१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यापार र पारवहनका जटिलता समाधान होस्

वीरगन्ज – आर्थिक नगरी वीरगन्जको निजी क्षेत्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल आगमनसँगै ‘व्यापार तथा पारवहन’का जटिलता समाधान हुने आस गरेको छ । वीरगन्ज भारत भएर हुने नेपालको व्यापार तथा भारतसँगको व्यापारमा प्रमुख नाका हो ।

नेपालको व्यापार तथा विभिन्न कुरा अहिलेसम्म जेनतेन धानेको यो नाकामा पछिल्लो समय जटिलता बढेपछि उत्तरी सीमातिर नेपाली पक्षको आकर्षण बढ्न लागेका बेला भारतीय विदेशमन्त्री स्वराजको आगमन भएको छ । यही बेला निजी क्षेत्रमा स्वाभाविक रुपमा केही अपेक्षा पलाएको देखिएको छ ।

‘नेपालको तेस्रो मुलुकसँगको व्यापार भारत भएरै हुन्छ, भारतीय बन्दरगाहमा त्यहाँबाट मालवस्तु ढुवानीमा बेलाबेलामा समस्या हुने गरेको छ, सुक्खा बन्दरगाहको स्तरोन्नतिको कुरा छ, सीमामा रहेको मैत्रीपुलको कुरा छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘यी सबै विषय भारतीस्य विदेश मन्त्रालयसँग सम्बन्धित भएकाले यसबारे छलफल हुनुपर्छ, हामीले यी अपेक्षा राखेका छौं ।’ सँगसँगै भारतमा नेपालको निर्यात बढाउनेमा भारतीय सहयोग होस् भन्ने उनी चाहन्छन् ।

संघका पूर्वअध्यक्षसमेत रहेका प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक बैद्य तत्कालको ठूलो समस्याका रुपमा देखिएको सिमेन्ट उद्योगमाथिको संकट समाधानमा पहल पुग्ने आशा राखेका छन् ।
नेपाल भारत सहयोग मञ्चका अध्यक्षसमेत रहेका बैद्य सल्टाउनुपर्ने मुद्दा प्रशस्त देख्छन् । तैपनि ‘अहिलेको टड्कारो विषय पर्सा बारा करिडोरका एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगको भविष्य हो, जो बन्द हुने अवस्थामा पुगिसकेका छन्,’ बैद्यले भने ‘ती उद्योगका कच्चा पदार्थ क्लिंकर रक्सोलमा आउन बन्द भएपछि यो अवस्था आएको हो ।’

कथं कदाचित ती उद्योग बन्द भएर निजी क्षेत्रको अर्बौं लगानी डुब्यो भने उद्योगीमात्र नभएर लगानीकर्ता बैंक पनि प्रभावित हुने उनी बताउँछन् । ‘नेपालमै पूर्वाधार विकास गर्ने काम अगाडि बढ्दै गरोस् तबसम्मका लागि केही समय सीमा दिएर रक्सोलमा क्लिंकर अनलोड गर्न दिने वातावरण बनोस्,’ उनले भने ।

सर्वसाधारणको स्वास्थ्यमा असर परिरहेको रक्सोलवासीको गुनासो आएपछि बन्द भएको क्लिंकर आयात अब जुनसुकै ठाउँमा भए पनि प्रदूषणमुक्त किसिमले लोड–अनलोड हुने संरचना चाँडै विकास हुनुपर्ने संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाको भनाइ छ । ‘समस्या दोहोरिनु हँुदैन, सहरको बीचमा मानव बसोबासलाई प्रभावित गर्ने गरी अहिलेसम्म क्लिंकर ढुवानी हुँदै आएको थियो, अब व्यवस्थित हुनुपर्छ,’ सामाजिक अगुवासमेत रहेका सिकारियाले भने, ‘नेपालबाट निर्यात बढाउने विषय, नेपालमा रेल विकास र सडक लगायत संरचना विकासमा भारतीय सहकार्य नेपाललाई चाहिएको छ ।’
 

प्रकाशित: १९ माघ २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App