१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आठ महिने शिशु बलात्कृत

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

आइतबार अस्पतालमा भर्ना गरिएपछि बलात्कृत शिशुको अवस्था अत्यन्तै नाजुक रहेको प्रहरीले बताएको छ । शिशु बलात्कार गरेको आरोपमा २८ वर्षीय उनको काकाको छोरालाई प्रहरीले पक्राउ गरेको छ । घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार आइतबार बिहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए ।

उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किंदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् । शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । रक्तस्राव भएर शिशु बेहोस भएपछि उनी छोडेर भागेका थिए ।

उनलाई सोमबार मात्र पक्राउ गरिएको थियो । आरोपित उनले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले बताएको छ ।बलात्कृत बालिकालाई अस्पतालमा हेरेर आएकी दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले शिशुको अवस्था अत्यन्तै दर्दनाक रहेको प्रतिक्रिया दिएकी छिन् ।

आठ वर्षे शिशुको बलात्कार आइतबार भएको भए पनि सोमबार स्थानीय सञ्चारमाध्यमले घटनाबारे समाचार प्रकाशन गरेपछि मात्रै बाहिरिएको थियो ।महिला आयोग प्रमुख मालीवालले गरेको ट्विटमा शिशुको तीन घण्टा लामो शल्यक्रिया गरिएको जनाइएको छ ।

‘अस्पतालको गहन उपचार कक्षमा उनको पीडा महसुस गर्न सकिन्थ्यो । उनको आन्तरिक अंगमा चोट लागेको छ,’ सोमबार राति बलात्कृत शिशुलाई भेटेर आएपछि उनले गरेको ट्विटमा जनाइएको छ ।  
मात्र आठ महिने शिशुको बलात्कृत भएको घटनाले भारतभर आक्रोश उत्पन्न भएको छ र राष्ट्रिय समाचारको हेडलाइन बनेका छन् ।

शिशुमाथिको पीडाले सबैलाई त्रसित बनाएको र मानिस यतिसम्म घृणित पनि हुन सक्छ भन्ने प्रश्न उब्जाएको बिबिसी हिन्दीमा गीता पाण्डेले लेखेकी छिन् । तर भारतीय प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने यस्ता घटना भारतमा नौलो भने होइन । ‘चिन्ताको विषय भनेकै यस्ता घटनामा भइरहेको वृद्धि हो,’ पाण्डेले लेखेकी छिन् ।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोको सन् २०१६ को तथ्यांकअनुसार भारतभर १९ हजार ७ सय ६५ बालिकामाथि भएको बलात्कारको घटना दर्ता भएका थिए । जुन तथ्यांक सन् २०१५ को भन्दा ८२ प्रतिशतले वृद्धि हो । सन् २०१५ मा भारतभर १० हजार ८ सय ५४ बालिका बलात्कारका घटना दर्ता भएका थिए ।

दुई वर्ष अघि मात्रै पनि आफ्नै आमासँग सुतिरहेकी ११ महिने एक बालिकालाई उनकै छिमेकीले अपहरण गरेर दुई घण्टासम्म क्रुर तरिकाले बलात्कार गरिएको थियो । त्यसैगरी सन् २०१५ मा भारतको दक्षिणी सहर हैदराबादमा एक तीन महिने शिशुलाई अपहरण गरी हत्या गरिएको थियो ।

मालीवालले वेदना पोख्दै अर्को ट्विट पनि गरेकी छिन् । ‘के गर्नु? देशको राजधानी मै एक आठ महिने शिशु बलात्कृत हुन सक्छिन् भने आज दिल्ली कसरी सुत्न सक्छ? हामी यति धेरै असंवेदनशील भएका हौं वा हामीले यसलाई आफ्नो भाग्यका रूपमा स्वीकारेका हौं? उनले गरेका ट्विटमा जनाइएको छ ।

उनले महिलाको सुरक्षाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रत्यक्ष अपिल गर्दै कडा कानुन लागू गर्न र थप प्रहरी स्रोत थप्न आग्रह गर्दै ट्विट गरेकी छिन् । सामाजिक सञ्जालमा अन्यले पनि उनलाई साथ दिँदै क्रुर घटनाप्रति रिस पोखेका छन् । सन् २०१२ मा दिल्लीको सार्वजनिक बसमा एक २३ वर्षीया विद्यार्थीको सामूहिक बलात्कारपछि भएको हत्याको घटनालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो । जसका कारण भारत सरकार बलात्कारविरुद्ध मृत्युदण्डसहित नयाँ कडा कानुन निर्माण गर्न बाध्य भएको थियो । भारतमा बलात्कारविरुद्ध कडा कानुन भए पनि महिला र बालबालिकाविरुद्ध हुने यौनजन्य अपराधको घटनामा त्यत्ति धेरै कमी नआएको बताइन्छ ।

प्रकाशित: १७ माघ २०७४ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App