१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवाको थाङ्दोरमा विद्युत् सेवा विस्तार

विद्युत् सेवाको उद्घाटन गर्दै नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घले । तस्बिर : नागरिक

रसुवा – नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको अधिकांश स्थानमा बिजुली नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेको हो।

विद्युत् विस्तार भएसँगै त्यहाँका एक सय ३७ घरधुरी लाभान्वित भएका छन्।राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्नुअघि यार्सामा दुईवटा लघु जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको थियो । ३३ महिनाअघि गएको भूकम्पले लघु जलविद्युत् आयोजना पूर्ण नष्ट गरेपछि त्यहाँका पाँचवटा गाउँका तीन सयभन्दा बढी परिवार विद्युत् सेवाबाट वञ्चित हुन पुगेका थिए।

आयोजना बन्द भएपछि यार्साको थाङ्दोर, दोक्लाङ, साङ्ग्युल, बच्चा लगायत क्षेत्रका उपभोक्ता मर्कामा परेका थिए । साङ्ग्युलमा केही समयअघि विद्युत् सेवा विस्तार भइसकेको छ । अन्य क्षेत्रमा आगामी असार मसान्तभित्र विद्युत् विस्तार हुने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए ।
गाउँपालिकास्थित यार्सा र सरमथलीको केही स्थानमा बिजुली पुग्न बाँकी रहेको उनले बताए । यार्साको सिम्बन्दी, घाङ्मर, दोकलाङ, बच्चा र सरमथलीको लारच्याङमा विस्तारको काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष सृजना लामाले बताइन्।

‘विकासका लागि बिजुली आवश्यक पर्छ, गाउँमा बिजुली पुर्याउन हामीले निर्वाचित हुनुपूर्व नै पहल थालेका थियौं,’ उनले भनिन्, ‘असारसम्ममा सबै घरमा बिजुली बाल्न ठेकेदारलाई घच्घचयाइरहेका छौं ।’ यो आर्थिक वर्षभित्र गाउँपालिकाको सबै घरमा बिजुली पुग्ने प्राधिकरणले जनाएको छ ।जिल्लामा भूकम्प जानुपूर्व पाँचवटा लघु जलविद्युत् आयोजना सञ्चालनमा थिए । भूकम्पले क्षति गरेपछि ती आयोजना अहिले बन्द छन् । विद्युत् नपुगेको ठाउँमा अहिले धमाधम राष्ट्रिय प्रसारण लाइन विस्तार भइरहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे केन्द्रले जानकारी दिएको छ ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App