१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच सदस्यको मतपरिणाम सार्वजनिक, को को भए विजयी (अपडेट)

कास्की- राष्ट्रियसभाका पाँच सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सुरुमा माओवादीका खिमबहादुर विक दलिततर्फबाट विजयी भएका थिए । उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन् । प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर नेपालीले भने २ हजार २ सय ९८ मतभार ल्याएका थिए । उक्त पदमा ६ मत बदर भएका थिए।

उनी बहुमतीय विधि अनुसार विजयी भएका हुन् । यस्तै, एकल संक्रमणिय विधिबाट थप तीन सदस्य विजयी भएका छन्। निर्वाचन कार्यालयले महिलातर्फबाट राष्ट्रियसभामा भाग लिने सदस्यहरुको मतपरिणाम सार्वजनिक गरेको हो । विजयी हुनेमा कांग्रेसबाट वृन्दा आलेमगर, एमालेबाट शान्ति अधिकारी र दिपा गुरुङ विजयी भएका हुन्। उनीहरुले क्रमश: २ हजार २ सय ७४, १ हजार ५ सय १२ र १ हजार ७ सय १६ मतभार ल्याएका थिए । महिलातर्फ को मतगणनामा कुल ७ मत बदर भएका छन् । महिलातर्फका उम्मेदवारको मतगणना एकल संक्रमणिय विधिबाट गरिएको हो । यो विधिअनुसार राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन १ हजार ४ सय ८६ मतभार ल्याउनुपर्ने हुन्छ।

क्षेत्रीय निर्वाचन कार्यालयले मतदान पश्चात सुरुमा दलिततर्फका उम्मेदवारको मतगणना गरेको थियो। दलिततर्फको नजिता सार्वजनिक पश्चात महिलातर्फको मतगाणना गरि सार्वजनिक गरिएको हो। यो सँगै प्रदेश ४ बाट दलित, अपाङ्ग र महिलातर्फका उम्मेदवारको मतपरिणाम आईसकेको छ । अपाङ्गतर्फ कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध भईसकेका छन्।

अन्तिममा खुलातर्फको मतगणना गरिने र राष्ट्रियसभा सदस्यमा विजयी हुनेहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जनाए। महिला र खुलातर्फको हकमा भने एकल संक्रमणिय विधिबाट मतगणना हुनेछ।

प्रदेश ४ बाट कुल ८ जनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनेछन्। विजयी उम्मेदवारहरुलाई बिहीबार प्रमाणपत्र वितरण गरिनेछ।

प्रकाशित: २४ माघ २०७४ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App