१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेनह्याम र लिभरपुलबीच बराबरी

लन्डन – स्ट्राइकर ह्यारी केनले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा टोटेनह्यामले आइतबार लिभरपुललाई २–२ को बराबरीमा रोकेको छ ।

घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलको तेस्रो मिनेटमै मोहम्मद सालाहले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो । सालाहले इकिर डायरको गल्तीको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए । नाटकीय बनेको खेलको अन्तिम १० मिनेटमा ३ गोल सम्भव भएको थियो ।

८०औं मिनेटमा केन्याका मिडफिल्डर भिक्टर वान्यामाले २० यार्ड टाढाबाट गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काएका थिए ।त्यसको ७ मिनेटपछि केनले पेनाल्टीमा गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएका थिए । तर केनको प्रहार लिभरपुलका गोलकिपर लोरिस कार्युसले विफल पारेका थिए । केनलाई कार्युसले खराब फाउल गरेपछि टोटेनह्यामले पेनाल्टीको अवसर पाएको थियो ।

इन्जुरी समयको पहिलो मिनेटमा सालाहको गोलमा पुनः अग्रता लिएको लिभरपुलले घरेलु मैदानमा तीन अंक पक्का गर्ने संकेत गरेको थियो । तर त्यसको पाँच मिनेटपछि केनले पेनाल्टीमा गोल गर्दै लिभरपुलको स्पष्ट तीन अंक जोड्ने लक्ष्य विफल पारेका थिए । लिभरपुलका भार्जिल भान डाइकले इरिक लामेलामाथि खराब फाउल गरेपछि टोटेनह्यामले दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो ।टोटेनह्यामलाई दिइएका दुवै पेनाल्टीको निर्णय गलत भएको भन्दै लिभरपुलका प्रशिक्षक योर्गान क्लोप खेलपछि रेफ्री जोन मोससँग विवादमा उत्रिएका थिए ।

‘रेफ्रीले दिएका केही गलत निर्णयले खेलको नतिजा प्रभावित बन्यो । पहिलो पेनाल्टीमा केन पूर्ण रूपमा अफसाइड थिए,’ क्लोपले भने, ‘दोस्रो पेनाल्टीको निर्णयमा पनि रेफ्रीको निर्णय गतल देखियो । भार्जिल भान डाइकले लामेलालाई छोएका मात्र थिए, तर लामेला मैदानमा ढल्दा यस्तो लाग्थो, उनीमाथि गम्भीर फाउल भएको छ । उनले गरेको अभिनयमा रेफ्रीले पेनाल्टीको निर्णय दिए । खेलको अन्तिम समयमा यस्तो गलत निर्णय दिनु आपत्तिजनक छ ।’

यता टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले रेफ्रीले कुनै गलत निर्णय नगरेको दाबी गरे ।
‘हामीले पाएका दुइवटै पेनाल्टीका अवसर जायज थिए । त्यसैले यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन,’ पोचेटिन्होले भने, ‘केहीले रेफ्रीको आलोचना गर्छन् तर जब उनीहरू सही हुन्छन्, त्यो सबैले थाहा पाउन आवश्यक छ ।’यस बराबरीपछि २६ खेलमा ५१ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा यथावत् हुँदा समान खेलमा दुई अंक कम जोडेको टोटेनह्याम पाँचाै स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न अर्कोे खेलमा क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेलेका छन् ।

२२औं मिनेटमा मोहमेद डियामीले गरेको गोलमा न्युक्यासलले अग्रता लिएको थियो । तर खेल सकिन ३५ मिनेट बाँकी  हुँदा लुका मेलिभोजेभिचले गरेको पेनाल्टी गोलमा प्यालेसले न्युक्यासलसँग अंक खोसेको थियो ।टोटेनह्यामलाई दिइएका दुवै पेनाल्टीको निर्णय गलत भएको भन्दै लिभरपुलका प्रशिक्षक योर्गान क्लोप खेलपछि रेफ्री जोन मोससँग विवादमा उत्रिएका थिए ।

 

प्रकाशित: २३ माघ २०७४ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App