२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्थायी राजधानी तोकेसँगै ठाउँठाउँमा तनाव

क्षेत्रीय प्रशासन कार्यालय दिपायलअघि प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गर्दै प्रदर्शनकारी ।

अरुण बम/देवेन्द्र बस्नेत/पुष्कर भण्डारी/उपेन्द्र यादब

सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी तोकेपछि त्यसको विरोधमा ठाउँठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा कतिपय स्थानमा प्रर्दशनकारी र प्रहरीबीच झडपसमेत भएको छ। सरकारले प्रतिपक्षी दलसँगको सहमतिमा प्रदेश मुकाम तोक्ने प्रयास गरे सहमति कायम हुन नसकेपछि बुधबार अस्थायी मुकाम तोकेको हो। अस्थायी मुकामलाई प्रदेशसभाको दुई तिहाई मतले परिवर्तन गर्न सक्ने भए पनि आ–आफ्नो क्षेत्रमा मुकाम तोक्न दबाब दिँदै आएका स्थानीय भने सरकारको निर्णयप्रति आक्रोशित देखिएका छन्। मुकाम तोकिएका स्थानमा भने खुशीयाली मनाइएको छ।  

डोटीमा प्रहरीसँंग झडप हुँदा १३ घाइते

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि डोटीमा आन्दोलन भड्किएको छ । बुधबार साँझदेखि आन्दोलनकारी उग्र बन्दै गएका छन्। यसैक्रममा बिहीबार दिउँसो आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा ढुंगामुडा र आगजनीको प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार र लाठिचार्ज गर्याे । सोहीक्रममा आन्दोलनकारी पनि प्रतिकारमा उत्रिँदा आन्दोलनकारीको लाठी र ढुंगा लागेर ९ जना प्रहरी घाइते भएका छन्। 

त्यसक्रममा प्रहरीले १३ सेल अश्रुग्याँस छोडेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। घाइते हुनेमा ४ जना सशस्त्र र ५ जना जनपथ प्रहरी रहेको प्रहरी नायब उपरीक्षक सिहले बताए।

यस्तै प्रहरीको लाठी लागेर तथा भागदौडका क्रममा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर छ । दिपायल सिलगढी नगरपालिका–४ का भरत विकलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी रेफर गरिएको छ। 

यस्तै केआइसिँह ७ का बृद्ध करी भण्डारी, दिपायल सिलगढी नगपालिका–१ का नारायण खड्का र दिपायल सिलगढी नगरपालिका–५ का पुष्कर द्वारिया घाइते भएका छन् । उनीहरूको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले दिपायल राजपुरमा रहेको ट्राफिक चेकपोष्ट तोडफोड गरेका छन् भने सिलगढीमा जिल्ला वन कार्यालयको मोटरसाइकलमा आगो लगाएका छन्। 

अकास्मात बन्द हुँदा यात्रुहरूलाई कठिनाइ भएपछि दिउँसो १ देखि ७ बजेसम्मका यातायात खोलिएको थियो । ‘अकस्मात भएको चक्काजामका कारण बाटोमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन मात्रै ६ घण्टा सडक खोलेका हौ,’ संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने, ‘अब भने राजधानी नभएसम्म अनिश्चितकालका लागि सबैथोक बन्द हुन्छ ।’ 

प्रधानमन्त्रीको पुतला दहन

सरकारले ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा लगाएका छन् । पार्टीको झण्डा हटाएर कालोझण्डा लगाएका हुन । 

नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीले जनाएका छन् । यस्तै कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै  दहन गरिएको छ । 

यसअघि कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामुहिक रूपमा पार्टीको सदस्यता त्यागेका छन् ।

तराई–पहाडको यातायात अबरुद्ध गरिने

आन्दोलनकारीहरुले ७ नम्बर प्रदेशको तराई–पहाडको यातायात सेवा अबरुद्ध पार्ने तयारी गरेका छन् । यसका लागि पहाडलाई तराईसँग जोड्ने एकमात्र भीमदत्त राजमार्ग अबरुद्ध पारिने संघर्ष समितिले जनाएको छ । सो सडक सुदूरपश्चिमका सातवटै पहाडी जिल्लालाई तराईका कैलाली र कञ्चनपुरसँग जोड्ने एकमात्र सडक हो ।

