ्रान्सका केभिन मेयरले रजत पदक जित्दा क्यानडाका डमैन वार्नरले कांस्यमा चित्त बुझाए ।

जोर्डनका अहेमद अवुघउसले रुसका एलेक्जे डेनिसेन्कोलाई १०–६ ले पराजित गर्दै पुरुष तेक्वान्दोको फेदरवेट (५८–६८ केजी) स्पर्धामा स्वर्ण पदक जितेका छन् । दक्षिण कोरियाका ली डाइहुन र स्पेनका जोएल गोन्जालेज बोनिलाले कांस्य पदक जिते ।

अमेरिकाकी दलिलाह महम्मदले सुरुदेखि अन्त्यसम्म अगाडि रहँदै महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । उनले ५३.१३ सकेन्डमा दुरी पार गरिन् । डेनमार्ककी सारा स्लोट पिटरसनले रजत जितिन् भने अमेरिकाकै एस्ले स्पेनसरले कांस्य जितिन् ।

क्रोएसियाकी सारा कोलकले आफ्नो व्यक्तिगत र राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै महिला ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी छन् । उनले आफ्नो चौथो प्रयासमा ६६.१८ मिटर फालेकी थिइन् । दक्षिण कोरियाकी सुनेटे भिल्जोइनले रजत र चेक गणतन्त्रकी बारबोरा स्पोटाकोभाले कांस्य पदक जितिन् ।  ब्राजिलले पुरुष बिच भलिबलको उपाधि जितेको छ । एलिसन सेरुट्टी र ब्रुनो स्चमिडको जोडीले इटालीको पाउलो निकोलाई र डानिइले लुपोको जोडीलाई २१–१९ र २१–१७ को सेटमा पराजित गरेको थियो ।

 

प्रकाशित: ४ भाद्र २०७३ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App