विसं १९९० सालमा गएको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ । भूकम्प सुरक्षा दिवसलार्ई भूकम्पको दौरान भएको जनधनको क्षतिको स्मृतिमा मात्र सीमित नगरी आगामी दिनमा यो खालको क्षति फेरि हाम्रो देशले व्यहोर्न नपरोस् भन्ने उद्देश्यसाथ सरोकारवाला सबै एकजुट भएर भूकम्पीय जोखिम न्यूनीकरणको अभियानमा वर्षैभरि लाग्न प्रण गर्ने अवसरका रूपमा पनि लिइने गरिएको छ । यसरी भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरेको पनि २० वर्ष पुगेछ र यसपटक देश संघीय राज्यप्रणालीमा गइरहेको अवस्थामा ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नारासाथ २० औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
काठमाडौँको माटो उत्खनन गरी जापानको आधुनिक प्रयोगशालामा परीक्षण गर्दा यहाँँको माटोमा भूकम्पीय कम्पन घटाउने विशेषता भेटिएको छ ।
नेपाल भौगर्भिक हिसाबले नै भूकम्पीय जोखिमको दृष्टिकोणबाट अति संवेदनशील क्षेत्रमा पर्छ । विशेषतः यही कारण इतिहासको विभिन्न कालखण्डमा हाम्रो मुलुकले ठूलाठूला भूकम्पको धक्कासहित जनधनको ठूलो क्षति व्यहोर्नुपरेको हो । इतिहासलाई केलाउँदा विसं १३१० देखिको भूकम्पको अभिलेख भेटिन्छ । तर यसभन्दा पहिले पनि भूकम्प नगएको चाहिँ होइन, हामीसँग अभिलेख नभएको मात्र हो । किनभने, नेपालको भूभाग नै भूकम्पको स्रोत अर्थात् पृथ्वीभित्र रहेका चट्टानका चाक्लाहरूको चालबाट सिर्जित भएको हो । नत्र भने परापूर्व कालमा यो स्थानमा तेतिस नाम गरेको महासागर रहेको कुरा हाम्रा धर्मग्रन्थ एवं किंवदन्तीहरूमा भेटिन्छ र यो कुरालार्ई विज्ञानले पनि पुष्टि गर्छ । दक्षिणबाट उत्तरतिर आउँदै गरेको भारतीय भूखण्ड र उत्तरबाट दक्षिणतर्फ चलायमान तिब्बतीय भूखण्ड आपसमा ठोकिँदा भारतीय भूखण्ड तिब्बतीय भूखण्डभित्र पर्न गई यी दुई भूखण्डको संघर्षबाट म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिमालय शृंखलाको निर्माण भएको विभिन्न अध्ययनले पुष्टि गर्छन् । यी दुई भूखण्डको संघर्ष लगातार जारी रहेकाले निश्चित समयको अन्तरालमा यो क्षेत्रमा भूकम्प गइरहेको हो र फेरि पनि गइरहनेछ । यिनै भूकम्पहरूमध्ये अभिलेखमा विस्तृत रूपमा क्षतिसहित सम्पूर्ण विवरण भेटिने अहिलेसम्मको सबभन्दा ठूलो भूकम्प विसं १९९० सालको भएकाले हरेक वर्ष माघ २ गतेलाई भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्ध भएर लाग्न प्रण गर्ने दिवसका रूपमा मनाउने गरिएको हो।
कुनै पनि भूभागको भूकम्पीय जोखिमको कुरा गर्दा विशेषतः कति मापनको भूकम्प सो स्थानबाट कति दूरीमा केन्द्रविन्दु पर्ने गरी जानसक्ने सम्भावना छ ? अवस्थित भूभागको जमिनको बनोट कस्तो खालको छ ? भवन संरचनाहरू भूकम्प थेग्ने गरी निर्माण गरिएको छ कि छैन ? सम्भावित भूकम्पका लागि राज्यको तयारी अवस्था कस्तो छ ? र आममानिस एवं समुदायमा भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षित व्यवहारको ज्ञान अनि सीपको सचेतना तयारी कुन स्तरको छ भन्ने कुराले निर्धारण गर्छ । अहिलेसम्म भेटिएका अभिलेखहरूमा ठूला भूकम्पको दौरान काठमाडौँ उपत्यकामा धेरै क्षति भएको भेटिन्छ र यसैलाई आधार मानेर आम मानिस अनि विज्ञहरूमा पनि यसको कारण काठमाडौँको जमिन