१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अंगुर र ड्रागनमा आत्मनिर्भर बनाउने अभियान

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका ६ का रामबहादुर बुढा उमेरले ५० वसन्त पार गरिसकेका छन् । २०५१ मा नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्दमा सहभागी हुँदै ०६४ को संविधान सभा निर्वाचनमा डोल्पाबाट उनी अत्यधिक मत ल्याएर सभासदमा निर्वाचित भए । असल शिक्षक र राजनीतिक दलको नेता हुँदै अहिले उनी एउटा असल कृषकको परिचयसमेत बनाएका छन्।

यतिबेला उनी डोल्पालाई अंगुर खेतीका लागि पकेट क्षेत्रको रुपमा विकसित गरेर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर भारतको मुम्बईस्थित नासिकमा अंगुर खेतीको उत्पादन, प्रशोधन र बजारीकरणबारे भारतीय अंगुर विशेषज्ञसँग तालिम र अनुभव बटुल्दै छन् । उनीसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ र ६ का वडाअध्यक्ष ५० वर्षीय कर्मसिंह थापा र ४० वर्षीय धर्मजित बोहरा, वडा नं ६ कै कृषक राजबहादुर रोका, वडा नं ४ का प्रकाश बुढा, त्रिपुरासुन्दरी नगरपालिका १ का विष्णुप्रसाद न्यौपाने, जयवीर उखेडा र कृषक तथा सञ्चारकर्मी बिष्णुप्रसाद देवकोटा पनि तालिम लिइरहेका छन् । उनीहरु नगरपालिकाका मुख्य प्रशासकीय अधिकृत (सिइओ) भिमबहादुर धरालाको नेतृत्वमा अंगुर र ड्रागन नामक फलफूलको तालिम र अवलोकनमा भारतको नासिकमा अंगुर खेतीको सम्भाव्यता अध्ययन तथा उत्पादन प्रशोधन र बजारीकरणबारे तालिम तथा अनुभव लिइरहेका छन्।

भारतको महाराष्ट्र अन्तर्गत मुम्बईको नासिक क्षेत्र अंगुर र ड्रागन नामक फलको खेतीका लागि प्रख्यात मानिन्छ । हिमाली भू–बनोटसँग मिल्दोजुल्दो हावापानी र माटोसमेत डोल्पासँग मेल खाने भएकाले डोल्पालाई नेपालकै अंगुर र ड्रागन नामक फलको उत्पादन क्षेत्रको रुपमा विकास गर्दै डोल्पाली कृषक र जिल्लालाई आर्थिक समृद्धितर्फ डो¥याउन सकिने सिइओ धराला बताउँछन् । ‘नेपालको दुरदराजमा रहेको हिमाली जिल्ला डोल्पालाई अंगुर र ड्रागनमार्फत आत्मनिर्भर बनाउन अध्ययन भ्रमणका लागि भारतमा ल्याइएको हो,’ सिइओ धरालाले भने।

त्रिपुरासुन्दरी नगरपालिकाको ०७४ साउन ३ गते सम्पन्न नीति तथा बजेट कार्यक्रममा वडा नं १, ६ र ४ मा अंगुर खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर एक करोड रुपैयाँ विनियोजन गरेको थियो । पहिलोपटक पाइलट कार्यक्रमका रुपमा त्रिपुराकोटको वडा नं ४ मा पर्ने फोई, वडा नं ६ मा पर्ने पालङ र फुल्चिङ क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरी १० हेक्टर जमिनमा अंगुर खेती गर्न नेपालगन्जबाट नौ हजार बिरुवासमेत खरिद गरी पैदल मार्गबाट डोल्पा लैजाने तयारीमा भइरहेको सिइओ धरालाले बताए।

अंगुर खेती सम्बन्धि विशेषज्ञता हासिल गरेका भारतीय विशेषज्ञ सुनिलकृसन सिन्धेले आफू नेपालमा पुगेर त्यहाँको हावापानी, भू–बनोट, माटो समेत परीक्षण गरेकाले डोल्पाका लागि जम्बो सिडलेक्स नामक कालो अंगुर, सोनाका जातको हरियो अंगुर र ड्रागन नामक फलको खेती गरिएमा डोल्पाको मात्र नभई नेपालकै फलफूल खेतीमा डोल्पा अब्बल साबित हुने बताए ।

डोल्पाबाट अंगुर तथा ड्रागन नामक फलको अध्ययन, तालिम तथा भ्रमणमा आएका डोल्पाली किसानले नासिकको पुरानो निरपुर गाउँ, रेडलाइट, खेडका, गान्धी तीर्थ कर्पोरेट, जैन कर्पोरेट र पिपलगाउँ लगायत १६ स्थानमा गरिएको अंगुरखेती, नर्सरी लगायत प्रशोधनका लागि खोलिएका उद्योग र बजारीकरणको अवस्थाबारे अध्ययन तथा जानकारी लिइएको टोलीका सदस्यहरुको भनाइ छ।

प्रकाशित: १४ माघ २०७४ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App