१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माथी तुम गाउँ छाउगोठ मुक्त

मुगु – ‘छाउ प्रथाको अन्त्य ग-यौं सबै भई भेला, आफ्नै स्वास्थ्य सुधार गर्न महिला नहोउ हेला’ यो नारा कुनै व्यक्तिले घन्काएको होइन। मंगलबार छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथी तुम गाउँमा आयोजित छाउगोठ मुक्त गाउँ घोषणा कार्यक्रममा स्थानीय महिलाहरुले देउडा गाउँदाको गीत हो। चुल्हो चौको र कामको बोझबाट माथी आउन नसक्ने, सामाजिक कार्य, औपचारिक कार्यक्रममा बोल्न नसक्ने र लजाउने ग्रामीण महिलाहरु अहिले समाजमा भएका विकृति विसंगती र महिलाका समस्याका विषयमा देउडा मार्फत खुलेर बोल्न सक्ने भएका छन।

सदरमुकाम गमगढी नजिक रहेको माथी तुम गाउँलाई मंगलबार छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ। छायानाथ रारा नगरपालिका वडा नम्बर ३ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको आयोजनामा एक कार्यक्रममार्फत छाउगोठ मुक्त गाउँ घोषणा गरिएको वडा नम्बर तीनको कार्यालयले जनाएको छ।

महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, छायानाथ रारा नगरपालिकाको समन्वय तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा तुम गाउँका ३६ घरधुरीमा घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी बुहारी, किशोरीलाई बस्ने व्यवस्था गरेका र अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा नबस्ने अवस्था देखिएकाले यो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गरिएको हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले जानकारी दिईन। २०७१ सालमा मध्य पश्चिममा नै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो। अहिलेसम्म आइपुग्दा नगरपालिकाका अधिकाँश गाउँ वस्ति छाउगोठ मुक्तको तयारीमा रहेको तिमिल्सिनाको भनाई छ।

अहिले सरकारी निकाय र गैरसरकारी निकायको अथक प्रयासले तुम गाउँलाई छाउ गोठ मुक्त बनाउदैमा पुण नहुने र यसलाई दिगो बनाउन सरसफाईलाई समेत उतिकै ध्यान दिन स्थानीयवासी लाग्नुपर्ने पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको भनाई थियो।

तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएको पाईएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले बताए।

माथी तुम गाउँका स्थानीयवासीमा आएको चेतना र जागरणले गाउँको सरसफाई संगै छाउ गोठ मुक्त बनाए जस्तै नगरपालिकाका सबै गाउँ वस्तिलाई छाउ गोठ मुक्त गर्ने रणनिती नगरपालिकाले अघि सारेको नगरपालिकाका उपमेयर सुन्तला रोकायाले बताईन। विगतमा आफूहरुले वर्षामा हिलो, हिउँदमा जाडो नभनि सुख्खा रोटी खाएर, दिनभरि काम गरेर राती बारी वा गोठमा सुत्नु परेको र अब अहिले पछिल्लो पुस्ताका महिलाहरु घरभित्रै सुरक्षित सुतेको देख्दा आफूलाई विगतका पीडाले झस्काउने गरेको स्थानीय ५३ वर्षीया लालकिसरा रावलले बताईन।

पहिले घरका महिला, छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध, मह नदिने, फलफुलका बोट छुँदा पाप लाग्ने, गाई छुन नहुने, घरको जग छुँदा समेत देवी देउता रिसाएर अनिष्ट हुन्छ भन्ने गलत सोचका कारण घरभन्दा अलगै सात दिनसम्म बाहिर बसाल्ने स्थानीयवासीले अहिले महिनावारी हुँदा घरभित्रै राख्ने गरेको स्थानीय झाँक्री ५६ वर्षका चन्द्रबहादुर रावलले बताए।

माथी तुम गाउँलाई  छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्न सरकारी तथा गैर सरकारी निकायले महत्वपूर्ण भुमिका खेले जस्तै भावी दिनमा वडाका सबै बस्ति र सिंगो नगरपालिकालाई नै छाउ गोठ मुक्त बनाउन लाग्नुपर्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष जयबहादुर खड्काले बताए।

प्रकाशित: २ माघ २०७४ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App