१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नगदे बाली उब्जाउने उखु किसान ऋणमा डुब्दै

सर्लाही – ‘हजुर उखु खेती त नगदे बाली हैन र ? केही दिनअघि पश्चिम धनकौल स्थित ईलाका प्रहरी कार्यालय परिसरमा शितलहर पीडितलाई न्यानो कपडा वितरण गर्न आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल समक्ष जिल्ला स्थित खैर्वा बोहर्वाका किसान रामेश्वरप्रसाद यादवले गरेको प्रश्न हो यो। लगतै उनले प्रजिअसँग गुनासो थपे, ‘३ वर्षदेखि उखुको भुक्तानी पाइएको छैन, नगदे बाली भनेर खेती गरेको त, उधारो हुँदै ऋणमा पो डुबायो।’

पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रीजले ३ वर्षदेखिको भुक्तानी बाँकी राख्दा रामेश्वर जस्तै यस क्षेत्रका सयौं किसान मारमा परेका छन्। आप्mनो १ लाख ३० हजार रुपैंया लिन बाँकी भएको रामेश्वरले प्रजिअ कटवाललाई बेलिविस्तार लगाए।

उद्योग छेउमै रहेको इलाका प्रहरी कार्यालयमा प्रजिअ आएका छन् भनेर दुई दर्जन उखु किसान गुनासोका लागि आएका थिए । न्यानो कपडा वितरण सक्ने वितिकै किसानले घेरा हालेर भुक्तानीका लागि पहल गरिदिन प्रजिअ कटवाल समक्ष आग्रह गरे।

प्रजिअ कटवालले किसानहरुसँग छोटो भनाई राख्दै भुक्तानीका लागि पहल भईरहेको आश्वासन दिए। ‘मैले किसानको भुक्तानी चाँडो गर्न उद्योग व्यवस्थापनलाई पटक–पटक भनिसकेको छु’, उनले विश्वास दिलाउन खोजे, ‘चाँडै भुक्तानी सक्छु भनेके छ।’

छेउमै रहेका धनगढाका किसान लक्ष्मण रायले गुनासो थपे, ‘हजुर जस्तै ३–४ जना सिडिओ साहेबहरुलाई भन्दा भन्दा थाकिसक्यौं, अहिलेसम्म किसानले भुक्तानी पाउन सकेका छैनन्।’ ३ वर्षदेखिको उखुको भुक्तानी बाँकी राख्दा नगदे बाली उब्जाउने किसान उधारोको मार खेप्दै ऋणमा डुब्न थालेको गुनासो सहित लक्ष्मणले आक्रोश समेत पोखे।

‘नगदे बाली भनेर गरेको उखु खेतीको लाखौं भुक्तानी उद्योगमा बाँकी छ, ठूलो लगानी गरेर खेती ग-यो तर समयमै भुक्तानी नपाउने मात्र हैन, छोरीको बिबाह लगायत ठूला कार्य गर्नु प-यो भने ऋण नै काढ्न बाध्य छौं।’ रामेश्वरको गुनासो थियो।

पूरानो पैसा बाँकी भएपनि नजिकै अन्य उद्योग नभएकाले उक्त क्षेत्रका किसान पुनः यसवर्ष पनि सोही उद्योगलाई उखु दिन बाध्य छन्। ‘पूरानो पैसा बाँकी छ भन्दै उखु नदिएर के गर्नु ? घरमा थन्क्याएर राख्न मिल्दैन’, खैर्वाका रामविनय यादवले भने, ‘धान, मकै, गहुँ जस्ता बाली भए त थन्क्याएर राख्ने र अनुकुल भाउ अनि नगद पाए मात्र बेच्न सकिन्थ्यो।’ अन्नपूर्णको मिलगेट किसान भएकाले जिल्लाकै हरिवन स्थित इन्दुशंकर, महोत्तरीको एभरेष्ट लगायत अन्य चिनीमिलले काँटा नराखेपछि पूरानो भुक्तानी बाँकी हुँदा हुँदै यसवर्ष पनि त्यही उखु दिन बाध्य भएका छन्।

पुस पहिलो साताबाट अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा आएको हो। हालसम्म १ लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गरिसकेको छ।

नेपाल उखु उत्पादक महासंंघका अध्यक्ष कपिलमुनी मैनालीले अन्नपूर्णले ३ वर्षदेखि किसानलाई उखुको भुक्तानी नदिएर मारामा पारिरहेको बताए। ‘राज्यका सरोकारवाला निकायबाट किसानको भुक्तानीका लागि प्रभावकारी पहल हुन सकेको छैन’, उनले भने, ‘मैले व्यक्तिगत रुपमा पटक–पटक आग्रह गर्दा पनि अन्नपूर्णले किसानलाई गत विगत वर्षकै भुक्तानी सकेको छैन।’

अन्नपूर्णका उखु प्रबन्धक अरुणकुमार सिंहले किसानको पूरानो भुक्तानी चाँडै सम्पन्न गर्ने दाबी गरे। ‘मैले काम सुरु गरेको ७ दिन मात्रै भएको छ’, सञ्चालन ताका उद्योग परिसरमा भेटिएका उनले नागरिकसँग भने, ‘उद्योगपतिसँग किसानको पूरानो भुक्तानी १ महिना भित्र सक्ने र नयाँको पनि नियमित रुपमा भुक्तानी दिने शर्तमा व्यवस्थापन सम्हालेको हुँ।’ किसानलाई करिब साँढे ६ करोड रुपैंया पूरानो भुक्तानी बाँकी रहेको उनले जानकारी दिए।

२६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो। हरिवनको ईन्दुशंकर र धनकौलको अन्नपूर्ण बाहेक बगदहमा नयाँ चिनी उद्योग समेत निर्माणाधिन छ।

प्रकाशित: २६ पुस २०७४ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App