२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

तस्बिर : नवीन लामिछाने/रासस

नवीन लामिछाने
मनाङ – नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।

मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन्। ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन्। विद्यालय खुल्ने याममा आफू चौँरी गोठमा बस्नुपर्ने र हिउँदमा गोठ तल झर्दा विद्यालय बन्द हुने भएकाले राम्रोसँग पढ्न नपाउँदा पढाइ छोड्नु परेको उनको भनाइ छ।

आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुख्र्यौली पेशा नै उचित भएको उनी बताउँछन्। ११ वर्षदेखि चौँरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चौँरी बाट यो पेशाको थालनी गरेको बताए।  

अहिले ६० वटा चौँरी र १५ वटा भाले (याक) रहेका छन्। उनी चौरीको दूध दुहुने, मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार, चिज, नौनी, घ्यु र छुर्पी बनाउछन्। अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ। उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडाैं पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन्।

त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजार सम्म पर्छ। कान्छा गुरुङले वर्षमा चार/पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए । कान्छा भन्छन, “अहिले आफूसँग भएका सबै चौँरी र याकको मुल्य चार/पाँच करोड पुग्छ।”

शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको र घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए। अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन्।

उनी भन्छन, “काम भनेको सानो ठूलो हुँदैन, जे गरे पनि हुन्छ । आफूले जति मिहेनत ग¥यो उत्तिनै फल पाइन्छ।” हिमालको काखमा हिउँसँग चिप्लँदै चौँरीको पछि लाग्न कहाँ सजिलो छ र ? तैपनि रमाउँदै रमाउँदै यिनै चौँरीको पछि लागेको छु जसले मलाई सबथोक पु¥याएको छ।

हिमालको काखमा चिसो हिउँसँगै आफू जोगिएर हिउँ चितुवासँग चौँरी जोगाएर आफ्नो परिवारसँग रमाउन पाएकोमा उनी गर्व गर्छन्। अहिले उनको घरमा उनकी श्रीमती र एक छोरी मात्र छन् । कान्छा भन्छन, “आजकलका युवाहरुमा विदेशिने मोह जागेको छ जसले युवालाई आफू र आफ्नोपन के हो भन्ने थाहै छैन।”

घरजग्गा बन्धक राखेर विदेशिएका युवा साथीहरु ऋण तिर्न नसकेर रोएका छन् त कोही अलपत्र परेका छन् । यस्तो अवस्था देख्दा आफूले अँगालेको पेशामा गर्व लागेको बताउँछन्। गर्नसके आफ्नो ठाउँमा नै सबथोक छ। पैसा कमाउन पराइको गुलाम बन्नु पर्दैन। जे गरे पनि हुन्छ। शुरुमा १० वटा चौँरीबाट शुरु गरेका कान्छा गुरुङ अहिले करोडपति बनीसकेका छन्। (रासस)

प्रकाशित: १६ फाल्गुन २०७४ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App