डडेल्धुरामा प्रधानमन्त्री पुत्ला दहन

पहाडी सात जिल्लालाई उपेक्षित गर्दै प्रदेश ७ को अस्थायी राजधानी कैलाली तोकिएको एवं गणतन्त्र विरोधी पञ्चायती व्यवस्थाका अगुवालाई प्रदेश प्रमुख तोकिएको भन्दै डडेल्धुरामा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । अपरान्ह साढे चार बजे तिर डडेल्धुरा सदरमुकाम बागबजारस्थित बसपार्क नजिक प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । प्रदेश ७ का ९ वटै जिल्लाको पायक पर्ने तथा केन्द्रबिन्दुमा रहेको जिल्लालाई राजधानी बनाइनुपर्ने माग राख्दै एक महिनादेखि आन्दोलित पहाडी जिल्ला राजधानी दबाब समिति संयोजक नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउदको अगुवाइमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गर्दै आन्दालन भएको छ । 

यसअघि सरकारले अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख तत्काल नतोक्ने भनेपछि डडेल्धुरा र डोटी जिल्लामा केही मत्थर भएको आन्दोलन सरकारले राजधानी र प्रमुख तोके पछि उग्र बन्दै गएकोे छ । 

वीरगन्जमा पनि दिनभर प्रदर्शन

प्रदेश नम्बर २ को अस्थायी राजधानी वीरगन्ज नतोकिएको भन्दै बारा र पर्सामा बिहीबार दिनभरि नै बिरोध प्रदर्शन गरीएको छ । सरकारले बुधबार जनकपुरलाई अस्थायी राजधानी तोकिएपछि बारा र पर्सामा त्यसको बिरोधमा प्रर्दशन सुरु भएको हो।

सरकारी निर्णय फिर्ताको माग गर्दै कलैयामा प्रदर्शनकारीले सवारीसाधन चल्न रोक लगाए । वीरगन्जमा पनि यातायात, शैक्षिक संस्था बन्द गराई बिरोध प्रदर्शन गरिएको छ। 

आन्दोलनकारीले कलैया–वीरगन्ज, वीरगन्ज–जितपुर सडकखण्डमा चल्ने सवारीसाधन चल्न दिनभर नै रोक लगाएका छन् । बारा र पर्साका स्थानीयले पहिलादेखि नै वीरगन्जलाई राजधानी बनाउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि सरकारले उनीहरूको माग वेवास्ता गरेको भन्दै यस क्षेत्रका जनताले बिरोध गरेका हुन् । 

सोहीक्रममा बन्द अवज्ञा गरी सवारीसाधन चलालिएको भन्दै प्रदर्शनकारीले वीरगन्जमा बा १२ च ७३६५ नम्बरको कार र बा ९ च ८५४५ नम्बरको पिक अप भ्यानसमेत तोडफोड गरेको पर्सा प्रहरीले जनाएको छ । सवारीसाधन चल्न रोक लगाएपछि गन्तव्यमा हिंडेका यात्रु बिचबाटोमै अलपत्र परेका छन् ।

दाङमा चर्को आन्दोलन 

वुधवार देखि अनिश्चितकालीन जिल्ला बन्द बिहीबार पनि यथावत रह्यो । प्रादेशिक राजधानी रूपन्देही घोषणा गरिएपछि आक्रोशित दंगालीले बिहीबार पनि जिल्ला ठप्प पारे । दिनभर जिल्लामा सवारी आवागमन ठप्प रह्यो । आन्दोलनकारी बीचसडकमै बसेर आन्दोलनमा सहभागी बने । देउखुरीमा गरिएको आन्दोलनले पूर्वपश्चिम राजमार्ग ठप्पै भएको छ । यसअघि प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा हुँदै आएको आन्दोलनलाई अब राजनीतीक दलको नेतृत्वमा अगाडि बढाइने भएको छ । एमाले, कांग्रेस र माओवादीले यो आन्दोलनको अगुवाई गरेर जाने बिहीबार बसेको सर्वदलीय बैठकले निर्णय गरेको छ।

