२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पहिचानले ल्याएको जागृति

मुलुकको राजधानी काठमाडौंको टुँडिखेलमा वर्षभरिजसो विभिन्न पर्व, जात्रा र महोत्सव आयोजना हुन्छन् । हालै गुरुङहरूको तमु ल्होसारले टुँडिखेल रंगियो । यसै साता थारूहरूको माघीमा पनि टुँडिखेलमा रमझम भयो । फेरि तामाङहरूको सोनाम ल्होसारको रमझम आउँदैछ । शेर्पाहरूको ग्याल्पो ल्होसार पनि टुँडिखेलमा प्रदर्शन हुन्छ । पूर्वी र मध्य तराई–मधेसको छठ राजधानीका नदीहरूमा आयोजना हुने क्रम बर्सेनि विस्तार हुने गरेको छ । यी केही उदाहरण मात्र हुन्, नेपालका हरेक जातजातिमा आफ्नो भाषा, पर्व, संस्कृति र परम्परा, भेषभूषा छन् र क्षेत्र विशेषमा उनीहरूको बाक्लो उपस्थिति देखिन्छ ।

मुलुकका सबै क्षेत्रमा विभिन्न किसिमका जातजातिको बसोबास भएको र टुँडिखेल सहरको केन्द्रमा भएकाले सबैको जातजातिको रंगमञ्च जस्तै बनेको छ । यस्तो परम्परा भने लामो होइन । एक दशकदेखि सुरु भएका जातीय पर्वहरूको प्रदर्शन र कार्यक्रम आयोजनाहरू आउँदा वर्षमा कसरी गर्दै जाने हो ? समाजशास्त्रीहरू जातीय पर्व, संस्कृति र परम्परा अहिलेका पुस्ताबीच खाने, लगाउने, मनोरञ्जन र मोजमस्तीका रूपमा विस्तार भइरहेको विश्लेषण गर्छन् । नेपालको जनसंख्याको आधा हिस्सा युवाहरू भएको र सबैजसो सामाजिक, सांस्कृतिक कार्यक्रममा उनीहरूकै सघन उपस्थिति रहेकाले अहिले देखिएको सांस्कृतिक जागरण यसैगरी फैलने हो वा यसमा राजनीतिकरण हावी हुने हो भने यसको स्थिति कहाँसम्म पुग्छ होला ? आउँदा दिनमा यी पर्व कसरी आयोजना हुने हुन् ? नयाँ पुस्ताले यसलाई कसरी आत्मसात गर्ने हो ? त्यो आफ्नो ठाउँमा छ तर यस्ता जातीय पर्व, संस्कृतिको राजधानीमा हुने प्रदर्शनले नेपालको जातीय, क्षेत्रीय, भौगोलिक, सांस्कृतिक विविधताको प्रदर्शन गर्नुका साथसाथै सबै जातजातिको फरक पहिचान भएपछि एकले अर्काको पहिचानलाई स्विकारेको र समन्वयात्मक भावनाले आत्मसात गरेको देखिन्छ ।

के देखिन्छ भने जाति विशेषमा यसको महŒव त छँदै छ तर आजको समयमा यस्ता पर्व अन्य जातको समुदायमा पनि फैलिँदै गएको छ । गैर समुदायले पनि अपनत्व र महसुस गर्न थालेको छ । दसंैमा पनि रमाउने त्यसरी नै क्रिसमसमा पनि रमेको हामी देख्छौं । न्यू इयरमा झुम्ने र नयाँ वर्षमा रोमाञ्चित भइरहेका छौं हामी नेपाली । ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उद्गार र राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’को बोलको सन्देशजस्तै व्यवहार सांस्कृतिक प्रदर्शनी र चाडबाडका बेला देखिरहेका छौँ ।

