१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार्जमा राखेको मोबाइलबाट घरमा आगलागी

सर्लाही – सर्लाहीको वागमती नगरपालिका स्थित चार्जमा राखेको मोबाइल पड्किँदा घरमा आगलागी भएको छ। 

सामसुङ कम्पनीको मोबाइल पड्कदा निस्केको आगोले आइतबार दिउँसो वागमती नगरपालिका–४ स्थित अनिल थापाको घरमा आगलागी भएको उक्त वडाका अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिए। ‘दिउँसो घरमा मोबाइल चार्जमा राखेर घरका मान्छे बारीमा काम गर्न गएछन्’, वडाअध्यक्ष लामाले भने, ‘अचानक मोबाइल पड्केपछि निस्केको आगोले ओछ्यान भेटेपछि घरमा आगो लागेछ।’

घरबाट धुवाँको मुस्लो निस्केको देखेपछि गाउँलेहरु जम्मा भएर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष लामाले जानकारी दिए। ‘घरमा एक्लै बुढी मान्छे हुनुहुदो रहेछ’, उनले भने, ‘गाउँलेहरु जम्मा भएर आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन।’

३ वटा कोठा भएको घरको एउटा कोठामा राखेको लत्ता कपडा लगायत विभिन्न सामग्रीहरु जलेर नष्ट भएको छ। आगलागीबाट १ लाख रुपैंया भन्दा बढीको धनमाल नष्ट भएको लामाले जानकारी दिए। 

मोबाइल वा चार्जर मध्ये के पड्केको हो भन्ने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। आगलागी घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो।

बजारमा सस्तोमा पाईने कमसल खालका मोबाईल एवं चार्जर प्रयोग बढ्दै गएपछि सर्ट भएर आगलागी लगायतको घटनाको जोखिम बढेको प्राविधिकहरु बताउँछन्।

प्रकाशित: १३ फाल्गुन २०७४ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App