१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालोपत्रे बिनै बजेट स्वाहा !

ग्राभेल ओछ्याएर अलपत्र छाडिएको कमलविनायक–नगरकोट सडकखण्ड

काठमाडौं – सडकभरी खाल्डा छन् । दोहोर लेनमा सवारीको लाम छ । सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ । वटुवादेखि सवारीचालकसम्म घुलाम्मे छन् । भक्तपुर कमलविनायक हुँदै पर्यटकीय क्षेत्र नगरकोट प्रवेश गर्ने मुख्य सडकखण्डको अवस्था हो यो ।

दिनहुँ सयौं पर्यटक ओहोरदोहोर गर्ने सडकको अवस्था हिजोआज हेरिनसक्नु छ । कमलविनायकस्थित भत्केको पाटीदेखि नगरकोटसम्म करिब १८ किलोमिटर सडक निर्माणमा तदारुकता नदेखाउँदा सडक नाजुक बनको छ ।
खाल्डैखाल्डा परेको साघुँरो सडक भएर नगरकोट नपुगुञ्जेल यात्रु र चालक त्रसित हुन्छन् । ‘ज्यान हत्केलामा राखेर गाडी हाँक्नुपरेको छ,’ कमलविनायक–नगरकोट सडकखण्डमा बस चलाउँदै आएका चालक निरोज लामाले भने, ‘सबैले सडक बनाउँछु भनेर राजनीति गर्छन् तर यहाँका राजनीतिक नेताहरूले भोटको लागि मात्रै सडकलाई चुनावी मुद्दा बनाए ।’ उनले जिम्मेवार निकायले बनाउन भन्दै भत्काएको सडक अलपत्र  छाड्दा पनि यस्तो समस्या आएको बताए ।

धराप सडककै कारण महिनामा ४ पटकसम्म सवारी बिग्रने चालक लामाको अनुभव छ । यो सडकखण्ड भक्तपुर र काभ्रेका स्थानीय ओहोदोहोर गर्ने मुख्य सडक हो । सडकमा सवारीको चाप थेगिनसक्नु हुने लामा बताउँछन् ।

बिदाको दिन काठमाडौं, ललितपुर भक्तपुर, काभ्रे लगायतका ठाउँबाट मानिसहरू नगरकोट पुग्दा सडकको चाप झनै बढ्ने गर्छ । सडकको दुरावस्थाले सकसपूर्णयात्रा गर्नुपरेको स्थानीय बताउँछन् । ‘त्यसै त साघुँरो सडक त्यसमा पनि ठूल्ठूला खाल्डाखुल्डीका कारण सडक हिडिनसक्नु छ,’ भक्तपुर सुडालकी सविना बानियाँले भनिन्, ‘यहाँका नेताहरूले बेवास्ता गरेकै कारण जनताले यसरी सास्ती खेप्नुपरेको हो ।’ उनले ठेकेदार कम्पनीले ५ महिनाअघि कालोपत्र गर्न भन्दै ग्राभेल ओछ्याएर सडक सम्म पारे पनि ग्राभेलको लागि पर्याप्त सामान नपुगेको निहुँ बनाएर बीचमै काम छाडेको बताइन् । ‘ठेकेदारकै बदमासीले दुईपटक ग्राभेल गरेको सडकमा कालोपत्रे गर्ने काम टर्दै आएको हो,’ उनले भनिन् ।

सडक विभागले १० महिनापहिले सडक बनाउन भएको कालोपत्र उप्काएर ग्राभेल ओछ्यायो । तर काम सुचारु नहुँदा सडकमा खाल्डाखुल्डी पर्न थाले । दैनिक यात्रा गर्ने पर्यटक र काभ्रे तथा भक्तपुरका स्थानीयलाई मर्का परिरहँदा पनि जिम्मेवार निकायले सडक मर्मतमा कसैले वास्ता गरेको छैनन् ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बिग्रेका सडक बनाउन भन्दै सडक विभाग र डिभिजन सडक कार्यालयका कर्मचारीलाई धेरैपल्ट ध्यार्नाकर्षण गराएको बताए । ‘सडक बिग्रेका धेरै समय भयो,’ उनले भने, ‘तर जिम्मेवार निकायले अटेरी गरेकाले सडक मर्मत हुन नसकेको हो ।’ सडक विभाग र डिभिजन सडक कार्यालयमा बुझ्दा ठेकेदारले नै बदमासी गरेका कारण सडक नबनेको निष्कर्ष आएको उनले सुनाए । मेयर प्रजापतिले आपूmले धेरैपल्ट फोन गरेर ठेकेदारलाई भेट्न खोज्दा पनि ठेकेदारसँग भेट हुन नसकेको बताए । ‘मैले ठेकेदारसँग फोनमा कुरा गरेको थिएँ,’ उनले भने, ‘ठेकेदारले पैसा सकिएर कालोपत्रेको काम अघि नबढेको बताए ।’

सडक कालोपत्रे गर्न ठेकेदार कम्पनीले तीन पटकसम्म ग्राभेल र अलकत्रा प्रयोग गरी सडक सम्याएको  थियो । तर, उक्त ग्राभेल र अलकत्रा उप्किएर सडकमा खाल्डाखुल्डी परेको छ ।

सडक बनाउने जिम्मा सडक विभागअन्र्तगतको सडक सुधार आयोजना हो । आयोजनाले तीन पटक ग्राभेल विछ्याउने बाहेक अरु काम गरेको छैन । आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाले यसअघि बर्खाको बाहाना देखाउँदै काम अघि नबढेको बताएका थिए । अहिले उनले पैसा अपुग भएको भन्दै काम अघि बढ्न नसकेको बताए । ‘केही सडक कालोपत्रे गर्न ठिक्क छ,’ उनले भने, ‘अहिले पिच गर्ने तवरले काम भइरहेको छ ।’ अहिले भत्केको पाटीदेखि आर्मी ब्यारेकसम्म ग्राभेल ओछ्याइएको छ । तीनपटक ग्राभेलिङ गर्दा ३० लाखभन्दा बढी बजेट सकिसकेको आयोजनाले जनाएको छ ।



 

प्रकाशित: २६ पुस २०७४ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App