१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उदयपुरबाट प्रदेशसभामा ३ महिला सांसद

समानुपातिक सांसदहरु क्रमशः सञ्जा दनुवार, सुनिता चौधरी र अम्बिका थापा । तस्विर : नागरिक

उदयपुर – नेपालको संविधान २०७२ ले सबै क्षेत्रमा महिला सहभागिता अनिवार्य गराउने व्यवस्था गरेपछि राजनीतिक क्षेत्रमा पनि महिलाहरु अग्रसर हुने मौका पाउँदैछन्। स्थानीय तहमा ४० प्रतिशत र प्रदेश तथा प्रतिनिधिसभामा ३३ प्रतिशत अनिवार्य सहभागिताको संवैधानिक व्यवस्थाले चुलाचौकामा सीमित धेरै महिला व्यवस्थापिकामा कामकाजी बन्न पुगेका हुन्।

संविधानको यही व्यवस्थालाई टेकेर भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावमा यहाँका केही अगुवा महिलाहरुले समानुपातिकमै भए पनि जनप्रतिनिधित्व गर्ने मौका पाएका छन्। यसै क्रममा १ नम्बर प्रदेशसभामा उदयपुरबाट ३ महिला सांसद थपिएका छन् भने प्रदेशसभामा छानिने ४ सांसदमध्ये १ जना प्रत्यक्षतर्फ निर्वाचित भएकी छिन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ (२) बाट १ मात्र कला घले विजयी भएकी हुन् भने ३ जना समानुपातिकमा छानिएपछि जिल्लाबाट प्रदेशसभामा ४ महिला सांसदको प्रतिनिधित्व हुन पुगेको छ।

समानुपातिकमा एमालेबाट अम्बिका थापा र सुनिता चौधरी प्रदेश सांसद छानिएका छन्। नेपाली कांग्रेसबाट सञ्जाकुमारी दनुवार सांसद परेकी छिन्। अनेमसंघ केन्द्रीय सदस्य थापा महिलाबाट परेकी हुन् भने युवा संघ केन्द्रीय सदस्य चौधरी थारु कोटाबाट समानुपातिक सांसद छानिएकी हुन्। कांग्रेसनिकट दनुवार समाज संघमा आबद्ध दनुवार अल्पसंख्यक कोटाबाट समानुपातिकमा सहभागिता जनाउन पुगेकी हुन्।

प्रत्यक्षतर्फ ३ जना निर्वाचित पुरुष सांसदमा एमाले, माके र नेपाली कांग्रेसका १÷१ जना छन्। १ (१) बाट एमालेका विमल कार्की, १ (२) बाट कांग्रेसका हिमाल कार्की र २ (१) बाट माकेका नारायण बुर्जामगर प्रत्यक्षमा चुनाव जित्नेहरु हुन्। समानुपातिक र प्रत्यक्ष गरी प्रदेशसभा सांसदको संख्या ६ जना पुगेको छ। प्रतिनिधिसभातर्फ भने दुवैजना पुरुष सांसद निर्वाचित भएका छन्। १ बाट कांग्रेस केन्द्रीय सदस्य नारायडा खड्का र २ बाट माके स्थायी समिति सदस्य सुरेशकुमार राई (हिमाल) ले जितेका छन्।

यसअघि ०७० मा समानुपातिक र प्रत्यक्ष गरी उदयपुरमा आधादर्जन सांसद थिए भने ०६४ मा ८ जना थिए। ०७४ को चुनावमा भने निर्वाचन क्षेत्र घट्नुका साथै समानुपातिक र राष्ट्रियसभामा नपरेपछि सांसद संख्या घट्न पुगेको छ। ०७० को चुनावमा ३ निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३ महिलासहित ६ सांसद थिए। प्रत्यक्षबाट कांग्रेसबाट नारायण खड्का र नारायण कार्की तथा एमालेबाट मञ्जुकुमारी चौधरीले चुनाव जितेका थिए। समानुपातिकमा कांग्रेसबाट शान्तिकुमारी चौधरी, माकेबाट भेषकुमारी राउत र संघीय समाजबादी फोरमबाट अशोक राई सांसद थिए।

०६४ को चुनावमा तत्कालीन नेकपा माओबादीबाट मणि खम्बु किराती र मोहन खत्री दिपक तथा कांग्रेसबाट नारायण खड्का प्रत्यक्षमा सांसद जितेका थिए। समानुपातिकमा कांग्रेसबाट प्रमिला राई र लक्ष्मी परियार, एमालेबाट दुर्गा परियार, माकेले सावित्री दनुवार र रामबहादुर थापामगरलाई सांसद चुनेको थियो।

प्रकाशित: ११ माघ २०७४ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App