१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सिमेन्ट उद्योगका समस्या सुनवाइमा सरकार उदासिन’

वीरगन्ज- भारतबाट आइरहेको क्लिंकर आउन एक्कासि ठप्प भएपछि स्वदेशी सिमेन्टको मूल्यमा करिब डेढ सय रुपैयाँ वृद्धि भएको छ ।

सँगै नेपाली सिमेन्ट उद्योगको भविष्य नै धरापमा परेको उद्योगीले बताइरहेको बेला समस्या समाधानका निम्ति सरकारी स्तरबाट उदासिनता देखाइएको उनीहरुले आरोप लगाइरहका छन् ।
‘हामीले नेपाल र भारत दुवैतिरको सरकारलाई घच्घच्याउने काम गरेका छौं, समस्या नेपालका सिमेन्ट उद्योगमाथि आएकाले यसको समाधानका लागि अघि सर्नु नेपाल सरकारकै दायित्व हो,’ नेपाल शालिमार सिमेन्ट प्रालिका सञ्चालक अशोककुमार वैदले भने, ‘बरु भारत सरकार समस्या समाधानका लागि सहयोग गर्न तयार छ, हाम्रै सरकारको तर्फबाट ढिलाइ भएको छ ।’ रक्सोलका स्थानीयले त्यहाँ रेल्वे ¥याकबाट क्लिंकर अनलोड हुँदा र ट्रिपरमा लोड हुँदा धुलो उडेर स्वास्थ्य र जनजीवन प्रभावित भइरहेको भन्दै आन्दोलन सुरु गरेका थिए ।

त्यसपछि डिसेम्बर २२ का दिन भारतीय रेलवेले रक्सोलमा झार्ने गरी क्लिंकर ढुवानी रोकेर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर लग्न सहमतिको पत्राचार गरेको थियो । यता सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने नेपाल सरकारले सहमति दिएको छैन । त्यहाँ उपयुक्त पूर्वाधार पनि नभएको बताइएको छ । यस्तोमा भारतबाट नयाँ खेप क्लिंकर कुनै पनि सिमेन्ट उद्योगले ल्याउन सकेका छैनन् ।

रक्सोलका स्थानीयले वायु प्रदूषणविरुद्ध पटना उच्च न्यायालयमा नागरिक अधिकार अन्तर्गत रिट निवेदन दिएका थिए । प्रदूषण नियन्त्रण बोर्डबाट टोली खटाएर अदालतले स्थलगत छानबिन प्रतिवेदन झिकाएको थियो । मुद्दाको सुनुवाइ गर्दै उक्त अदालतले गत अगस्त २५ मा भारतीय रेल्वेलाई ‘डस्टी कार्गो’बाट हुने प्रदूषण नियन्त्रण गर्न आदेश दिएको थियो । भारतीय रेल्वेले अदालतको आदेशअनुसार रेलवेको संरचना स्तरोन्नति यसै भारतीय आर्थिक वर्षभित्र गरिसक्नुपर्ने छ । त्यसअगावै भएको रक्सोलबासीको आन्दोलन सुरु भयो ।

भारतमा केन्द्र सरकारमा रहेको भारतीय जनता पार्टीका स्थानीय अगुवा महेशकुमार अग्रवालकै अगुवाइमा आन्दोलन भएको थियो । अदालतको आदेश कार्यान्वयन हुनुअगावै त्यहाँ आन्दोलन सुरु हुनुलाई नियोजित बताएका बेला आन्दोलनताका अगुवाइ गरेकाहरुले यसलाई बाध्यता बताएका थिए । वीरगन्ज–रक्सौल नाकाबाट कच्चा पदार्थ आपूर्ति ठप्प भएपछि त्यसको असरले सिमेन्टको भाउ बढेको व्यवसायीले बताएका छन् । ‘भारतबाट क्लिंकर आउन बन्द भएपछि सिमेन्ट महंगो भएको हो,’ विभिन्न ब्रान्डको सिमेन्टका खुद्रा बिक्रेता अलि अख्तरले भने, ‘मूल्य बढेपछि बिक्री घटेको छ, मूल्य कम होला र घर निर्माण गरौंला भनेर सबैतिर निर्माण कार्य रोकिएको छ ।’

वीरगन्ज पथलैया कोरिडोरका १३ वटा सिमेन्ट उद्योग संकटमा परेको उद्योगीले बताएका छन् । उद्योगी वैदले कच्चा पदार्थको मूल्यवृद्धिसँगै त्यसको आपूर्तिमा अवरोध भएपछि स्वाभाविक रुपमा सिमेन्टको भाउ बढेको बताए । प्रतिबोरा आठ सय ६० देखि नौ सय रुपैयाँसम्ममा उद्योगले सिमेन्ट बेचिरहेका छन् । खुद्रा भाउ नौ सय रुपैयाँ प्रतिबोरभन्दा बढी नै छ ।

तीन महिनायता भारतीय बजारमा क्लिंरको भाउ करिब ३० प्रतिशतले बढेको सिमेन्ट उद्योगी बताउँछन् । प्रतिटन पाँच हजार सात सय ६० नेपाली रुपैयाँ रहेको क्लिंकरको भाउ अहिले सात हजार चार सय रुपैयाँ नाघिसकेको उनीहरु बताउँछन् । सिमेन्टका लागि कच्चा पदार्थ आपूर्ति सहज बनाउनुपर्ने माग बारा–पर्साका उद्योगीले सरकारसँग गरेका छन् ।

सिमेन्ट उद्योगीको टोलीले नेपाल सरकारको उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र विभागमा पुगेर आफ्ना समस्या राखिसकेका छन् । प्रदेश २ को उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका उद्योगी वैद्य नेतृत्वको टोलीले भारतको विदेश मन्त्रालयमा पुगी समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएको थियो ।

‘हामीले बलबुताले भ्याएसम्म विभिन्न स्तरमा पहलहरु गरिरहेका छौं,’ वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाले भने, ‘पहलका निम्ति बेग्लाबेग्लै जिम्मेवारी पनि दिइएको छ, तर अझै समाधान भइसकेको छैन ।’ क्लिंकर र कोइला लगायत ‘डस्डी कार्गो’ भनिने वस्तु नेपाल आयातका लागि अहिलेसम्म रक्सोलको रेलवे स्टेसन प्रयोग हुँदै आएकामा त्यो बन्द भएपछि नेपालमै त्यसका लागि चाहिने संरचना विकास गर्नुपर्ने छलफल तीव्र छ ।

भारत सरकारले तत्परता देखाएका बेला नेपाल सरकारका पक्षबाट दिनुपर्ने स्वीकृति र गर्नुपर्ने औपचारिकता नगरिदा यसमा ठोस प्रगति नभइरहेको उद्योगीले बताए । चाहिने संरचना नेपालमै बनाउने र त्यसबेलासम्मका लागि वीरगन्ज सुक्खा बन्दरगाह वा रक्सोल रेलवे स्टेसनमा त्यस्तो कार्गो ढुवानीका लागि अल्पकालीन व्यवस्था मिलाउन भारत सरकारका निकाय अघि बढेका बेला नेपालका तर्फबाट तदारुकता नदेखिएको वैद्यले आरोप लगाए ।

 

प्रकाशित: १ माघ २०७४ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App