१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चोरीका मोटरसाइकल किन्दै प्रहरी

सर्लाहीको हरिवन प्रहरीले आइतबार बिहान उखुबारीमा बरामद गरेको पल्सर मोटरसाइकल । तस्बीर : टंक क्षेत्री-नागरिक

सर्लाही –मोटरसाइकल हराउने घटना निरन्तर वृद्धि हुने तर चोरीमा संलग्न हुनेहरू पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ । चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो।

 केही दिनअघि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले रौतहट प्रहरीको सहयोगमा सर्लाहीको मिलनचोकस्थित जीवन गैरेको घरमा राखेको ना ४८ प ४३८३ नम्बरको पल्सर मोटरसाइकल किन्ने बहानामा नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल बेच्न खोजेका चन्द्रपुर नगरपालिका–८ बस्ने अनुकेशकुमार चौधरीलाई प्रहरीले किन्ने बहानामा नियन्त्रणमा लिएको थियो।

‘विशेष सुराकीका आधारमा चोरीको उक्त मोटरसाइकल रौतहटमा बिक्रीमा छ भन्ने थाहा पायाै,’ इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले भने, ‘रौतहट प्रहरीको सहयोगमा सादा पोसाकको टोली खटाएर ५० हजार रुपैयाँ मूल्य राखिएको उक्त मोटरसाइकल १५ हजार बैना दिएर हरिवन ल्यायौं ।’ बाँकी रकम हरिवनमा दिने भन्दै अभियुक्त चौधरीलाई समेत सँगै ल्याई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

अभियुक्त चौधरी जिल्ला अदालत सर्लाहीको आदेशअनुसार १ लाख २५ हजार धरौटीमा छुटेका छन् । प्रहरीले धनी जीवन गैरेलाई चोरी भएको मोटरसाइकल उपलब्ध गराइसकेको छ । ‘जे होस् प्रहरीले चोरी भएको मोटरसाइकल फिर्ता गराइदियो,’ गैरेले नागरिकसँग भने, ‘उहाँहरूको अथक प्रयासको कदर गर्छु ।’ चोरीका घटना निरन्तर बढेपछि चोरीमा संलग्नलाई नियन्त्रणमा लिनका लागि मोटरसाइकल किन्ने नयाँ जुक्ति अपनाएको प्रहरीको भनाइ छ।

त्यस्तै गत फागुन ५ गते राति हरिवन नगरपालिका–३ निवासी बमबहादुर मोक्तानको घरबाटै चोरी भएको ज २ प २४३९ नम्बरको पल्सर मोटरसाइकल आइतबार हरिवन प्रहरीले स्थानीय उखुबारीमा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा स्थानीय १५ वर्षीय राजेश महतो, १४ वर्षीय श्रीकान्तकुमार र १६ वर्षीय मनिष महतोलाई पक्राउ गरी चोरी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले बताए ।चार महिनायता पूर्वपश्चिम राजमार्ग क्षेत्रबाट हराएका ७ वटा मोटरसाइकलमध्ये ५ वटा फेला परिसकेको हरिवन प्रहरीले जनाएको छ । फेलापरेकामध्ये ४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइसकिएको र एउटा मोटरसाइकल अदालती मुद्दा प्रक्रियामा रहेको थापाले जनाए।

विगतमा चोरीका मोटरसाइकलमात्र फेला पर्ने तर चोरीमा संलग्न पक्राउ नपर्ने स्थिति थियो । तर, अहिले हरिवन प्रहरीले चोरीका मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । चोरीका आरोपमा पक्राउ परी कारबाही प्रक्रिया अगाडि बढाइएका अभियुक्तमध्ये हरिवन–११ निवासी इनुस साह फकिर ३५ हजार र हरिवन–८ बस्ने धनबहादुर भुजेल १५ हजार ५०० रुपैयाँ धरौटीमा जिल्ला अदालतको आदेशअनुसार छुटेका छन् । अन्य ३ जनाविरुद्ध मुद्दा प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App