१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

केनको गोलमा टोटेनह्याम विजयी

लन्डन– स्ट्राइकर ह्यारी केनको निर्णायक गोलमा आइतबार इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई १–० को नतिजामा पराजित गरेको छ ।खेल सकिन १ मिनेट बाँकी हुँदा केनले क्रिस्टियन इरिक्सनको पासलाई पोस्टको दिशा दिँदै टोटेनह्यामको लागि तीन अंक पक्का गरेका थिए ।यस जितपछि २८ खेलमा ५५ अंक जोडेको टोटेनह्याम चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २७ अंक जोडेको प्यालेस १७औं स्थानमा छ।

मोहम्मद सालाहले लगातार छैटौं खेलमा पनि गोल गर्ने लयलाई निरन्तरता दिँदा लिभरपुलले अघिल्लो दिन शनिबार घरेलु मैदान एन्फिल्डमा वेस्ट ह्यामलाई ४–१ ले पराजित गरेको थियो ।प्रशिक्षक योर्गान क्लोपले ‘हेर्न लायक रोमाञ्चक खेलको’ संज्ञा दिएको जितपछि लिभरपुल म्यानचेस्टर युनाइटेडलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । २८ खेलमा लिभरपुलको ५७ र एक खेल कम खेलेको युनाइटेडको ५६ अंक छ।

क्लोपको टोलीको जितमा सालाह, इमरे क्यान, रोबर्टो फिर्मिन्हो र साडियो मानेले १-१ गोल गरे ।‘एउटा प्रशिक्षकले सधै टोलीबाट उत्कृष्ट प्रदर्शनका साथ सुखद नतिजा हात पारेको हेर्न चाहन्छ,’ क्लोपले भने, ‘मेरो टोलीले आज त्यस्तै गर्यो । यो साँच्चै रोमाञ्चक खेल थियो । टोलीले आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गरेको छ।’

२९औं मिनेटमा क्यानले सालाहको पासमा गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । मध्यान्तरपछिको छैटौं मिनेटमा सालाहले गोल गर्र्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । सालाहले एलेक्स अक्सलाडे चेम्बरलिनको पासलाई जाली चुमाएका थिए । जारी सिजन सालाहको प्रिमियर लिगमा यो २३औं गोल हो । उनी टोटेनह्यामका ह्यारी केनसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको अग्रस्थानमा छन् ।५७औं  मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता ३–० मा पुर्याएका थिए । त्यसको २ मिनेटपछि मिचेल एन्टोनियोले गाेल गवेस्ट ह्यामलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर खेल सकिन १३ मिनेट बाँकी रहँदा मानेले एन्ड्रयु रोबर्टसनको पासमा गोल गर्दै लिभरपुलको सजह जित पक्का गरेका थिए ।‘लिभरपुल यस्तो टोली हो, जो अहिले उत्कृष्ट लयमा छ,’ वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयेसले भने, ‘हाम्रो टोलीले उनीहरूको अग्रपंक्तिलाई रोक्न नसक्दा नतिजा सुम्पन बाध्य भयौं ।’
त्यस्तै ब्राइटनले स्वान्सी सिटीलाई ४–१ ले पराजित गर्यो । ब्राइटनको जितमा ग्लेन मरेले २ र एन्थोनी नक्एर्टले एक गोल गर्दा स्वान्सीका लुइस डंकले आत्मघाती गोल गरेका थिए । स्वान्सीका योर्गान लोकाडियाले सान्त्वनास्वरूप एक गोल फर्काए।

यस जितपछि २८ खेलमा ३१ अंक जोडेको ब्राइटन १२औं स्थानमा उक्लिँदा समान खेलमा २७ अंक जोडेको स्वान्सी १८औं स्थानमा छ ।इङ्लिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा हडर्सफिल्डले वेस्ट ब्रोमलाई २–१ को नतिजामा पराजित गर्दा वाट्फोर्डले एभर्टनलाई १–० ले हरायो । त्यस्तै बर्नमाउथ र न्युक्यासल युनाइटेडले २–२ तथा स्टोक सिटी र लेस्टर सिटीले १–१ को बराबरी खेले ।
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App