१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

प्रदेश ३ काे प्रदेशसभा बैठक कक्ष । तस्बिर : असाेकसुजन

मकवानपुर – संघीय नेपालको पहिलो प्रदेशसभा बैठक बस्न प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार राति अबरेसम्म सभाकक्ष व्यवस्थित गरी भवनको सरसफाइ र रंगरोगन गर्न कर्मचारी, कामदार खटिएका थिए । प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेपछि कर्मचारीहरू तयारीमा अहोरात्र जुटेका थिए ।

प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवन सिंगारिएको छ। प्रदेशसभा सचिवालयका सचिव रोजनाथ पाण्डेको नेतृत्वमा टोली आएपछि निर्माण र पुनर्निर्माणले तिव्रता पाएको थियो।
प्रदेशसभा सभाकक्षमा सांसदहरू बस्नका १ सय १० वटा रातो रंगको स्टीलका कुर्सी राखिएको छ। सभाकक्षमा मञ्च, सभामुखको ड्यास निर्माण गरिएको छ भने विशिष्ट व्यक्ति र पत्रकारलाई बस्ने छुट्टै स्थानको पनि व्यवस्था गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बुधबार नै साउण्ड सिस्टमसहितको सभाकक्षमा प्रदेशसभा बैठकको प्रयोगात्मक परीक्षण (रिहर्सल)गरिएको प्रदेशसभा भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बैठकको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्नसक्ने व्यवस्था मिलाइएको छ भने सभाकक्ष बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष हेर्ने र सुन्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव पाण्डेले जानकारी दिए । सिसिटिभी जडान गरी सञ्चार र विद्युत् अभाव नहुने व्यवस्था गरिएको बताउँदै उनले पहिलो बैठक नमूना लायक बनाउने बताए । प्रदेशसभा सचिवालयमा सभामुख, उपसभामुखको कार्यकक्ष, सचिवको कार्यकक्ष, कार्यव्यवस्था शाखा र एम्बुलेन्ससहित स्वास्थ्य एकाइ पनि राखिएको छ।

निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बैठकको तयारी गरिएको हो । माघ ७ गते ३ नम्बर प्रदेशका सदस्यहरूले पद तथा गोपनियताको सपथग्रहण गर्दा सोही सभाकक्ष व्यवस्थित नगरिएकाले निकै असहज देखिएको थियो।

बैठकमा सहभागी हुन प्रदेशका १३ जिल्लाका प्रायः सांसद बुधबार हेटौंडा आइपुगेका छन् । सांसदहरूलाई हेटौंडाका होटलहरूमा होटल एशोसिएसन मकवानपुरले ४० प्रतिशत छुट दिने जनाएको छ । प्रदेश सांसदलाई स्वागत गर्दै हेटौंडाका मुख्यचोक तथा सडकमा स्वागतद्वार, तुल, ब्यानर राखिएको छ।

यस्तो छन् बैठकका एजेन्डा
प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने र प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै बुधबार साँझ बसेको सर्वदलीय बैठकले सभामुखले प्रदेश प्रमुखबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेश सभाको ऐतिहासिक पहिलो अधिवेशन प्रारम्भका अवसरमा प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक  दलका एक÷एक जना र एक स्वतन्त्र सांसदलाई बोल्न दिने निर्णय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । साथै संसदमा सभामुखको अनुपस्थितीमा अध्यक्षता गर्ने सांसदको मनोनयन गरी प्यानल तयार गर्ने निर्णय गरेको सर्वदलीय बैठकले सभामुख निर्वाचन माघ २९ गते प्रस्ताव गर्ने पनि निर्णय गरिएको बताइएको छ । बैठकको संसद्का जेष्ठ सदस्य ७१ वर्षीय डोरमणि पौडेलले अध्यक्षता गर्दैछन् । बिहीबार करिब साढे एक घण्टा चल्ने अनुमान गरिएको प्रदेशसभा सचिवालयका सचिव पाण्डेले बताए ।
संविधानको धारा १८२ मा प्रदेशसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखमध्ये एक महिलाको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने सभामुख वा उपसभामुख फरक–फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था छ।

सभामुख र उपसभामुखको छनोटपछि प्रदेश अधिवेशन धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन अह्वान गर्नुपर्ने व्यवस्था छ।
प्रदेशसभामा एमालेका ५८, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा र राप्रपा(प्रजातान्त्रिक)का १–१ जना सांसद रहेका छन्।

प्रकाशित: १८ माघ २०७४ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App