१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोयको कीर्तिमानमा इङ्ल्यान्ड विजयी

मेलबर्न– ओपनर जसन रोएले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रनको व्यक्तिगत कीर्तिमान बनाउँदा इङ्ल्यान्डले आइतबार अस्टेलियाविरुद्धको पहिलो एकदिवसीय खेल ५ विकेटले जितेको छ ।

एसेज टेस्ट शृंखलामा ४–० को लज्जास्पद हार बेहोरेको इङ्ल्यान्डले मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको ३ सय ५ रनको लक्ष्य पाँच विकेट गुमाएर ७ बलअघि पूरा गरेको थियो । जितसँगै पाँच खेलको शृंखलामा इङ्ल्यान्डले एक–शून्यको अग्रता लिएको छ ।

इङ्ल्यान्डलाई जिताउने क्रममा रोएले १ सय ८० रनको योगदान गरेका थिए । मेलबर्न क्रिकेट मैदानमा लक्ष्य पछ्याएर जितेको यो सबैभन्दा ठूलो स्कोर हो । यसअघि २०११ मा इङ्ल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गरेको थियो ।

आक्रामक ब्याटिङ गरेका रोएले ३२ बलमा अर्धशतक पूरा गरेका थिए । रनआउट र एलबिडब्लु आउटमा रिभ्युबाट जीवनदान पाएका रोएले घरेलु बलरलाई निराश पार्र्दै पाँचौं शतक पूरा गरे । रोएले ९२ बलमा शतक पूरा गरेका हुन् ।

पाँच रनको अवस्थामा मिचेल स्टार्कले सीधै हानेको बल स्टम्पमा नलाग्दा रोए रनआउट हुनबाट बचेका थिए । त्यसपछिको अर्को ओभरमा रोएले १४ रन हानेपछि भ्रमणकारी टोलीले पाँचौं ओभरमा ५० रनको योगफल बनाएको थियो । उनी ९१ रनको अवस्थमा एडम जम्पाले एलबिडब्लु आउटको अपिल गरेका थिए । तर रिभ्युले उनलाई बचाएको थियो ।

‘उनले हामीलाई मौका नै दिएनन्,’ रोएको प्रशंसा गर्दै अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘उनी पूर्ण लयमा थिए । हामीले उनलाई रोक्न सकेनौं ।’

रोएबाहेक इङ्ल्यान्डका लागि जोए रुटले अविजित ९१ रनको योगदान गरे । घरेलु टोलीका मिचेल स्टार्क र पेट कुमिन्सले समान २÷२ विकेट लिँदा मार्कुस स्टोइनिजको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४ रनको योगफल बनाएको थियो ।

अस्ट्रेलियाका लागि ओपनर एरोन फिन्चले १ सय ७ रन बनाउँदा स्टोइनिजले ६०, मिचेल मार्सले ५० रन बनाए । टिम पाइनेले २७ रन जोड्दा कुमिन्स १२ रन बनाएर पवेलियन फर्किए । इङ्ल्यान्डका लियाम प्लुङ्केटले तीन विकेट लिँदा एडिल रसिदले २ विकेट लिए । क्रिस वोक्स, मार्क उड र मोइन अलीको नाममा १÷१ विकेट रह्यो ।

 

प्रकाशित: १ माघ २०७४ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App