१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टोटेनह्याममा केनको कीर्तिमान

लन्डन, – ह्यारी केनले अर्को कोसेढुंगा स्थापना गरेको दिन टोटेनह्यामले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ४–० को नतिजा निकालेको छ । वेम्बली रंगशालामा २ गोल गरेसँगै केन टोटेनह्यामबाट प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

शनिबार ढिला गरी भएको खेलमा इङ्ल्यान्डका फरवार्डले ९८औं प्रिमियर लिग गोल गर्दै टोटेनह्यामबाट धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले यसअघि टेडी शेरिङ्घमले बनाएको ९७ गोलको कीर्तिमान तोडेका हुन् ।

सन ह्युङ मिनले २६ मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई केनले ४७औं मिनेटमा दोब्बर बनाएका थिए । त्यसको १२ मिनेट नबित्दै केनले व्यक्तिगत दोस्रो गोल गरेर टोटेनह्यामको अग्रता बढाए । खेल सकिन ९ मिनेट बाँकी रहँदा क्रिस्टियन इरिक्सनले गरेको गोलसँगै टोटेनह्यामले घरेलु मैदानमा सहज विजय हासिल गर्यो ।

२४ वर्षे केनले यसअघि २०१७ मा ३९ गोल गर्दै प्रिमियर लिगको एक वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए । उनले १९९५ मा एलान सिएररले बनाएको ३६ गोलको कीर्तिमान तोडेका थिए ।
‘ह्यारी केन एक प्रतिभावान् र लगनशील खेलाडी हुन् । त्यसैले उनीबाट धेरै खुसी छु,’ टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेट्टिन्होले भने ।

टोटेनह्यामको ठीक विपरीत लन्डनको प्रतिद्वन्द्वी चेल्सीले दश खेलाडीमा रहेर मैदान छोडेको लेस्टर सिटीसँग गोलरहित बराबरीमा चित्त बुझायो । रक्षक बेन चिलवेलले दोहोरो पहेंलो कार्ड सामना गरेपछि लेस्टर १० खेलाडीमा सीमित बनेको फाइदा एन्टोनियो कोन्टेको टोलीले उठाउन सकेन ।
बराबरीसँगै तेस्रो स्थानको चेल्सी एक खेल कम खेलेको शीर्ष क्लब म्यानचेस्टर सिटीभन्दा १५ अंकले पछि परेको छ ।

‘हामीले लिग कपको सेमिफाइनल (पहिलो लेग गोलरहित बराबरी)मा आर्सनलजस्तो बलियो टोलीसँग खेल्यौं र आज फेरि अर्को राम्रो टोलीविरुद्ध खेल्नुप¥यो,’ फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)सँग जोडिएका चेल्सीका प्रशिक्षक कोन्टेले भने ।

एलेन प्याड्रयुको वेस्ट ब्रोमले ब्राइटनलाई २–० ले हराउँदा राफेल बेनिटेजको न्युक्यासल युनाइटेडले अंकतालिकाको पुछारमा रहेको स्वान्सी सिटीसँग १–१ को बराबरी खेल्यो । जोनी इभान्सले कर्नरबाट आएको पासलाई हेडमार्फत गोल गरेपछि वेस्ट ब्रोमले चौथो मिनेटमा अग्रता लियो । अगस्ट १९ पछि पहिलो गोल गरेका क्रिग डसनले ५६औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
स्वान्सीका जोर्डन आयुले ६०औं मिनेटमा अग्रता दिएका थिए । त्यसको ८ मिनेट नबित्दै जोसेलुले बराबरी गोल फर्काएपछि न्युक्यासल घरेलु मैदानमा अंक बाँड्न सफल भएको थियो ।

जेम्स वार्ड प्रोजले साउथह्याम्टनका लागि पहिलो दुई गोल गरे पनि टोलीले अग्रता जोगाउन नसक्दा वाटफोर्डसँग अंक बाँड्नुप¥यो । वार्ड प्रोजले २० र ४४औं मिनेटमा गरेको गोलमा भ्रमणकारी साउथह्याम्पटनले २ गोलको अग्रता लिएको थियो । तर, एन्डे« ग्रेले ५८ र एबडोउले डोउकोर्स ९०औं मिनेटमा गोल फर्काएपछि पछिल्लो १० खेलमा पहिलो जित निकाल्ने साथउह्याम्पटनको सपना साकार हुन सकेन ।

‘मैले प्रिमियर लिगमा यसअघि यस्तो गल्ती देखेको थिइनँ,’ रेफ्रीप्रति असन्तुष्ट बनेका साउथह्याम्पटनका प्रशिक्षक माउरिको पेलेग्रिनोले भने, ‘यस्तो अन्याय सहन निकै गाह्रो हुन्छ । मलाई लाग्छ हामीले भिडियो सहायक रेफ्रीको सहयोग लिनुपर्छ ।’

बाकरी साकोको गोलमा क्रिस्टल प्यालेसले बर्नलीलाई १–० ले हराउँदा वेस्ट ह्याम युनाइटेडले हडर्सफिल्ड टाउनमाथि ४–१ को विजय हासिल ग¥यो । वेस्ट ह्यामका लागि मार्क नोबले २५, मार्को अर्नाटोभिचले ४६ र म्यानुएल लानजिनीले ५६ र ६१औं मिनेटमा गोल गरेका थिए । हडर्सफिल्डका लागि सान्त्वना गोल जोए लोलेले गरे ।

 

प्रकाशित: १ माघ २०७४ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App