१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

न्युजिल्यान्डको रोमाञ्चक जित

ह्यामिल्टन– रोस टेलरको शतक तथा मिचेल सान्टनरको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा आइतबार अन्तिम ओभरमा इङ्ल्यान्डमाथि ३ विकेटको विजयी नतिजा निकालेको छ।घरेलु टोलीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो ।

अन्तिम ओभर लिएर आएका क्रिस ओक्सको पहिलो बलमै सान्टनरले चौका प्रहार गरे । ओक्सले अर्को बल वाइड फाले । लगत्तै अर्को बललाई सान्टनरले मिडविकेटतर्फ छक्का हानेपछि २ सय ८४ रनको लक्ष्य न्युजिल्यान्डले ४ बलअघि ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले ८ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो।

रोस टेलरले १ सय १३ तथा टोम लाथमले ७९ रन जोड्दै न्युजिल्यान्डको जितको आधार तय गरेका थिए । १ सय १६ बलमा १२ चौका प्रहार गरेका टेलर र ८४ बलमा ६ छक्का प्रहार गरेका लाथमले चौथो विकेटका लागि १ सय ७८ रनको साझेदारी गरेका थिए।

ओपनर र मध्यक्रमका अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेको अवस्थामा सान्टनरले आक्रामक इनिङ खेल्दै टोलीलाई जिताएका थिए । सान्टनरले २७ बलमा ४ छक्का र २ चौकासहित अविजित ४५ रन जोडे ।‘टेलर र लाथमको साझेदारी तोडेपछि खेल हाम्रो पक्षमा आयो भन्ने सोचेका थियौं । तर अन्तिममा हाम्रो मिहिनेत पर्याप्त भएन,’ इङ्ल्यान्डका कप्तान मोर्गानले भने । दिवारात्रि एकदिवसीय खेलमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इङ्लयान्डको इनिङमा ओसिलो मैदानका कारण खेल आफ्नो पक्षमा परेको स्विकारे।

‘मैदान ओसिलो हुनुभन्दा पहिले हामीले राम्रो प्रदर्शन गरेका थियौं । तर आजको जितमा ओसिलो मैदान कारण बन्यो,’ न्युजिल्यान्डका कप्तान विलियम्सले भने, ‘अन्तिम ओभरमा बलिङ गर्नेहरूलाई जितको श्रेय जान्छ । अन्तिम १० ओभरमा ७० रनमात्र दिनु धेरै राम्रो हो । टेलर र लाथमले पनि उत्कृष्ट साझेदारी गरे । तर सान्टनरको आक्रामक इनिङले हामीलाई जोगायो।’

न्युजिल्यान्डको सुरुआत सुखद थिएन । टोलीले १० ओभरमा २७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि टेलरले १८औं शतक पूरा गर्दै लाथमसँग १ सय ७८ रनको साझेदारीले गर्दै घरेलु टोलीलाई जिततर्फ डोर्याएका थिए । इङ्ल्यान्डका ओक्स र वेन स्टोक्सले समान २÷२ विकेट लिए ।त्यसअघि इङ्ल्यान्डका लागि जोस बटलरले ७९, जोए रुटले ७१, जेसन रोएले ४९ तथा मोइन अलीले २८ रन बनाए । न्युजिल्यान्डका टे«न्ड बोल्ट, सान्टनर र इश शोधीले २÷२ विकेट लिए ।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App