१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

उपत्यकामा किन गोरुले जोतिँदैन ?

नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी खेतीपाती गरिँदै आएको मानिन्छ । प्रविधिको विकाससँगै यहाँ केही वर्ष अघिदेखि ट्र्याक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्दत पुर्‍याएको थियो । तर, ट्र्याक्टर आउनुअघि यहाँका रैथाने समुदायले परम्परागत औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गर्थे । संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ । गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरू बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहन मानिन्छ । उपत्यकाभित्र गोरुलाई महादेवको वाहन मानेर पुज्ने चलन अझै पनि कायम छ । ‘गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रूपमा लिइन्छ । त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ,’ उनले भने, ‘उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्रै हो ।’ उनले पहिले–पहिले जोत्न नपाइने भने पनि काँठ क्षेत्रका केही मानिसले जोत्न थालेको बताए। 

‘उपत्यकामा हलो र गोरु प्रयोग गरेर खेतीपाती गर्नै हुन्न भन्ने पुरानो परम्परा हो,’ जोशीले भने, ‘यहाँ अहिलेसम्म अलिकति जोगिएको र सबैले मानेको संस्कृति हलो जोत्न नहुने नै हो, जुन हालसम्म पनि कायमै छ।’

‘गोरुलाई महादेवका वाहन मानिन्छ । उपत्यकाभित्र गोरुलाई महादेवको वाहन मानेर पुज्ने चलन अझै पनि कायम छ । त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ।’

उनले महिलाले पनि गोरु नारेर हलो जोत्न नहुने किंवदन्ती रहेको बताए । ‘उहिले पोखरा क्षेत्रमा महिलाले हलो जोत्न थालेको थाहा पाएपछि त्यसलाई हेर्नै नहुने भन्दै सेती नदी जमिन मुनिबाट बगेकी थिइन भन्ने किंवदन्ती छ,’ उनले भने, ‘यो प्रचलित किंवदन्ती नै हो।’

त्यसो त अहिले पनि पोखरातिर लोग्नेमान्छे हुँदाहुँदै महिलाले हलो जोत्दैनन् । ‘नेपाली समाजमा महिलाले हलो जोत्नु अझै पनि अनौठो मानिन्छ,’ जोशी भन्छन्, ‘राणाकालसम्म बाहुन जातिले पनि हलो जोत्दैनथे, राणाकालको अन्तिमतिर लमजुङको दुराडाँडाका बाहुन  नेता र सामाजिक अभियन्ताले सामूहिक रूपमा हलो जोत्न प्रारम्भ गरेका थिए ।’ त्यसलगत्तै उपत्यकाभन्दा बाहिर सबै समुदायका पुरुषले हलो जोत्न थालेको उनले बताए । यो अभियानलाई बढाउन र हलो जोत्ने काममा समानता ल्याउन २००७ सालपछि पोखराको फेवा फाँटमा बाहुन, क्षत्री र नेवार समुदायका व्यक्तिले सामूहिक हलो जोतेका थिए । 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App