१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

   सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा जान थालेका छन् ।

केही समय अघि सम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट, चौतारा, बाटोघाटो, पूलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल सुनसान बनेको छ । पर्यटनको मध्ये सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ बनेका होटल व्यवसायीहरु अहिले होटल समेत बन्द गरेर काठमाडौ लगाएत विभिन्न स्थान गईसकेका छन् ।

अधिकांस व्यवसायी तथा स्थानीयहरुले खुम्बु छोडीसकेको लुक्लाका स्थानीय तोया श्रेष्ठले बताए । उनले भने, ‘सिजन पनि सकियो अहिले पर्यटकहरु पनि खुम्बु आउँदैनन, व्यवसायी पनि जाडो छल्न अन्यत्र लागीसकेका छन् ।’पर्यटन सिजन सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, ठाङनाक एवम् थामे लगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जानु उनीहरुको बाध्यता हो ।

जाडो छल्नका लागि धेरैजसो स्थानीयहरु काठमाडौँ गएको खुम्जुङका स्थानीय पेम्बा शेर्पाले बताए । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाइजहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ ।

नाम्चे–८ थामेका बासिन्दा प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीय जाडो छल्न काठमाडौँ जाने गरेका छन् । विशेषगरी जाडो महिनामा खुम्बु क्षेत्रका मानिस तीर्थधाम समेत जाने गरेकाछन्  । विदेशी रहन –सहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीय पछिल्लो समयमा नेपाल लगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् ।

क्रिसमस डेको समाप्तीसँगै पर्यटन सिजन पनि सकिएकाले यहाँका स्थानीयहरु अन्यत्र लागेका हुन् । सिजन सकिएसँगै अधिकांस स्थानीयहरु हिडीसकेकोले खुम्बु क्षेत्र  सुनसान बनेको छ । अत्याधीक चिसो हुने भएकाले यस क्षेत्रका मानिस मुस्किलले वर्षमा ६ महिनामात्र बसोबास गर्छन् । उच्च हिमाली क्षेत्र भएकाले खासगरी पर्यटन सिजनमा मात्र उनीहरु बस्दै आएकाछन् । सगरमाथाको प्रवेशद्धार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल छैन् ।

प्रकाशित: २१ पुस २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App