जहाँ करिब ५०० मिटर गहिराइसम्म कमसल माटोको तह रहेकाले भूकम्पको कम्पन बढी हुने हुँदा यति धेरै क्षति भएको बुझाइ रहेको छ । विश्वका अन्य मुलुकमा गरिएको अध्ययनमा यस्तै कमसल माटोको तह बढी भएको स्थानमा भूकम्पको कम्पन जमिनको सतह नजिकै चट्टान भएको स्थानभन्दा निकै बढी मापन गरिएकाले पनि यो बुझाइ रहन गएको हो । तर विसं १९९० सालको भूकम्प, विसं २०७२ सालको भूकम्पको दौरान काठमाडौँ उपत्यकामा भएको क्षतिको विवरण अनि २०७२ सालको भूकम्पमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मापन गरिएको कम्पन र सीमित मात्रामा भए पनि विसं २०७२ सालमा गएको विनाशकारी भूकम्पपश्चात् जापान विज्ञान प्रतिष्ठानको आर्थिक सहयोगमा एहिमे विश्वविद्यालय जापान, भूकम्प प्रविधि राष्ट्रिय समाज — नेपाल र त्रिभुवन विश्वविद्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट माटो उत्खनन गरी जापानको अति आधुनिक प्रयोगशालामा भूकम्पीय जोखिमको परीक्षण गरिएको थियो । उक्त अनुसन्धानको निष्कर्षले पनि काठमाडौँको माटाकोे विशेषता अन्य मुलुकको सामुिन्द्रक तटीय क्षेत्रमा पाइने माटाकोे भन्दा भिन्न खालको भेटिएको छ । यी सबै पक्षलाई सूक्ष्म विश्लेषण गर्दा काठमाडौँको माटोमा भूकम्पको कम्पन बढाउने होइन कि घटाउने विशेषता रहेको पुष्टि गर्छ जुन अहिलेसम्म रहेको बुझाइको ठीक विपरीत हो।
विसं १९९० को भूकम्पमा काठमाडौँ उपत्यकामा भएको क्षतिको मापन नक्सा अध्ययन गर्दा विशेष गरी दक्षिण भेगको पश्चिमपूर्व अर्थात् बुंगमती, खोकना, सानो गाउँ, लुभू, चापागाउँ, हरिसिद्धी, गोदावरीमा बढी क्षति भएको देखिन्छ । उक्त क्षेत्रमा करिब ९९ प्रतिशत भवन पूर्णरूपमा क्षति भएको श्री मेजर जनरल ब्रह्मशमशेरको नेपालको महाभूकम्प भन्ने पुस्तकमा भेटिन्छ । जबकि काठमाडौँको उत्तरी भूभागमा तुलानात्मक रूपमा कम क्षति भएको र सुरक्षित रहेको देखिन्छ । विसं १९९० सालको भूकम्पको केन्द्रविन्दु संखुवासभाको चैनपुर आसपास रहेको अनुमान गरिएको छ । भूकम्पको केन्द्रविन्दुबाट काठमाडौँको दिशा आँकलन गर्दा भूकम्पको कम्पन यही ९९ प्रतिशत भवन पूर्णरूपमा क्षति भएको दक्षिणी भेगबाट काठमाडौँ उपत्यकामा प्रवेश गरेको अन्दाज गर्न गाह्रो हुँदैन । यसैले उक्त स्थानमा बढी क्षति भयो र काठमाडौँको माटाकोे विशेषता भूकम्पको कम्पन घटाउने खालको रहेकाले कम्पन उत्तरतर्फ फैलँदै गर्दा कम्पनको मात्रा पनि घट्दै गएर उत्तरतर्फ कम क्षति भएको आँकलन गर्न सकिन्छ।
२०७२ वैशाख १२ को भूकम्पको स्मरण त हामी सबैमा ताजै छ । उक्त भूकम्प गोरखाको बारपाक केन्द्रविन्दु भएर काठमाडौँ उपत्यकामा पश्चिम–उत्तर हँुदै प्रवेश गरेको देखिन्छ । जसले गर्दा बुङमती, खोकना, सीतापाइला, बालाजु, गोंगबु, साँखु क्षेत्रमा बढी क्षति भयो र भूकम्पको कम्पन घटाउने माटोकोे विशेषताले गर्दा कम्पनको मात्रा घट्न गई सहरको केन्द्र र पूर्वी भूभागमा कम क्षति भएको आँकलन गर्न सकिन्छ । यो आँकलनलार्ई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मापन गरिएको कम्पनको लगतले पनि पुष्टि गर्छ । जस्तैः कीर्तिपुरको नगरपालिका भवन र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगर्भ विभागको भवनमा मापन गरिएको भूकम्पको कम्पन २४० ग्याल रहेको छ भने पुल्चोक इन्जिनियरिङ क्याम्पस, खानी तथा भूगर्भ विभाग, सानोठिमी भक्तपुर लगायतका स्थानमा १५० ग्याल मापन गरिएको छ । कीर्तिपुर गोरखा भूकम्पको कम्पन उपत्यकामा प्रवेश गर्ने विन्दुमा रहेको स्थान हुनुका साथै चट्टानमाथि अवस्थित भूभाग हो र बाँकी कम्पन मापन गरिएका स्थान कमसल माटोको तह धेरै गहिराइसम्म रहेको र काठमाडौँ उपत्यकाको केन्द्र वा पूर्वी भेगमा रहेका भूभाग हुन् । कीर्तिपुरभन्दा पुल्चोक इन्जिनियरिङ क्याम्पस, खानी तथा भूगर्भ विभाग, सानोठिमी भक्तपुर लगायतका स्थानमा भूकम्पको कम्पन कम हुनुमा माटोकोे विशेषता भूकम्पको कम्पन घटाउने खालको भएर नै हो भन्न सकिन्छ । यसै गरी काठमाडौँको माटो उत्खनन गरी जापानको आधुनिक प्रयोगशालामा भूकम्पीय जोखिम परीक्षण गर्दा पनि काठमाडौँको माटोमा भूकम्पीय कम्पन घटाउने विशेषता नै भेटिएको छ । विशेष गरी काठमाडौँ उपत्यकाकोे माटोमा माइका १०—२० प्रतिशत रहेको पाइन्छ र यही माइकाका कारण भूकम्पीय कम्पन कम हुने हो भन्ने आधार भए पनि सीमित स्थानको माटो मात्र परीक्षण गरिएकाले उपत्यकाको अरू धेरै स्थानको माटो यस्तै प्रयोगशालामा परीक्षण गरी थप निक्र्योल निकाल्नुपर्ने हुन्छ । यही विशेषताले गर्दा नै विसं २०७२ को भूकम्पमा काठमाडौँ उपत्यकामा विगतका धेरै अध्यनले आँकलन गरेभन्दा कम क्षति भएको हो । ती सबै अध्ययनको एउटा आधार काठमाडौँको माटोमा भूकम्पको कम्पन अझ बढ्छ भन्ने थियो जो माथिका तथ्यहरूले गलत साबित गरिदिएको छ । यो पक्षबाट हेर्दा उपत्यकावासीले आफूलार्ई भाग्यमानी सम्झनुपर्छ ।
अहिले सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण भिभागले विज्ञहरूको समिति गठन गरी भवन संहितालाई समय अनुकूल परिमार्जन गर्न कार्य सुरु गरेको छ । यो अति आवश्यक पहलकदमी हो २०५१ सालमा भवन संहिता निमार्णपछि अद्यावधिक गरिएको थिएन जसले गर्दा यसबीचमा अध्ययन–अनुसन्धान र भोगाइबाट प्राप्त ज्ञान र सिकाइ हाम्रो भवन संहितामा थिएन र यो परिमार्जनमार्फत समावेश गर्ने अवसर प्राप्त भएको छ । तर समितिको संरचना र विज्ञहरूको सहभागिता हेर्दा भवन संहिता भनेको जमिनमाथिको संरचना बलियो भए पुग्छ भन्ने बुझाइ देखिन्छ । उक्त समितिमा भू–प्रविधि विज्ञ, भूगर्भ विज्ञ, भूविज्ञान विज्ञको संलग्नता त्यति सक्रिय देखिँदैन, जोविना भवन संहिता पूर्ण हुनै सक्दैन । अझ यो मौकालाई विगतमा भवन संहिता किन प्रभावकारी कार्यान्वयन हुन सकेन भन्ने पक्षमा पनि बृहत् छलफल गराएर सामाजिक–आर्थिक क्षेत्रका विज्ञहरूसहित कानुन विज्ञहरूको पनि संलग्नता गराई छलफलको दायरालाई फराकिलो पार्नुपर्ने देखिन्छ।
अहिलेको भवन संहिता निर्माण गर्दा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अनुभवी व्यक्तित्वहरू अझै हामीबीच हुनुहुन्छ र उहाँहरूको सुझाव सल्लाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसैले समयमै माथि सुझाइएका पक्षहरूलाई समावेश गरी छलफलको दायरा बढाएर उत्कृष्ट भवन संहिता निर्माण गर्ने यो अवसरको सदुपयोग गर्न सरोकारवाला सबै निकायको ध्यान समयमै जानु जरुरी छ।
(लेखकले जमिन तरलीकरणको जोखिम पहिचान तथा न्यूनीकरणमा विद्यावारिधि गरेका छन्)
प्रकाशित: २ माघ २०७४ ०३:१७ मंगलबार