१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शान्त र संयमित रहन आग्रह

 

  माले – मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशका नागरिकलाई शान्त र संयमित रहन आइतबार आग्रह गरेका छन् । आइतबार राष्ट्रिय प्रशारणबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति यामिनले शान्त र संयमित रहन र देशको स्वार्थलाई अगाडि बढाउन आग्रह गरेका छन् ।देशमा राजनीतिक संकट बढिरहेकोले यस्तो बेलामा सबै देशवासी संयमित भएर बस्नु पर्नेेमा राष्ट्रपति यामिनले जोड दिएका छन् ।

 मालदिभ्समा केही दिनदेखि आन्दोलन चर्किएको छ । दक्षिण एसियाको यो सानो टापू राष्ट्रमा केही वर्षयतादेखि राजनीतिक अस्थीरता बढिरहेको छ । राष्ट्रपति यामिनले देशको सुरक्षा अंग तथा आन्दोलनरत विपक्षी कार्यकर्तालाई शान्त रहन आग्रह गरेको मालदिभ्सको राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा पनि जनाइएको छ ।मालदिभ्सको सर्वाेच्च अदालतले बिहीबारको  एक फैसलामार्फतसबै राजनीतिक बन्दीहरुलाई रिहा गर्न आदेश दिएको थियो ।उक्त फैसलाबाट मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पनि जेलमुक्त हुनुपर्ने भएपनि वर्तमान सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा नरहेको बताइएको छ ।

सोही कारण पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताहरुले उनलाई रिहा गर्नुपर्ने माग गर्दै मालदिभ्सको राजधानी मालेमा बिहीबारदेखि व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।  कैयौं स्थानमा प्रहरीसँग भएको भीडन्तमा दर्जनौं व्यक्ति घाइते भएका छन् । त्यस्तै बिहीबार देखि हरेक दिन बिहानैबाट  राजधानीमा प्रदर्शन सुरु हुने गरेका छन् । नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तर उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो ।

उनलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो । राजनीतिक आस्थाका आधारमा उनलाई जेल हालिएको उनको राजनीतिक दलका कार्यकर्ताले बताउँदै आएका छन् । मालदिभ्सका राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गरेका छन् । त्यसैले पनि सो निर्वाचनअगावै सबै राजनीतिक बन्दीहरुलाई रिहा गरी उनीहरुलाई पनि निर्वाचनमा सहभागिताको अवसर दिनुपर्ने भन्दै सर्वाेच्च अदालतलेसबै राजनीतिक बन्दीहरुलाई रिहा गर्नुपर्ने आदेश दिएको हो ।

 राष्ट्रपति यामिनले उक्त निर्वाचनका लागि वातावरण बनाउन आफूले सर्वाेच्च अदालतसँग परामर्श गरिरहेको र निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि लागि परेको भन्दै सबैलाई शान्त रहन आग्रह गरेका छन् ।सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने पक्षमा राष्ट्रपति कार्यालय प्रतिबद्ध रहेको बताउँदै राष्ट्रपति यामिनले देशवासीलाई संयम रहन आग्रह गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।राष्ट्रवासीका नाममा गरेको सम्बोधनमा उनले सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो वा विपक्षीको प्रख्यातीको परीक्षण गर्न आफू तयार रहेको पनि बताएका छन् । आफ्नो प्रमुख उद्देश्य नै देशमा शान्ति तथा स्थायीत्व कायम गर्नु रहेको उनले बताएका छन् ।

प्रकाशित: २२ माघ २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App