१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘नाका’ र ‘मंगलम’ मोफसल प्रचारमा

मकवानपुर – फिल्म ‘नाका’ र ‘मंगलम्’ टोली प्रचारप्रसारका लागि देश दौडाहामा रहेको छन्। फागु पूर्णिमाका दिन बिहीबारदेखि रिलिज हुने नाका र अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने मंगलम् टोली मोफसल यात्रामा छन्।

दुवै फिल्मको टोली सोमबार प्रदेश नम्बर ३ को राजधानी हेटौंडा आईपुगे र फिल्मबारे पत्रकार सम्मेलन गरे। फिल्म नाकाका प्रमुख कलाकार एवम् नायक विपिन कार्कीले फिल्ममा नयाँ स्वाद रहेको दाबी गर्दै दर्शकहरुले मन पराउने बताए। फिल्ममा गोल्डी नामक पात्रको रुपमा देखिने उनले फिल्म युवा बर्गलाई बिशेष लक्षित रहेको खुलाशा गरे। ‘मैले पुरै शक्ति लगाएर फिल्ममा अभिनय गरेको छु,’ उनले भने, ‘नयाँ लुक्स र चरित्र दर्शकको मनमा बस्ने आशा गरेको छु।’ फिल्म पशुपतिप्रसादमा ‘भस्मे डन’, छड्केमा ‘विन्दु माझी’ र जात्रामा ‘फणीन्द्र’को चरित्र निभाएका उनको स्वर, संवाद, अभिनय र लुक्सलाई दर्शकले निक्कै मन पराएका थिए।

लेखन र निर्देशन अमित श्रेष्ठको रहेको फिल्मबाट थिन्ले ल्हामुले नायिकामा ‘डेब्यु’ गर्दै छिन्। तिव्बती युवती ‘सोनम’को भूमिकामा रहेको बताउँदै उनले नेपाल–चिन सिमामा हुने तस्करीमा आफ्नो भुमिका केन्द्रित रहेको खुलाईन्। उनले पहिलो फिल्मबाट आउने दर्शकको प्रक्रियाबाट आगामी फिल्ममा सुधार्दै अघि बढ्ने पनि बताईन्।

मिडिया पोर्टको ब्यानरमा करिब ९० लाख रुपैंयामा निर्मित फिल्मलाई प्रविण टक्की कार्कीले निर्माण गरेका हुन्। सीमा क्षेत्रमा हुने तस्करीलाई प्रमुख बिषय बनाईएको फिल्ममा प्रेम, रोमान्स र रमाईलो पनि रहेको निर्माता कार्कीले बताए। फिल्मको दृष्य, बिषय, अभिनय र निर्माण पक्ष मजबुद रहेको दाबी गर्दै उनले करिब आधा दर्जन बढी फिल्ममा अभिनय गरेपनि विपिनको परिचय ‘भस्मे डन’मै सिमित रहेकोमा ‘गोल्डी’ले विस्थापित गर्ने तर्क गरे। चीनको तिब्बतबाट नेपालको बाह्रबिसे हुँदै भारतको धर्मशाला जाने तिब्बतीलाई नाका कटाइदिने बिषय, पात्र, दृष्य, संवाद नौलो प्रयोग भएको उनले जिकिर गरे।

फिल्ममा गायक शिव मुखिया, रोबिन तामाङ, प्रकाश गन्धर्व, सजन थापा मगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई, घनश्याम जोशी लगाएतको अभिनय छ। शनिबार पोखराबाट शुरु गरेको नाका टोलीले प्रचारको अभियान आईतबार बुटवल र नारायणगढमा पत्रकार भेटघाट गरेको थियो।

उता, फिल्म प्रदर्शन पहिले नै ‘पर्ख पर्ख मायालु’ बोलको गीत अत्यधिक चर्चामा रहेको ‘मंगलम्’ फिल्म टोली पनि प्रचारप्रसारमा व्यस्त छ। पूर्वी नेपालको विर्तामोड, दमक, ईटहरी, धरान लगाएतका स्थानमा पुगेर फर्केको मंगलम् टोली नारायणगढ, बुटवल हुँदै पोखरासम्म पुग्ने बताईएको छ।

पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता छविराज ओझाले बिषय सामान्य भएपनि गहन उठान र सशक्त प्रस्तुतीले दर्शकको मन छुने बताए। ‘मंगलम् मेरो २३ औं फिल्म हो,’ उनले भने, ‘फिल्मी क्षेत्रको ३० बर्षे अनुभवलाई मैले फिल्ममा निखार्ने प्रयास गरेको छु।’

प्रस्तुतकर्ता समेत रहेकी नायिका शिल्पा पोखरेलले फिल्म राम्रो बनेको बताउँदै दर्शकको माया पाउनेमा ढुक्क रहेको बताईन्। नायक पुष्प खड्काले फिल्म सामाजिक नयाँ प्रेमकथामा आधारित रहेको खुलासा गरे। ‘प्रेमी, श्रीमान्, परिवारको सदस्यको भुमिका निर्वाह गरेको छु,’ उनले भने, ‘खराब परिस्थितीमा परिवार सम्हाल्नु पर्छ भन्ने सन्देश फिल्मको छ।’ दुःखान्त प्रेमकथालाई समावेश गरिएको फिल्ममा प्रेम वियोगमा परेर अपाङ्ग भएको व्यक्तिको भूमिकामा पुष्पले अभिनय गरेका छन्।

निर्देशक नवल नेपालले ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु’ भन्ने नेपाली उखानलाई फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको बताए। पारिवारिक पृष्ठभुमीमा परिपक्क प्रेमकथा रहेको दाबी गर्दै उनले २ बर्षको प्रयासमा फिल्म दर्शक सामु आउन लागेको बताए। जतिसुकै प्रविधिको विकास र प्रयोग बढेपनि मानवीय समवेदनामा अर्को मानिसकै साथ र सहयोग महत्वपूर्ण हुने सन्देश फिल्मले दिने निर्देशक नेपालको भनाइ छ।

एक करोड ५ लाख रुपैंयामा निर्माण भएको फिल्ममा बिषयवस्तु, पात्र, अभिनय, छायाँङ्कन, कथा, संगीतसहित सवै पक्ष सशक्त रहेको कार्यकारी निर्माता ओझाले बताए। कलाकारहरु पृथ्वीराज प्रसाईं, मिथिला शर्मा, नीर शाहको पनि प्रमुख भुमिका रहेको फिल्ममा चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अतिथि भुमिका रहेको छ। दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ्ग निर्माता रहेको फिल्ममा विष्णु ‘कल्पीत’ घिमिरेको छायाँङ्कन, दीपक शर्माको संगीत र  गोविन्द फुयालको कथा रहेको छ। छबिराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नायिका पोखरेलले फिल्म निर्माणमा ‘डेब्यू’ गरेकी छिन्।

प्रकाशित: १४ फाल्गुन २०७४ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App