१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यसरी ठडिँदै छ सिन्धुपाल्चोक (भिडियो)

सिन्धुपाल्चोक-  २०७२ वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडित पुनर्निर्माणमा जुरुक्क जागेका छन्। गाउँ–गाउँमा व्यक्तिगत आवास निर्माणले तीव्रता पाउँदा भूकम्पपछिको पुनर्निर्माणले अभियानकै रुप लिएको छ।

पूर्वतातोपानीदेखि पश्चिमको हेलम्बुसम्मै पुनर्निर्माणको लहर छ । एउटै टोल, बस्ती र गाउँ बाँकी छैन, जहाँ पुनर्निर्माण सुरु नभएको होस् । घँडेरी खार्ने, निर्माण सामग्रीको जोहो गर्ने र घर बनाउने चटारो छ जिल्लैभरि । चाडबाड र खेतिपातीको काम सकिएकाले पीडित ढुक्कले घर बनाउन जुटेका छन्।

बिहान सूर्य नउदाउँदै सुरु हुने पुनर्निर्माणको काम साँझ आँखाले देखिउञ्जेलसम्म जारी रहन्छ । गाउँ–गाउँमा पुनर्निर्माणको लहर देख्दा लाग्छ, भूकम्पमा निमेषमै ढलेको सिन्धुपाल्चोकलाई जुरुक्कै उठाउन लालायित छन् पीडित।

भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियानको थालनी गरिएको थियो । यो बीचमा धेरै बस्ती ठडिइसकेको देख्न सकिन्छ । आउँदो बर्खाअघिसम्म अधिकांश घर बनिसक्ने अनुमान छ ।

पीडित आफ्नो आर्थिक हैसियत अनुसार, ढुंगामाटो र काठको जोडाई, ढुंगा, सिमेन्ट तथा ईँटा, ब्लक र सिमेन्ट जोडाइको घर बनाइरहेका छन् । प्रविधि अपनाउँदै भूकम्पप्रतिरोधी घर ठड्याउन तल्लीन स्थानीय सम्भावित विपद्प्रति सचेत देखिएका छन्।

सानो, चिटिक्क संरचना, आवश्यक रंगरोगन, बारबेर र रातो, निलो, हरियो जस्तापाताले छाइएका घरहरु बास्तावमै आकर्षक देखिन्छन्। न ठूला, न धेरै साना, एकनासका मझौला घरमा स्थानीयको आकर्षण पाइएको छ। 

प्रकाशित: १५ पुस २०७४ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App