१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्याउका बिरुवा काटछाँट गरिँदै

स्याउ बगैंचामा बिरुवा काटछाँट गर्दै छायानाथ रारा नगरपालिका–५, ताल्चका स्थानीय। तस्बिर : सुमन / नागरिक

मुगु – यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।

हिमपात र वर्षा नभएपछि जिल्ला कृषि विकास कार्यालयले पनि कृषकका लागि वितरण गर्ने स्याउका बिरुवा ढिलो गरी खरिद गर्न लागेको छ । त्यस्तै स्याउ कृषकले अल्छी मानी मानी स्याउ बगैंचा काटछाँट गर्न लागेका छन् । स्याउ नर्सरी धनीले उत्पादन गरेका स्याउका बिरुवा नर्सरीमा नै छन् । समयमा हिमपात नहुँदा नर्सरीमा उत्पादन गरिएका बिरुवा कसैले नलिदा नर्सरीमा नै बिरुवा सुक्ने हुन की भन्ने चिन्ता लागेको छायानाथ रारा नगरपालिका–५ का नर्सरी कृषक सक्कबहादुर बुढाले बताए।

देश संघीय संरचनामा गइसकेपछि बजेट स्थानीय तहमा गएको र निकासामा समेत विलम्ब भएकाले समयमै स्याउका बिरुवा खरिद गरी कृषकलाई वितरण गर्न ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले स्थानीय तहसँग समन्वय गरी जिल्लामा उत्पादित स्याउका बिरुवा खरिद गरी अबका केही दिनमा वितरण सुरु गर्ने जनाएको छ । जिल्लाको हावापानीले थोरै पानी परे पनि स्याउ उत्पादनमा असर नपर्ने भएकाले यो वर्ष स्याउको उत्पादन हुँदैन कि भनेर कृषकले चिन्ता गर्नुपर्ने अवस्था नरहेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नुनुलाल उरावले बताए।

हिमपात नभए पनि स्याउका बगैंचा काटछाँट गर्दा खासै फरक नपर्ने तर वर्षा र हिमपात नभए सोचेजस्तो स्याउ उत्पादन हुन नसक्ने छायानाथ रारा नगरपालिका–५ का स्याउ कृषक हरिचन्द्र कुलालले बताए । अहिले जिल्ला कृषि विकास कार्यालयबाट स्याउ बगैंचा काटछाँट गर्नका लागि कसैले कुनै सल्लाह नदिए पनि आफूले १० वर्षसम्म भारतको हिमाञ्चलमा सिकेको सीप जिल्लामा नै प्रयोग गरिरहेको बताए । ‘हिजोआज मैले मेरो तीनवटा बगैंचा काटछाँट गरेर ताल्चमा रहेका स्याउ कृषकका बगैंचा काटछाँट गरिरहेको छु,’ उनले भने । आफूसँग स्याउ खेती सम्बन्धी प्रशस्त ज्ञान सीप भएपनि अहिले दैनिक ज्याला मजदुरीमा गाउँलेहरुका बगैंचा काटछाँट गर्नु परेको उनको भनाइ छ।


 

प्रकाशित: २१ माघ २०७४ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App