१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दिपक मनाङे नआउँदा प्रदेश ४ मा ४८ मतभार नोक्सान

कास्की- बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ४ मा एक जना प्रदेश सभा सदस्य बाहेक सबैले मतदान गरेका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा नआएका हुन्। उनले मतदान नगर्दा प्रदेश नं. ४ मा ४८ मतभारको नोक्सान भएको छ।

मतदान केन्द्र तोकिएको लोकसेवा आयोगको क्षेत्रिय  कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान प्रक्रिया चलेको थियो।

मतदानमा अरु ५९ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् भने स्थानीय तहका सबै प्रमुख/उपप्रमुख मतदानमा सहभागी भएका थिए। मतदान गर्नेमा प्रदेशसभा सदस्यतर्फ ३९ पुरुष र २० महिला रहेका छन्। स्थानीय तहका प्रमुख/उपप्रमुखतर्फ ९३ जना पुरुष र ७७ जना महिलाले मतदान गरेका थिए।

संवैधानिक व्यवस्था बमोजिम राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन्। तर उनीहरुको मतभार भने फरकफरक रहनेछ।

प्रदेश नं. ४ मा कुल मतभार ५ हजार ९ सय ४० रहेका छ। यसमा ६० जना प्रदेशससभा सदस्यको ४८ का दरले २ हजार ८ सय ८० र ८५ स्थानीय तहका १ सय ७० प्रमुख/उपप्रमुखको १८ का दरले ३ हजार ६० मतभार रहेको छ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन उम्मेदवारले १ हजार ४ सय ८६ मतभार ल्याउनुपर्नेछ। यो प्रदेशबाट कुल ८ जनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउने भएतापनि अपाङ्गतर्फ भने नेपाली कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भईसकेका छन्। बाँकी रहेका पुरुष ३, महिला ३ र दलिततर्फको १ पदका लागि निर्वाचन भएको हो।

७ पदका लागि भएको निर्वाचनमा ४ दलका १० जना उम्मेदवार रहेका छन्।

मतदान सकिएसँगै बुधबार नै अपरान्ह ४ बजेदेखि मतगणना सुरु भएको छ। क्षेत्रीय निर्वाचनको कार्यालयमा चार दलका १/१ जना प्रतिनिधीको रोहवरमा मतगणना हुने क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिए।

सुरुमा दलिततर्फको मतगणना हुनेछ । दलिततर्फको मतगणना पश्चात निर्वाचन परिणाम सार्वजनिक गरेर महिलातर्फको मतगणना गरिने उनले जनाए । अन्तिममा पुरुषतर्फको मतगणना हुनेछ ।

प्रकाशित: २४ माघ २०७४ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App