१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बढ्दैछ बैदेशिक आयात

वीरगन्ज सुक्खा बन्दरगाहमा रेलमार्ग भएर भारतीय बन्दरगाहबाट आइपुगेका कन्टेनर । तस्विर : नागरिक

वीरगन्ज – गत बर्षको तुलनामा यो बर्ष वीरगन्ज सुक्खा बन्दरगाह भएर बिदेशी मालबस्तुको आयात निकै बढेको छ। नेपालका लागि तेस्रो मुलुकबाट माल समान आउने प्रमुख नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आँकलनभन्दा बढी संख्यामा मालवाहक कन्टेनर आउन थालेका छन्। कोलकतास्थित भारतीय बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा बिदेशबाट आयातित मालबस्तुका कन्टेनरको संख्या पछिल्ले समयमा बढ्दो छ।

गत बर्ष प्रति महिना करिब ३० रेकको औसतले आएका कन्टेनरमा बढीमा २० प्रतिशत बृद्धी हुदा महिनामा ३६ रेकसम्म कन्टेनर आउने भनी गरिएको आँकलनभन्दा बढी कन्टेनर आउन थालेका छन्। एउटा रेकमा २० फिट एकाइको ९० कन्टेनर आउने गरेका छन्। अंग्रेजी सम्बत अनुसारको आर्थिक बर्ष २०१७÷०१८ को जनवरी महिनामा ४४ वटा रेक बिदेशी मालबस्तु बोरेर भारतीय बन्दरगाहबाट सिर्सिया सुक्खा बन्दरगाहमा आएका छन्। यो भनेको ३ हजार ९ सय ६० कन्टेनर हो। डिसेम्बरमा ४२ रेकमा ३ हजार ७ सय ८० र नोभेम्बरमा ४० रेकमा ३ हजार ६ सय कन्टेनर रेलमार्ग भएर सुक्खा बन्दरगाह भित्रिएको छ। अक्टोबरसम्म समान्य संख्यामा ३१ वटा रेकमा २ हजार ७ सय ९० कन्टेनर आएका थिए।

‘नोभेम्बरदेखी कन्टेनरको संख्या बढेको छ,’ सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले नागरिकलाई भने, ‘पछिल्लो एक महिनाको समयावधीमा रेलमार्गबाट अहिलेसम्मकै सर्वाधिक कन्टेनर आएको छ।’ अहिले नेपाली कार्गोका लागि यसका सबै सरोकारवालाबीच राम्ररी समन्वय भएपछि ‘रेकर्ड ब्रेकिङ्ग’ किसिमले ढुवानी हुन पाएको चौधरीले बताए। यस अवस्थालाई दिगो बनाउन सबैले आफ्नो भुमिका दुरुस्त गरिराख्नु पर्ने उनको राय छ। कन्टेनर लिएर आएका रेक यताबाट पनि खाली वा भर्ती कन्टेनर लोड गरेर हिडे मात्र यसको ओसारपसारको श्रृंखला सुचारु रहने भएकोले आयातकर्ता ब्यपारीलाई खाली कन्टेनर बेलैमा फर्काउन आफुहरुले आग्रह दोह-याईरहेको उनले बताए।

यो बर्ष बर्षातको मौसममा उतर भारतको बिहार प्रान्तमा रेल लाइन र सडकमार्ग क्षतिग्रस्त भएपछि करिब महिनासम्म नेपाली कार्गो आवागमन अवरुद्ध भएको थियो। त्यसपछि दशैं तिहारको बिदाताका सुरु भएको कोलकतास्थित बन्दरहको जाम (कन्जेशन) २ महिना चलेको थियो। यसरी यो बर्ष प्रभावित भएको तेस्रो मुलुकसंगको ब्यपार भने अब गति लिन थालेको ब्यपारीहरुको बुझाई  । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले पछिल्लो समयमा बिदेशी समान आयातमा देखिएका समस्याहरुमा सुधार भएको बताउँछन्।

अंग्रेजी बर्ष अनुसारको १० महिनामा यसपाली २ सय ८३ रेकहरु आएका छन्। जसमध्ये २ सय ५८ वटा कोलकताबाट र २५ रेक आन्ध्रप्रदेशको बिशाखापट्नमबाट आएका हुन्। भारतीय बन्दरगाहदेखी यता नेपाली कार्गो रेलमार्गले ढुवानी गर्ने सेवाप्रदायक भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेशन अफ इण्डिया (कन्कोर)ले नेपाली कार्गोलाई प्राथमिकतामा राखेर ढुवानी गरिरहेको त्यसका अधिकारीहरुको दावी छ। नेपाली कार्गो ओसार्न १६ वटा ट्रेन ‘डेडिकेटेड’ गरिएको कन्कोरका पुर्वी क्षेत्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०७४ १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App