निश्चय नै सबै जातजातिले आफ्नो धर्म, परम्पराका आधारमा मनाइने पर्वहरू अनादिकालदेखि मनाउँदै आएका हुन् तर जनआन्दोलन २ पछि उठेको जातीय आन्दोलनको पृष्ठभूमिमा प्रत्येक जातिले काठमाडौंको राज्यसत्तालाई आफ्नो मौलिक पर्व देखाउन आयोजना हुन थालेका हुन् । नेपालको पहिचानको राजनीतिसँग जोडिएर आएको र पछिल्ला वर्षमा सांस्कृतिक जागरणको स्वरूप लिइरहेको अहिलेको अवस्था आँकलन गर्ने चुनौती छन् । अहिले जस्तो छ, त्यसैगरी रमाइलो पारामा अघि बढ्ने वा यसमा राजनीतिकरण हुने हो ? चुनौतीहीन अवस्थामा छैनौं हामी । कारण अहिलेको अवस्था पहिचानको राजनीति सांस्कृतिक क्षेत्रमा फैलिएको हो । 

हामी संघीय राजनीतिक अभ्यासको प्रयोगमा छौं र अहिले पनि राजनीतिक वृत्तबाट पहिचानको राजनीतिलाई आकार दिने अभ्यास भरइहेका छन् । यस अर्थमा सांस्कृतिक जागरणको रूप धारणा गर्दै गएको जातीय पर्वलाई सही मार्गदर्शनको आवश्यकता देखिन्छ  । टुँडिखेलमा आयोजना हुने महोत्सवहरू जातीय पहिरनको प्रदर्शन, गीतसंगीत, मनोरञ्जन र खानपिनका कुराहरू छन्, सबैजसो राजनीतिक पार्टीहरूले जातीय संगठन खोलेका छन्, उनीहरूको उपस्थिति र भाषणका कुरा हुन्छन् । जातीय पर्व, संस्कृति र पहिचानबारे जानकारीमूलक कार्यक्रम राखिएको पाइँदैन । खाने, लगाउने र मोजमस्तीमा रमाउने अहिलेको पुस्ताले सतहमा मात्र बुझेर सांस्कृतिक जागरणको रूप लिएको अहिलेको अवस्थालाई मसिनोसँग केलाउन आवश्यक छ । राजनीति गर्नेहरू र सामाजिक क्षेत्रमा कार्यरत अभियानकर्मीहरूले पर्व, संस्कृतिलाई राजनीतिक हतियार बनाउने चेष्टा गरिरहेकै हुन्छन् । उनीहरूको यस्तो रणनीतिलाई होसियारीपूर्वक सम्हाल्न सकेको अवस्थामा अहिलेको सांस्कृतिक जागरण नेपाललाई एक सूत्रमा बाँध्ने डोरी बन्न सक्छ । पर्व, संस्कृतिलाई राजनीतिकरण हुन नदिनु, नगर्नु नै मुलुक र नेपाली समाजको हितमा छ । 

नागरिक परिवारको यस अंकमा हामीले नेपाली समाजमा फैलँदै गएको सांस्कृतिक जागरणका विविध पक्षलाई समेट्ने प्रयास गरेका छौँ । पहिचानको राजनीतिबाट प्रारम्भ भएर सांस्कृतिक जागरणमा रूपान्तरण भएको यस अभियानबारे विद्वान प्राध्यापकहरूका विचार समावेश छन् । नेपाली समाजमा गहिरिँदै गएको अनिद्राको समस्याबारे समाचार लेख र यो रोगको उपचारबारे सामग्री छन् । कर्पोरेट कुराकानी, जीवनयात्रा, फेसन टक, कलेज लाइफ, फेसन, स्वास्थ्य, खानपिन, रोचक परिवार लगायतका नियमित स्तम्भहरू यस अंकमा समावेश छन् । 

सामयिक मुद्दाहरू, आम नागरिकका सरोकारका विषयहरू तथा लाइफ स्टाइलसँग सम्बन्धित सामग्री पस्कने हाम्रो नीति हो । हामी विश्वस्त छौं, प्रस्तुत अंक पाठकहरूका लागि रुचिपूर्ण हुने छ । 

 

प्रकाशित: १७ माघ २०७४ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App