१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं- किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।

सम्मेलनमा ३० भन्दा बढी सामाजिक उद्यमीको कथा प्रस्तुत गरिनुका साथै विश्वका ७ विख्यात वक्ताको प्रस्तुति पनि रहने कलेजले जानकारी दिएको छ। सम्मेलनले सामाजिक उद्यम क्षेत्रको विकास तथा वृद्धिका लागि सञ्जाल निर्माण (नेटवर्किङ)को अवसर खोजिरहेका व्यक्तिका लागि मञ्चको भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

'सामाजिक उद्यमशीलतामार्फत नेपालको पुनर्निर्माण' विषय रहेको उक्त सम्मेलनले ०७२ वैशाख १२ को भूकम्पपछि नेपालको पुनर्निर्माणका प्रयासमा उद्यमशीलताले दिनसक्ने योगदानबारे पनि छलफल हुने जनाइएको छ। सम्मेलनमा प्रस्तुत हुने प्राज्ञिक शोधपत्रले पुनर्निर्माणका मापनीय, सम्भव र अनुकरणीय नमूनाबारे छलफल गर्ने बताइएको छ।

'हाम्रो उद्देश्य भनेको नेपाल र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकास गर्न अहम् भूमिका खेलिरहेका व्यक्ति तथा संस्थालाई एकै छानामुनि ल्याउनु हो,' सम्मेलनबारे बोल्दै किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने, 'एउटा प्राज्ञिक संस्थाको रूपमा किङ्स कलेजले राष्ट्र पुनर्निर्माणमा उद्यमशीलता एउटा प्रभावकारी, समावेशी र प्रमाणित तरिका हो।'

सम्मेलनले सामाजिक उद्यमी, लगानीकर्ता, प्राज्ञिक क्षेत्र तथा सामुदायका सदस्यलाई एकै ठाउँमा ल्याउने र उनीहरूले एकअर्कासँग आफ्नो अनुभव साट्दै हाम्रो सामूहिक प्रभावलाई सुदृढ बनाउने आशा गरेको अर्यालले बताए।

नेपाली सामाजिक उद्यमीको अलावा सम्मेलनमा टाटा इन्स्टिच्युट अफ सोसल साइन्सको स्कुल अफ म्यानेजमेन्ट एन्ड लेबर स्टडिजमा रहेको सामाजिक उद्यमशीलता केन्द्रका अध्यक्ष प्राध्यापक सत्यजित मजुमदार, बेलायतको एस्सेक्स बिजनेस स्कुलका अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक प्राध्यापक जय मित्र र गियर अप भेन्चरकी सह–संस्थापक लेना रामफेल्टको उपस्थिति रहनेछ। त्यस्तै बुन्दका कार्यकारी निर्देशक रुस्तम सेनगुप्ता, इनोभेन्टका ग्लोबल निर्देशक बिपुल कुमार तथा एप्पल इन्कका सिद्धार्थ राझन्स्ले सम्मलेनमा सहभागी भई आ–आफ्ना धारणा प्रस्तुत गर्ने जानकारी गराइयो।

सम्मेलनमा सामाजिक उद्यमशीलताबारे नेपालमा गरिएको पहिलो प्रमुख शोधको नतिजा सार्वजनिक गरिने छ। सोसल इन्टरप्राइज एक्टिभेसन (एसइए)द्वारा प्रमाणित तथा किङ्स कलेजद्वारा गरिएको उक्त शोधले नेपालमा सामाजिक उद्यमको अवस्थाबारे प्रकाश पार्ने बताइएको छ।

प्रकाशित: ७ असार २०७३ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App