१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीप्रति चीन आक्रोशित

बेइजिङ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति चीनले बिहीबार आक्रोश पोखेको छ ।चीनले पनि आफ्नो भन्दै दाबी गर्दै आएको भारतकोे ग्रामीण अरुणाञ्चल राज्यमा मोदीले भ्रमण गरेको भन्दै बेइजिङले आक्रोश पोखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।चीनले विवादलाई थप जटिल बनाउने गतिविधि नगर्नसमेत भारतलाई चेतावनी दिएको छ ।  

चीनले पूर्वी हिमाली क्षेत्रलाई ‘दक्षिण तिब्बत’का रूपमा परिभाषित गर्दै भारतीय नेताको उक्त क्षेत्रको भ्रमण भारतीय दाबीलाई थप बल पु¥याउन गरिएको भन्दै निन्दा गरेको छ । ‘चीन–भारत सिमानाको प्रश्नमा चीनको अवस्था समान र प्रष्ट रहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेन्ज सुहाङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

‘चिनियाँ सरकारले तथाकथित अरुणाञ्चल प्रदेशलाई कहिले पनि मान्यता दिएको छैन र विवादित क्षेत्रमा भारतीय नेताले गरेको भ्रमणको कडा शब्दमा प्रतिवाद गर्दछ,’ गेन्जले बताए । ‘भारतीय पक्षबाट जिम्मेवार प्रतिनिधित्वको हामी अपेक्षा गर्दछौं,’ उनले बताए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी भ्रमणका क्रममा हाल भारतको उत्तरी राज्यको भ्रमण गरिरहेका छन्।

‘अरुणाञ्चल प्रदेशको भ्रमण गर्न पाउँदा र यहाँका राम्रा मानिससँग हुन पाउँदा म अत्यन्तै खुसी छु,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन् ।भारत र चीनले पछिल्ला वर्षहरुमा आपसी सम्बन्धलाई सुधार गरेपनि दुई देशबीच अझै पनि लामो समयदेखि जारी सीमा विवाद कायम नै रहेको छ । सीमा विवादकै कारण यी दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । गत वर्षपनि एउटा विवादित सीमा क्षेत्रमा चिनियाँ र भारतीय सेना आमनेसामने भएका थिए।

विवादलाई राम्रोसँग समाधान गर्ने विषयमा चीन र भारतबीच महत्वपूर्ण समझदारी भएको र दुवै पक्षले सीमा विवादलाई वार्ता र समझदारीका आधारमा समाधान गर्न काम गरिरहेको चिनियाँ विदेशमन्त्री गेन्जले बताएका छन् ।‘भारतलाई आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न र उचित समझदारीमा बाँधिनुका साथै सिमानाको विषय थप जटिल बन्ने कदम नचाल्न आग्रह गर्दछौं,’ गेन्जले बताए ।

चिनियाँ र रुसी नेतृत्वको सांघाई सहयोग संगठन सुरक्षा ब्लकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्षको जुन महिनामा चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ ।अरुणाञ्चल प्रदेशको भ्रमणका क्रममा मोदीले राज्य राजधानी इटानगरमा एउटा सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । सम्मेलन केन्द्र उद्घाटन गर्ने क्रममा उनले राज्य प्रशासनले २०२७ सम्मका लागि विकासको उत्कृष्ट रोडम्याप तयार पारेको बताएका थिए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App