१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खच्चडबाट मासिक डेढ लाख कमाइ

गाउँमा घर निर्माणका लागि सामग्री लिन सदरमुकाम धुन्चे आएका खच्चड व्यवसायी सण्डु तामाङ । खच्चडमा सिमेन्ट लोड गर्दै ।तस्बिर : नागरिक

रसुवा  – रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ हाकुका सण्डु तामाङले विदेश जानका लागि राहदानी र ५० हजार रुपैयाँ म्यानपारमा बुझाएको एक वर्ष बित्यो ।

चार वर्षदेखि गाउँमै खच्चड व्यवसाय सञ्चालन गरिरहेका तामाङलाई विदेश जाने भूत चढेको थियो । त्यो भन्दा पहिले पनि दुईपटक मलेसिया पुगिसकेका तामाङले तेस्रोपटक विदेश जान एक म्यानपावर कम्पनीमा पासपोर्ट र ५० हजार रुपैयाँ बुझाएका थिए ।

पछिल्लो समय गाउँमा खच्चड व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि उनले विदेश जाने सपना देख्न छाडे । त्यसपछि उनी खच्च्ड व्यवसायमा निकै व्यस्त भए । ‘आम्दानी बढ्दै गएपछि विदेश जान मनै लागेन,’ उनले नागरिकसँग भने, ‘म्यानपावरमा छाडेको पैसा र पासपोर्ट लिन जान समय नै मिलेको छैन।’गाउँमा बसेर मासिक डेड लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनलाई अहिलेसम्म पनि म्यानपावर जान फुर्सद  मिलेको छैन । ‘आफूलाई काठमाडौं जाने फुर्सद छैन ।

अहिले त म्यानपावरले फोन नै उठाउन छाडेको छ,’ उनले भने, ‘फोन उठायो भने काठमाडौं जानु पर्ला ।’तामाङले महिनामा २६ दिनसम्म गाउँमा सामग्री ढुवानीको काम गर्छन् । चारवटा खच्चड किनेर व्यवसाय सुरु गरेका तामाङसँग अहिले आठवटा खच्चड छन् । सयकडा चार प्रतिशत ब्याज तिर्ने सर्तमा गाउँमा नै तीन लाख ६० हजार रुपैयाँ ऋण खोजेर धादिङबाट चारवटा खच्चड किनेर व्यवसाय सुरु गरेको उनले सुनाए।

तामाङका अनुसार उनले सुरुमा ९० हजार रुपैयाँका दरले चारवटा खच्चड ल्याएका थिए । ‘पछि थप्दै जाँदा १३  वटा पुग्यो,’ तामाङले भने, ‘पाँचवटा चाहीँ बेचिदिएँ ।’ न्यूनतम ९० हजारदेखि डेड लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । खच्चड खरिदका लागि काढेको ऋण तामाङले तिरिसकेका छन् ।
अहिले यो व्यवसायबाट चारजनाको परिवारको जीविकोपार्जन चलिरहेको छ । सदरमुकाम धुन्चेबाट करिब ६ घन्टाको पैदलयात्रापछि हाकु पुग्न सकिन्छ । त्यहाँ करिब नौ सय घरधुरी रहेका छन् ।

निर्माण सामग्री ओसार्न भ्याइनभ्याइ
विगत लामो समयदेखि खच्चड व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई अहिले निर्माण सामग्री ओसार्न भ्याइनभ्याइ छ । घर निर्माणका लागि आवश्यक पर्ने बालुवा, सिमेन्ट, गिट्टीलगायत सामग्री बोक्नका लागि हाकुका खच्चड व्यवसायी अहिले जिल्ला सदरमुकाम धुन्चे र नुवाकोटको त्रिशुली पुग्ने क्रम बढेको छ ।

हाकुमा केही महिनाअघि अनुदान सम्झौता भएको थियो । अनुदान सम्झौता भएपछि हाकुमा घर निर्माण सुरु भएको छ । घर निर्माण सुरु भएसँगै खच्चड व्यवसायी निर्माण सामग्री ओसार्न व्यस्त देखिन्छन् । भूकम्प जानुपूर्व महिनाको १४ दिन सदरमुकाम आउने गरेका व्यवसायी अहिले महिनाको २६ दिनसम्म सदरमुकाम आउने गरेका छन् ।

सदरमुकामबाट मान्छेले सामग्री बोकेर लैजान कठिन हुने भएपछि खच्चडको प्रयोग गरिएको ठूलोहाकुका व्यवसायी लाचेन तामाङले बताए । उनले भने, ‘धुन्चेबाट हाकु पुग्न चार देखि ६ घन्टासम्म लाग्छ, मान्छेले सामान बोकेर जान गाह्रो हुन्छ ।’ एउटा खच्चडले एकपटकमा ६० किलो सामग्री बोक्न सक्ने उनले सुनाए । धुन्चेबाट हाकुमा सामग्री पु¥याउनका लागि प्रतिकिलो १३ रुपैयाँका दरले ज्याला लिने गरेको व्यवसायी बताउँछन् ।

जिल्लामा दुई सयभन्दा बढी खच्चड
रसुवाको दुईवटा स्थानीय तहमा खच्चडको प्रयोग हुँदै आएको छ । सडक पहुँच नभएकाका कारण ग्रामीण तहमा करिब दुई सय खच्चडको प्रयोग हुने गरेको व्यवसायीले बताएका छन् ।
निर्माण सामग्री ओसार्नका लागि हाकुमा ३९ वटा खच्चड रहेको खच्चड व्यवसायी निमाकार्साङ तामाङले बताए । उनले भने, ‘हाकुमा ६ जनाले खच्चड पालेका छन्, एउटा व्यवसायीको चारदेखि नौ वटा खच्चड छन् ।’

पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्डमा सामग्री ढुवानीका लागि खच्चडको प्रयोग हुन्छ । जिल्लामा आवश्यकता अनुसार खच्चड आयात हुने गरेको छ । एउटा खच्चडका लागि ९० हजार रुपयाँसम्म पर्छ ।


 

प्रकाशित: २४ माघ २०७४ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App