१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठेकेदारको चरम लापरबाही

गौतम बुद्ध विमानस्थल विस्तार आयोजनाको निर्माणाधीन काम । तस्बिर शेरबहादुर- नागरिक

बुटवल – ६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।

ठेक्का सम्झौता अनुसार २०७३ असारसम्म ठेकेदार कम्पनीले काम अघि बढाउने कुनै छनक देखाएन । आयोजनाका  इन्जिनियरहरुका  अनुसार ठेकेदार कम्पनीले कहिले सडक किनाराका पोल सारिएन त्यसैले समस्या भयो भन्यो । कहिले नाकाबन्दी र मधेस बन्दले निर्माण सामग्रीको अभाव भयो भनेर बहाना ग¥यो । ठेकेदार कम्पनीले २१ असोज २०७२ मा एक सय २० दिनको म्याद थप गरेपछि काम अघि बढ्ला भन्ने आस गरेका आयोजनाका इन्जिनियरहरु काम अघि नबढेपछि निराश भए।

त्यसपछि ६ माघ २०७३ मा दोस्रोपल्ट ८४ दिनको म्याद थप गरियो । कम्पनीले दोस्रोपल्ट थपेको समयसीमामा पनि काम पूरा गरेन । त्यसपछि ३० चैत २०७३ मा तेस्रोपल्ट एक सय ८२ दिनको म्याद थप  भयो । तेस्रोपल्ट म्याद थप गर्दासम्म काम सुस्त अघि बढे पनि पूरा हुने गरी अघि बढ्न सकेन । २५ भदौ २०७४ मा चौथोपल्ट थपेको एक सय १० दिनको म्याद गएको मंसिर ५ गते सकिँदा काम सकिएन । चौथोपल्टसम्म विभिन्न बहानामा हर्जाना नतिर्ने गरी आयोजनाले ठेकेदार कम्पनीलाई म्याद थप्दा तोकिएको काम पूरा नभएपछि आयोजनाका अधिकारीहरु अब हर्जाना तिराउने ‘मुड’मा छन्।

‘अब काम पूरा गर्ने गरी म्याद थपिन्छ तर हर्जाना तिर्नुपर्छ,’ आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भने । तीन ठेकेदार कम्पनी  मिलेर गरेको दुई किलोमिटर सडक बनाउने काम  पटक–पटक म्याद थप्दा पनि सम्पन्न गर्न चासो नदिनु भनेको बदनियत देखिएको सडक विभागका अधिकारीहरुको भनाइ छ।

बेलहिया–बुटवल ६ लेन सडक विस्तार आयोजनामा मात्रै नभएर अन्यत्र पनि ठेकेदार कम्पनीका लापरबाही धेरै छन् । ती लापरबाहीले विकास आयोजनाका काम तोकिएको समय सीमामा हुन सकेका  छैनन् । ठेक्का सम्झौता गर्दाको समयसीमामा काम नसकिएपछि म्याद थप्दा समेत काम पूरा नगरी ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ  । ठेकेदार कम्पनीले समयसीमामा काम नसक्दा विकास आयोजनामा नकारात्मक असर परेको सरकारी अधिकारीहरुको भनाइ छ।

सम्झौता अनुसार २०१७ डिसेम्बरमा सक्नुपर्ने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ठेकेदार कम्पनीकै लापरबाहीले सुस्त छ । २०७१ माघ १ गते तीन वर्षभित्र  सम्पन्न गर्ने गरी शिलान्यास गरिएको विमानस्थल निर्माणको काम तोकिएको समयसीमासम्म नसक्ने देखिएपछि ६ महिना थप गरिएको छ । जस अनुसार आगामी असारमा थप भएको समयसीमा सकिने छ । थपिएको समयसीमाभित्र विमानस्थल निर्माणको काम पूरा हुने सम्भावना क्षीण बन्दै गएको छ।

गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख ओम शर्माका अनुसार, अहिलेसम्म विमानस्थल निर्माणको काम ३५ प्रतिशत पूरा भएको छ । चिनियाँ कम्पनी कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सनको लापरबाहीले विमानस्थल निर्माणको काम तीव्र हुन नसकेको निष्कर्षमा आयोजनाका अधिकारी पुगेका छन् । भूकम्प, नाकाबन्दी र निर्माण सामग्रीको अभाव भन्दै ढिलाइ गरेको चिनियाँ ठेकेदार कम्पनीले गत वर्ष २०१८ को जुनमा निर्माण सक्ने भन्दै म्याद थप्न सफल भए पनि थप समयसीमामा विमानस्थल निर्माणको काम पूरा नहुने देखिन्छ । ‘थप भएको समयसीमामा  काम सकिन्न । पुनः म्याद थपेर काम  पूरा गर्नुपर्छ,’ आयोजना प्रमुख शर्माले भने।