जिल्लाभर बन्दको कार्यक्रम कडा बनाउँदै पूर्व पश्चिम राजमार्ग केन्द्रित आन्दोलनलाई बढी सक्रिय बनाउने दलहरूले निर्णय गरेका छन् । ‘पूर्वपश्चिम महेन्द्र राजमार्ग केन्द्रित आन्दोलनलाई बढी सक्रिय बनाउने भन्ने निर्णय भएको छ,’ कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले भने ‘अबको आन्दोलनको नेतृत्व प्रमुख तीन दलहरुले लिने भन्ने निर्णय भए अनुसार दलहरू आन्दोलनको नेतृत्वका लागि तयार भएका छन् ।’ 

धनकुटामा कर्फ्यू

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित धनकुटा जिल्लावासीले सरकारी कार्यालय, सवारीसाधन, बजारका पसलमा तोडफोड र आगजानी गर्दै प्रहरीसँग झडप गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको छ।

 बजारमा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु लगाउने निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

धनकुटा नगरपालिकाको आत्मरा, धुमाउने चौतारो, बिहीबारे हाट र कागते क्षेत्रभित्र कफ्र्यु लगाएको प्रजिअ उप्रेतीले बताए। 

प्रहरी र आन्दोलनकारीबीच धनकुटाको भिमनारायण चोक, मदनचोक र क्षेत्रीय प्रशासन कार्यालयमा झडप भएको छ । झडपमा परी  नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, धनकुटा राजधानी प्राप्ती संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठसहित ७ जना घाइते भएका छन् । राईको टाउकोमा ५ ओटा  लगाएको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । त्यस्तै अजित पाख्रिन, जयन्द्र प्रधान, उत्तम खड्गी,  रमेश पौडेल र अतित विक सामान्य घाइते भएका छन् । झडपमा प्रहरीले २ राउण्ड अश्रुग्यास हानेको थियो भने आन्दोलनकारीले ढुंगा र इँटा हानेका थिए।

आन्दोलनकारीले धनकुटामा क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाएका छन् । पेट्रोल छर्केर आगो लगाउदा कार्यालयका फर्निचर, कम्प्युटर र कागजपत्र जलेका छन् । त्यसैगरी जिल्ला मालपोत कार्यालय, हुलाक कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा इजालस कार्यालय, सरकारी वकिल कार्यालय र सहरी विकास कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनकारीले ती कार्यालयभित्र पसेर सबै सिसा र फर्निचर तोडफोड गरेका छन् ।  

त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिडेको धनकुटा नगरपालिकाको दमकल र  दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका गरेका छन् । ती गाडीको सबै सिसा फुटाएका छन् । त्यसैगरी शहरी विकास कार्यालयको प्राङगणमा रोकेर राखेको को१ब १०६४ नम्बरको मोटरसाइकल आन्दोलनकारीले जलाइदिएका छन् । 

रोकेर राखेको गाडी र पसलमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि धनकुटामा थप तनाव सुरु भएको थियो । आन्दोलनकारीले बिहान साढे ८ बजेतिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप राजभण्डारी आफंै गाडी लिए आन्दोलनकारी पक्राउ गर्न आएका थिए । उग्र भएका आन्दोलनकारीले एसपी चढेर आएको ना. १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका थिए। 

यो घटनापछि धनकुटामा ठूलो समूहमा सुरक्षाकर्मी परिचालन गरिएको छ।  धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन ३४ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बनेको हो । आन्दोलनको कारण कोसीराजमार्गको धनकुटामा यातायात बन्द रहेको छ। 

 धनकुटामा आन्दोलन गरिरहेका बजारवासीलाई सुरक्षाकर्मीले धरपकड गरेको घटनाप्रति धनकुटाबाट निर्वाचन प्रतिनिधिसभा सांसद राजेन्द्र राई, प्रदेशसभा सांसद निरन राई र इन्द्रमणि पराजुली, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र जिल्ला कमिटी, नेवि संघ र तरुण दलले प्रेस विज्ञप्ति प्रकाशित गरी बिरोध जनाएका छन्। 

‘राज्यले धनकुटालाई अपमान गरेको दिन जनताको अक्रोश पोखियो । तर राज्यले दमन गर्ने प्रयास गरेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ माघ २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App