१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी । तस्बिर : नागरिक

रसुवा –चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

सन् २०१७ मा १७ हजार ६ सय २० चिनियाँ र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएको अध्यागमन कार्यालयको तथ्यांकमा छ । नाकाबाट सबैभन्दा धेरै चिनियाँ भित्रने गरेका छन् भने दोस्रोमा स्विडेन, तेस्रोमा अमेरिकाका नागरिक भित्रिएका छन्।

अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार जनवरीमा तीन सय ४२, फेब्रुअरीमा पाँच सय १५, मार्चमा सात सय ८४, अप्रिलमा एक हजार एक सय ५१, मेमा दुई हजार नौ सय ५३, जुनमा दुई हजार एक सय ७२ चिनियाँ पर्यटक नेपाल आएका छन् ।त्यसैगरी जुलाइमा दुई हजार चार सय ६३, अगस्टमा दुई हजार दुई सय ८५, सेप्टेम्बरमा एक हजार नौ सय ४४, अक्टोबरमा एक हजार ८ सय ३४, नोभेम्बरमा एक हजार ६३ र डिसेम्बरमा सात सय १४ चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएका कार्यालयले जनाएको छ ।

चीन सरकारले केही महिनाअघि अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउने क्रम बढेको छ । स्विडेनका २३, अमेरिकाका १८, डेनमार्कका १७, अस्ट्रेलियाका आठ, स्विट्जरल्यान्डका ६, जर्मनका पाँच, हल्यान्डका दुई, भारतीय दुई, क्यानडा र रसियाबाट एक एकजना नागरिक नेपाल प्रवेश गरेका थिए।चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको रसुवागढी अध्यागमन  कार्यालय प्रमुख मनोज कुमार पोखरेलले बताए ।

‘चिनियाँ पर्यटकका लागि कार्यालयले एक सय ५० दिनसम्मको भिसा उपलब्ध गराउन मिल्छ,’ उनले भने, ‘तर नेपाल आएका पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् ।’ ९० प्रतिशत चिनियाँ पर्यटकले उतैबाट भिसा लगाएर आउने र १० प्रतिशत पर्यटकले अध्यागमनबाट भिसा लिने गरेको अध्यागमन प्रमुख पोखरेलको भनाइ छ । नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् ।

चिनियाँ पर्यटक नेपालमा सरदर १४ दिनसम्म बस्ने गरेका छन् । ग्रेटिङ भिसामा आएर एक सय ५० दिनसम्म बस्दा व्यापार गरेर बस्ने सम्भावना रहेको बताइन्छ । रसुवागढी नाका हुँदै दैनिक २० देखि २५ चिनियाँ नेपाल भित्रने गरेको कार्यालयको तथ्यांक छ ।


 

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App