आयोजना अधिकारीहरुका अनुसार तोकिएको समयमा आयोजना सम्पन्न गर्न चिनियाँ कम्पनीले मासिक ६ प्रतिशतका दरले कामको प्रगति गर्नुपर्ने हुन्छ । तर उसले गर्ने कामको भौतिक प्रगतिको गति ०.५ प्रतिशत छ । सम्झौता तोड्ने सरकारी चेतावनीपछि ठेकेदार कम्पनीले अहिले एक सय चिनियाँ दक्ष कामदार विमानस्थल विस्तारमा खटाएको छ । ती कामदार तोकिएको समयसीमामा काम सक्न पर्याप्त नभएको विमानस्थल विस्तार आयोजनाका अधिकारीको भनाइ छ।

गएको चैतमा चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सनको नेपाली साझेदार कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपाल प्रालिसँग विवाद भयो । यही विवादले ६ महिना विमानस्थल विस्तारको काम ठप्प भयो । पहिलेको नेपाली साझेदार अलग भएपछि काम सुस्त गतिमा अघि बढे पनि उसँगको विवाद सकिएको छैन् ।‘नेपाली साझेदार अलग भएपछि  कामले अलि गति लिएको छ, अहिलेको गति बढाउनुपर्छ,’ भैरहवा विमानस्थल विस्तार आयोजनाका प्रमुख शर्माले भने।

अहिलेसम्म घाघरा खोला फर्काउने काम पूरा भए पनि धावनमार्ग ग्राभेलिङ, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासकिय भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन लगायतका संरचना निर्माण निकै सुस्त छ ।
विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माका अनुसार समयमै काम सक्न दैनिक दुई सयभन्दा बढी कामदार, सोही अनुरुप दक्ष प्राविधिक जनशक्ति र उपकरण प्रयोग हुनुपर्छ ।  चिनियाँ ठेकेदार कम्पनीले आयोजनाको स्वीकृतिबिना नेपाली ठेकेदार नर्थवेस्ट इन्फ्रालाई कामको जिम्मा दिएको र उसँगको विवादले विमानस्थल विस्तारको काम रोकिएको शर्माले बताए।

ठेकेदार कम्पनीकै लापरबाहीले जिल्ला प्रशासन कार्यालय पाल्पाको भवन दुईपल्ट म्याद थप्दा समेत पूरा नभएपछि तेस्रोपल्ट म्याद थपको निवेदन परेको छ ।  सूर्यचन्द्र कन्स्ट्रक्सनले २०७१ असार १२ गते २०७३ पुस ११ गते काम सक्ने गरी चार करोड ९५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको थियो।

तोकिएको समयसीमामा काम गर्न नसकेपछि ६ महिनामा सक्ने भन्दै २०७४ असार ११  गतेसम्मको म्याद थप भयो । थप भएको ६ महिनामा पनि काम पूरा नभएपछि दोस्रोपल्ट पुनः ६ महिना, पुस ११ गतेसम्म म्याद थप भयो । ठेक्का सम्झौताको डेढ वर्षसम्म काम नसकिएपछि एक वर्ष थप्दा बल्ल ९० प्रतिशत काम  भएको छ । ठेकेदार कम्पनीले तेस्रोपल्ट म्याद थप्न निवेदन दिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
ठेकेदार कम्पनीको कनेक्सनले समस्या
बुटवल–बेलहिया ६ लेन विस्तार आयोजनाको दुई किलोमिटर सडक चार पल्ट म्याद थप्दा कालिका, तामाङ प्यासिफिक जेभीले पूरा गर्न आलटाल गरेको छ । पटकपटक म्याद थप्न सफल ठेकेदार कम्पनी हर्जानाबाट अहिलेसम्म जोगिँदै आएको छ । यो सडक ठेक्कामा लिएका तीन ठेकेदार कम्पनीमध्ये कालिका कन्सट्रक्सन राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेको हो।

गौतम बुद्ध विमानस्थल विस्तार आयोजनाको ठेक्का चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सनले ग्लोबल टेन्डरमार्फत हात पारेको हो । तर यो कम्पनीले यहाँको साझेदार बनाएको नर्थ वेस्ट इन्फ्रा नेपाल प्रालि पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल र युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ लगायत व्यक्तिहरुको हो । चिनियाँ ठेकेदार कम्पनी र नेपाली साझेदार नर्थ वेस्ट इन्फ्रा नेपालबीचको विवादले विमानस्थल विस्तार ६ महिना अलपत्र पर्यो।

पूर्वअर्थसचिव रामेश्वर खनाल ठेकेदार कम्पनी र राजनीतिक नेतृृत्वको प्रत्यक्ष– अप्रत्यक्ष संलग्नताले विकास आयोजना समयमा सक्न ठेकेदार कम्पनीले आनाकानी  गरिरहेको बताउँछन् । ‘शक्तिको प्रयोग गरी ठेकेदार कम्पनीले समय र लागत थप्न चलखेल गर्छन्,यस्तो चलखेल हुँदा कमसल गुणस्तरमा काम भइरहेको छ,’ उनले भने ।



 

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App