१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डाइभ हानेर दौडको स्वर्ण

रियो द जेनेरियो–अमेरिकी धाविका एलिसन फेलिक्सलाई नाटकीय ढंगले उछिन्दै बहमासकी सन मिलरले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन् । रोमाञ्चक बनेको महिला ४०० मिटर दौडमा मिलरले स्वर्ण जितेकी हुन् । दौडको फिनिसिङ प्वाइन्टमा डाइभ गर्दै टाउकोले फिनिसिङ टच गरेपछि मिलरले स्वर्ण चुमिन् । अन्त्यतिर उनले सुपर वुमन जस्तै गरी डाइभ गरिन् ।

२२ वर्षीया धाविका मिलरले सुरुआतमै अग्रता लिएकी थिइन् । त्यसपछि फेलिक्स उनलाई पछ्याउँदै नजिक पुगेकी थिइन् । अन्तिम दुई पाइला बाँकी रहँदा मिलरले डाइभ हानेर .०७ सेकेन्डले विपक्षीलाई पछि पारिन् । त्यो दौड फेलिक्सका लागि महŒवपूर्ण थियो । तर त्यसमा मिलरले खुसी मनाउने अवसर पाइन् । उनले जस्तै नाटकीय रूपमा डाइभ गरेर स्वर्ण जितेको दृश्य अहिलेसम्म कुनै ओलम्पिकमा देखिएको थिएन ।
तर त्यो योजनावद्ध रूपमा गरिएको डाइभ नभएको मिलरले बताइन् । उनले भनिन्, ‘के भएको थियो मलाई थाहा भएन । मेरो दिमाग खालि थियो ।

मैले एउटै कुरामात्र सोचिरहेको थिएँ– त्यो हो स्वर्ण पदक जित्ने । अर्को कुरा मलाई थाहा थियो म मैदानमा छु भन्ने ।’ अहिलेसम्म उनी त्यति ठूलो आवाजमा उत्साही भएको देखिएको थिएन । यसैगरी मंगलबार पोलभल्टमा ब्राजिलका थिएगो ब्राज डी सिल्भाले स्वर्ण पदक जितेका छन् । रियो ओलम्पिकमा सिल्भा ब्राजिललाई स्वर्ण दिलाउने दोस्रो खेलाडी हुन् । उनले ट्र्याक एन्ड फिल्डबाट ब्राजिललाई पहिलो स्वर्ण दिलाउने क्रममा ६.०३ मिटर पार गर्दै ओलम्पिकमा कीर्तिमानी प्रदर्शन गरे । उनले स्वर्ण जित्ने क्रममा विश्व कीर्तिमानधारी तथा साबिक विजेता फ्रान्सका रेनाउड लाभिलेनीलाई हराए ।

८०० मिटर दौडमा केन्याका डेविड लेकुता रुडिसाले स्वर्ण पदक जिते । तर ओलम्पिकमा सोमबार चर्चा भने मिलरको धेरै थियो । उनले युनिभर्सिटी अफ बहमासबाट आफ्नो अध्ययन र प्रशिक्षण पूरा गरेकी हुन् । ट्र्याकमा उनले सनसनीपूर्ण नतिजा निकाल्न सफल भइन् ।
पहिलोपल्ट विजेतालाई पत्ता लगाउन मानिसले स्कोर बोर्ड हेर्नुपरेको थियो । उनले ४९.४४ सेकेन्डसहित पहिलो स्थान हासिल गरिन् । उक्त दौडमा उनले फेलिक्स (४९.५१) र कांस्य विजेता जमैकन सेरिका ज्याक्सन (४९.८५) लाई पछि पारिन् ।

उनले दौड जितेपछि एक परिचित आवाज हावाले काटिदिएको थियो । मिलरले भनिन्, ‘मैले आमाले चिच्याएको सुनेको थिएँ । जब मैले चिच्याएको सुनेँ, मलाई त्यो मनप¥यो । त्यसपछि मैले दौड जितेको भन्नेमा ढुक्क भएँ ।’

 

प्रकाशित: १ भाद्र २०७३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App