१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनुदानले जग्गा किन्दै भूकम्प पीडित

सिन्धुपाल्चोक, बतासे गाउँमा घर पुनर्निर्माणमा जुटेको भूकम्प पीडित । तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक– २०७२ वैशाख १२ को विनासकारी भूकम्पले बाह्रबिसे नगरपालिका–५, गातीका चन्द्रबहादुर सुनारको घर मात्र भत्काएन, सँगै निम्तिएको पहिरोले गावै पुरेर थातथलो नै मेटाइ दियो । घरसहित सम्पत्तिको नाममा रहेको थोरै जमिनमा पहिरोमा परेपछि पाँच सदस्यीय सुनार परिवार गाउँबाट विस्थापित भयो । उनको परिवार ३२ महिनादेखि अरुको जमिनमा जस्ताको अस्थायी टहरोमा बस्दै आएको छ। 

जोखिममा सूचीकृत पुरानाे थलोमा फर्कन सकिने अवस्था थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदानको ५० हजार रुपैयाँ पाएको वर्ष बितेपनि जमिन नहुँदा सुनारले घर बनाउन सकेका थिएनन् । अरुको जमिनमा अस्थायी टहरोमा दुःख, सुख गुजार्दै आएका उनको बल्ल घर बनाउने बाटो खुलेको छ । 

बस्ती जोखिममा परेर घर बनाउन जग्गा नहुने पीडितलाई जमिन खरिद गर्न २ लाख रुपैयाँ दिने प्राधिकरणको निर्णयअनुसार सुनारले केही दिनअघि मात्र जग्गा खरिद गरेका छन् । उनले उक्त रकमबाट गातीमै ६ आना जग्गा किनेका छन् । ‘अब घर बनाउन पाइने भइयो,’ फुरुङ्ग परेका उनले आफ्नो नामको लालपूर्जा देखाउँदै भने, ‘दुःख, सुख गरेर सरकारले दिने अनुदानभित्रैबाट एउटा सानो घर बनाउँछु ।’ यसै महिनाभित्र जग हालेर केही महिनामै पुनर्निर्माण सक्ने उनले सुनाए । 

सुनार परिवार जस्तै गाती भिरकुना गाउँका १८ दलित परिवारले घर बनाउन एकै दिन ६ आनाका दरले जग्गा खरिद गरेका छन् । यसैसाता मात्र उनीहरुले सदरमुकाम आएर आफ्नो नाममा जग्गा दर्ता गराएका थिए । भूकम्पले पहिरो निम्त्याउँदा भिरकुना गाउँ नै पुरेको थियो । प्राधिकरणले उक्त बस्तीलाई जोखिमयूक्त घोषणा गरेको छ । 

सम्पत्तिको नाममा घर रहेको घँडेरी नै पुरेपछि विस्थापित भएका उनीहरुले आफ्नो नामको जमिन अभावमा घर बनाउन सकेका थिएनन् । उनीहरुले पाएको अनुदानको पहिलो किस्ता बैंकमै थन्किएर बसेको थियो । प्राधिकरणले दिएको २ लाखका दरले दिएको अनुदानबाट विस्थापितहरुले बाह्रविसेको खुर्सानीवारीमा जमिन किनेका हुन् । ‘अब ढुक्क भयौँ,’ जग्गा खरिद गरेपछि ५८ वर्षीया सेतीमाया कमिनीले भनिन् । जग्गा समस्या समाधान भएकाले तत्काल घर बनाउन थाल्ने उनले बताइन् । 

बिस्थापित दलित समुदायलाई सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले जग्गा खरिद गर्न सहजीकरण गरेको थियो । केन्द्रकी सीता भुजेलले जग्गा खोज्न ६ महिना लागेको बताइन् । उनका अनुसार खुर्सानीबारीमा स्थानीय अष्टकाजी शाक्यले आठ जना तथा सीता कामी र बिमाया कामीले पाँच÷पाँच परिवारलाई ६ आनाका दरले २ लाख रुपैयाँ लिएर जग्गा बिक्री गरेका हुन् । 

जिल्ला मालपोत कार्यालयका अनुसार प्राधिकरणको अनुदानमा भूकम्प पीडितलाई जग्गा ‘रजिष्ट्रेशन पास’ गरेको यो पहिलो हो । केन्द्रका अनुसार संस्थाको समन्वयमा भूकम्पपछि बस्ती जोखिममा पर्दा घर बनाउने बिकल्प नभएका सिम्पाल काभ्रेका ५५, भोताङका १२ र मार्मिङका २३ परिवारले जग्गा खोजेर अनुदान सम्झौता गरिसकेका छन् । जिल्लाभर जोखिमयूक्त बस्तीका ५ सय २१ परिवारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने प्राधिकरणको सुझाव छ ।  

 

प्रकाशित: २७ पुस २०७४ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App