१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मैलुङ–स्याफ्रुवेशी सडक अन्तिम चरणमा, वैशाखमा हस्तान्तरण गरिने

रसुवा – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ।

काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित मैलुङ स्याफ्रुबेशी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ। २०७२ वैशाखदेखि निर्माण सुरु भएको सडकको ट्रयाक खोल्ने काम सकिएको बताइएको छ।  

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीका अनुसार अहिले सडकलाई दुई लेनको बनाउने कार्य भइरहेको छ। ‘ट्रयाक खोल्ने काम सम्पन्न गरिसकेका छौँ, सडकलाई दुई लेनको बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ,’ प्राविधिक सेनानी केसीले भने, ‘अब करिब ६ सय मिटरमा चौडा बनाउन बाँकी रहेको छ।’ सडकको अवस्था हेरी ९ देखि ११ मिटर चौडा बनाइएको छ।

सडकखण्डमा अहिले ब्लाष्टिङ गर्ने, ड्रिलिङ गर्ने र सडकमा रहेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको प्राविधिक सेनानी केसीले जानकारी दिए। त्यसका लागि १९ वटा ड्रिलिङ मेसिन र ४० वटा ज्याक ह्यामरको प्रयोग गरिएको छ।

सडक निर्माणका लागि पाँच सय ४० जनशक्ति परिचालन गरिएको छ। जसमा एक सय ९० जना नेपाली सेना र तीन सय ५० जना अन्य कामदार रहेका छन्। बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सडक निर्माणको काम भइरहेको कार्यदलले जनाएको छ।

सडक खण्डको पाँच स्थानमा क्याम्प स्थापना गरी निर्माण कार्यलाई तिब्रता दिइएको छ। मैलुङ, गुम्चेत, सोले, त्रिसुली दोभान र स्याफ्रुमा क्याप्प राखेर ८ स्थानबाट काम भइरहेको छ।

सिम्लेदेखि मैलुङसम्म ६ किलोमिटर र मैलुङदेखि स्याफ्रुबेशीसम्म १७ किलोमिटर दुई लेनको सडक निर्माणका लागि नेपाली सेनाले जिम्मेवारी पाएको थियो। वैशाखको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिने छ।

काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग

गल्छी–बेत्रावती–मैलुङ¬–स्याफ्रुबेशी हुँदै रसुवागढी नाका जोड्ने यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइएको छ। अहिले सञ्चालन भइरहेको गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेशीहुँदै रसुवागढी नाका जोड्ने भन्दा २४ किलोमिटर कम हुने छ। काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाण्डौबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुने छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने सेनाले जनाएको छ।

निर्देशक सिंहद्धारा अबलोकन

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक एंवम प्राविधिक सहायक रथी रामधर सिंहले निर्माणाधिन सडकको अबलोकन गरेका छन्। सडक निरीक्षणका लागि रसुवा आएका सिंहले बिहिबार नेपाली सेनाको निर्माण कार्यदलले निर्माण गरिरहेका सडकमध्ये स्याफ्रुबेशीदेखि त्रिसुली दोभानसम्मको सडकको अबलोकन गरेका हुन्। सिंहले सडकको निरीक्षण गर्दै निर्माण कार्यदललाई समयमा नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न निर्देशन दिएका छन्।

प्रकाशित: ११ माघ २०७४ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App